महानगरभित्रका धरापले वर्षामा डुबानको जोखिम «
Logo

महानगरभित्रका धरापले वर्षामा डुबानको जोखिम

विराटनगर-विराटनगर महानगरपालिकाभित्र यतिबेला जताततै धरापैधराप छ । कतिपयले व्यंग्य गर्दै भन्ने गर्दछन्, ‘महानगर होइन धुलोनगर, हिलोनगर र धरापनगर हो विराटनगर ।’ झट्ट हेर्दा त्यस्तै देखिन्छ पनि । बिहान सकुशल निस्केको व्यक्ति बेलुका घर पुग्दा कि त जिउभरि धुलैधुलो हुन्छ कि त हिलैहिलो । अझ कतिपय व्यक्ति त लडेर जिउभरि घाउ लिएर पुग्छ घर ।
बुधबारमात्रै विराटनगर–११ पिचरा नगर छेउमा निर्माण भइरहेको कलर्भटबाट लडेर स्थानीय उपेन्द्र ढुंगेल घाइते भए । उनी मोटरसाइकलसहित कलर्भटबाट झरेका थिए । तत्कालै ढुंगेलको उद्धार गरी स्थानीय रतन मेडिकलमा उपचार गरिएको थियो । “ठूलै भाग्यले बाँचें,” ढुंगेलले भने, “जताततै धरापैधराप छ ।” निर्माण भइसकेको लामै समय हुँदा पनि कल्र्भटमा माटो भरिएको छैन । जसका कारण सर्वसाधारण जोखिम मोलेर छेउको डेढ फुटे सडकबाट हिंड्न बाध्य छन् । दुर्घटनालगत्तै पुगेका वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले भोलि नै कलभर्ट पुर्ने बताए ।
केही समयअघि पाञ्चालीचोकमा बस पल्टियो । आधा दर्जन यात्रु घाइते भए । त्यसो त धरापमा पर्ने ढुंगेलमात्रै कहाँ हुन् र ? दुई साताअघि सुनसरी झुम्काका अजय श्रेष्ठ बरगाछी दक्षिण निर्माणाधीन सडकमा मोटरसाइकलसहित पछारिए । उनको हात भाँचियो । विराटनगर–११ का अनिश घिमिरे स्कुटरसहित लडे नालामा । दाहिने हातमा चोट लाग्यो उनको । घिमिरे घाइते भए । यी त केही उदाहरणमात्रै हुन् । दैनिक साना ठूला दुर्घटना भइरहेका हुन्छन् विराटनगरभित्रका सडकमा ।
निर्माणाधीन सडक प्रवेश गर्ने ठाउँमै महानगरले सूचना नराख्दा धेरै यात्रु धरापमा पर्ने गरेको विराटनगर–१२ का रामेश्वर यादव बताउँछन् । ‘यो सडक निर्माण भइरहेको छ फलानो सडकबाट जानुहोला’ भनेर सूचना राखिदिए सर्वसाधारणले सहज रूपमा यात्रा गर्ने नागरिक समाजका अगुवा रामबाबु दाहालको भनाइ छ । “अहिले त ठीकै छ अब वर्षा सुरु भएपछिको अवस्था के हुने हो,” दाहालले भने, “महानगरले कामलाई तीव्रता दिनै सकेन अझै ।”
सडकको बीच भागबाट ढल बनाइएको छ । “जाँदा सग्लै हुन्छ सडक आउँदा डोजर चलाइएको हुन्छ,” उनले भने, “विकास हुनु ठीकै हो तर विराटनगरमा कुनै योजना र लक्ष्य बिनै काम भइरहेको छ ।” कुन सडक कुन मितिमा सक्ने भन्ने योजनै नभएको उनको भनाइ थियो ।
महानगरले चारैतिर एकपटक भत्काउँदा यात्रुका लागि धरापसिद्ध भएको छ विकास पनि । “कम्तीमा एउटा क्षेत्रको सडक निर्माण सम्पन्न गरेर भत्काउँदा राम्रो हुने थियो,” संयुक्त नगर टोल समन्वय समितिका संयोजक राजेश मास्के भन्छन्, “तर, यहाँ त काम देखाउन जताततै भत्काइएको छ । बनाउने काम सुस्त छ ।” महानगरमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको वर्ष दिन पुग्नै लाग्दा पनि जनताले महसुस गर्ने कुनै काम गर्न सकेका छैनन् । खास गरी जनप्रतिनिधिहरू उद्घाटन, शिलान्यास र भ्रमणमै सीमित भएको उनको भनाइ छ ।
गत वर्ष साउनमा आएको बाढीका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको थियो । भत्काइएका सडकको नाला पूरै पुरिएको छ । जसका कारण पानीको निकास जाने ठाउँ छैन । नालाको पानी सडकमा जमेको छ अहिले पनि । वर्षा सुरु हुनुअगावै नाला सफा नगरे विगतको भन्दा बढी नै डुबानको समस्या महानगरवासीले झेल्नुपर्ने मास्के बताउँछन् । “जनप्रतिनिधिहरू अलमलमा परेको देखिन्छ,” उनले भने, “जनमत प्राप्त प्रतिनिधिले आक्रमण रूपमा काम गर्नुपर्ने थियो तर त्यस्तो अझै देखिएन ।”
महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले भने एकैपटक धेरैतिर काम भइरहेकाले जनतालाई समस्या भएको बताइन् । उनले अर्को वर्षदेखि भने सबै समस्या समाधान हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्