जनता आवास कार्यक्रम अन्योल «

जनता आवास कार्यक्रम अन्योल

तेह्रथुम-बजेट अभावमा जिल्लामा सञ्चालित जनता आवास कार्यक्रम अन्योलमा परेको छ । जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्नुपर्ने भए पनि सरकारले रकम नपठाए पछि कार्यक्रम अन्योलमा परेको हो ।
आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण गर्न थालिएको जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुममा यही वर्ष ५० वटा घर बनाउने भनिएको थियो । जनता आवास जिल्ला समन्वय समितिले ५० वटा घर बनाउन जिल्लाका सबै स्थानीय तहमा एक–एकवटा बस्ती छनोट गरेको थियो ।
बस्तीबाट घर निर्माणका लागि आवश्यक तथ्यांक संकलन गरी घर निर्माणका लागि लक्षित ४३ परिवारको छनोटसमेत भइसकेको छ । जिल्ला समन्वय समितिले यो वर्ष ४३ वटा घर निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले बताए । जसअन्तर्गत म्याङलुङ नगरपालिकाको पिप्ले दलित बस्तीका आठ घर, फेदाप गाउँपालिका जलजलको दलित बस्तीमा चार घर, आठराई गाउँपालिकाको छातेढुंगा माझी बस्तीमा दुई घर, छथर गाउँपालिका हमरजुङको दलित बस्तीमा नौ घर, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ निंलेखु टोलमा आठ घर र लालिगुराँस नगरपालिका सोल्मामा १२ घर बनाइने निर्णय भएको छ ।
जिल्लाको विभिन्न बस्तीमा घर बनाउने निश्चित गरिए पनि मन्त्रालयले भने आवश्यक बजेट नपठाएकाले काम सुरु गर्न ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतिवडाले बताए । भवन निर्माण डिभिजन धनकुटाले धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । चार जिल्लाका लागि यो वर्ष ६० लाख रुपैयाँमात्रै बजेट आएकाले काम सुरु गर्न नसकिएको खतिवडाको भनाइ छ । जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनोट भएका परिवारले प्रतिपरिवार तीन लाख ५० हजार रुपैयाँ अनुदान पाउने छन् ।
तेह्रथुमका लागि मात्रै ५० परिवारका लागि एक करोड ७५ लाख रुपैयाँ आवश्यक पर्छ । चार जिल्लाका लागि झण्डै सात करोड रुपैयाँ आवश्यक पर्छ । आवश्यक सात करोडमा ६० लाख रुपैयाँमात्रै बजेट आएकाले घर निर्माणमा ढिलाइ भएको भवन निर्माण डिभिजन धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्