‘गल्छी–रसुवागढी’ सडकको मुआब्जा निर्धारण

नुवाकोट-राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडकको दाँयाबाँया १५–१५ मिटरभित्र पर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।
पहिलो चरणमा जिल्लाको साविक तीन गाविसका जग्गाको न्यूनतम दुई लाख २५ हजार रुपैयाँदेखि तीन लाख २५ हजार रुपैयाँसम्म तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । मुआब्जा निर्धारण समितिको बैठकले प्रारम्भिक मुआब्जा निर्धारणका लागि गठन गरेको उपसमितिले पेश गरेको प्रतिवेदन, जग्गाको वर्गीकरण, नेपाल सरकार तथा जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडकमा पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गरेको प्रजिअ थापाले बताए ।
निर्धारण गरिएको जगाको मूल्य दुईपिपलमा तीन खण्डमा, धादिङको सीमाक्षेत्र कोल्पु खोलादेखि कोल्पुटार डिलसम्मको एक आनाको दुई लाख २५ हजार रुपैयाँ, कोल्पुटार डिलदेखि वेलबास खोल्चीसम्म तीन लाख २५ हजार रुपैयाँ, बेलबास खोल्चीदेखि केउरिनी पुल रातमाटेको सीमासम्म दुई लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै साविक रातमाटे गाविसको जग्गालाई सात खण्डमा विभाजन गरी मूल्य निर्धारण गरिएको छ । रातमाटेको केउरिनीदेखि कालोढुंगासम्म एक आनाको तीन लाख २५ हजार, कालोढुंगादेखि कपडा फ्याक्ट्रीसम्म दुई लाख ५० हजार, कपडा फ्याक्ट्रीदेखि धन्सारसम्म तीन लाख २५ हजार, धन्सार दोबाटोदेखि रातमाटेको वडा कार्यालयसम्मको चन्द्रेखोला सीमासम्म दुई लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चन्द्रेखोलादेखि गडौलीखोलासम्म एक आनाको तीन लाख २५ हजार, गडौलीखोलादेखि टुडाखोलासम्म दुई लाख ५० हजार, टुडाखोलादेखि जिलिङको सीमास्थित ठूलोखोलासम्म तीन लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी साविक जिलिङ गाविसमा दुई खण्डमा विभाजन गरी ठूलोखोलादेखि कोल्डस्टोरस्थित चौतारोसम्म एक आनाको तीन लाख २५ हजार रुपैयाँ र चौतारोदेखि देवीघाटपुलसम्म दुई लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको प्रजिअ थापाले जानकारी दिए । ‘गल्छी–त्रिशूली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत यसअघि नै सडकले ओगट्ने जग्गा धनीहरूको सूची प्रकाशन भइसकेकाले आयोजनाले रकम उपलब्ध गराउने बित्तिकै धनीलाई प्रदान गरिने थापाले बताए ।
मुआब्जा निर्धारण समितिले दोस्रो चरणमा अब साविक गेर्खु गाविसको बान्द्रेदेखि बेत्रावती हुँदै मनकामनाको नयाँपुलदेखि मैलुङसम्मको जग्गाको मूल्य निर्धारण गर्ने जनाएको छ । ‘गल्छी–रसुवागढी’ सडक पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुंग–स्याफ्रुबेसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्न सडक ८२ किमि दूरीको निर्माणकार्य भइरहेको छ ।
चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा निर्माणका लागि नौ अर्ब ५० करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । गल्छीबाट सुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमि सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमि सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत सडक निर्माण भइरहेको छ ।
रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमि सडक नेपाली सेनामार्फत निर्माण भएर गएको चैत ३० मा नै ट्रयाक सञ्चालनमा आइसकेको छ भने स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ ।