पर्यटक संख्यामा कि गुणस्तरमा «

पर्यटक संख्यामा कि गुणस्तरमा

नेपालले हरेक वर्ष विश्व पर्यटनको ०.१ प्रतिशत तथा सार्क भ्रमण गर्ने पर्यटकको करिब ६ प्रतिशत मात्र विदेशी पर्यटक भित्र्याउने देखिन्छ  ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान कम्तीमा २५ प्रतिशत पुराउने दीर्घकालीन लक्ष्यसहित अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । यसैबीच सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष, २०२० मनाउने घोषणा गरेपछि नेपालको पर्यटन क्षेत्रमा यी दुवै विषयले बहस र चर्चा पाउन थालेको छ । कुल गार्हस्थ्य उत्पादनमा ७.५ प्रतिशत योगदान (विश्व पर्यटन संगठन) पुराउँदै आएको पर्यटन क्षेत्रको योगदान २५ प्रतिशतभन्दा बढी पुराउन जति चुनौतीपूर्ण देखिन्छ त्यति नै साढे ९ लाखको संख्यामा रहेको पर्यटक आगमनलाई तीन वर्षमा दोब्बर बढी पुराउनु । सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने तयारीस्वरूप सुरुवात वर्ष २०१९ लाई अभियान वर्षका रूपमा मनाउने गरी विभिन्न कार्यक्रम तय भइरहेका छन् । यसै कुरालाई मध्यनजर राख्दै निजी क्षेत्रले पर्यटन क्षेत्रमा लगानी समेत बढाइरहेको अवस्था पनि छ ।

२०१७ को विश्व पर्यटन
विश्व पर्यटन संगठनको वल्र्ड टुरिजम ब्यारोमिटर अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या विश्व भरिमा १३२२ मिलियन रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत बढी हो । यो वर्ष अर्थात् २०१८ मा यस्तो वृद्धिदर ४ देखि ५ प्रतिशत हुने उसको अनुमान रहेको छ । सन् २०१७ मा युरोप तथा अफ्रिकाले उत्साहप्रद रूपमा बढी पर्यटक भित्र्याउन सफल भए । अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढी पर्यटक युरोप तथा अफ्रिकाले भित्र्याउँदा एसिया तथा प्यासिफिक क्षेत्रमा ६ प्रतिशत, मध्यपूर्वमा ५ प्रतिशत तथा अमेरिकी मुलुकहरूले ३ प्रतिशत बढी पर्यटक भित्र्याएको पाइन्छ । विश्व निर्यातमा तेस्रो स्थान ओगट्न सफल पर्यटन क्षेत्रलाई आर्थिक समृद्धि र रोजगारी अवसर सिर्जनाको आधारभूत क्षेत्रका रूपमा व्याख्या गरिन्छ । २०१७ मा विश्वको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको औसत योगदान १०.४ प्रतिशत रहेको छ । त्यसै गरी प्रत्येक १० रोजगारीमा १ रोजगारी, विश्वको वस्तु तथा सेवा निर्यातमा ६.५ प्रतिशत र सेवा निर्यातको २८.८ प्रतिशत हिस्सा पर्यटन क्षेत्रको रहेको छ । यसका साथै विश्वमा भइरहेको लगानीको ४.५ प्रतिशत लगानी यस क्षेत्रमा भएको देखिन्छ । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले पर्यटन वर्ष– २०१७ लाई बम्पर वर्षका रूपमा उल्लेख गर्दै समृद्धिको संवाहकका रूपमा पर्यटन क्षेत्रलाई लिएको छ । यो वर्ष विश्व अर्थतन्त्र केवल ३ प्रतिशतले वृद्धि हुँदा पर्यटन क्षेत्रको वृद्धिदरचाहिँ ४.६ प्रतिशत थियो भने प्रत्येक ५ रोजगारीमा यस क्षेत्रले १ रोजगारी प्रदान गरेको थियो ।

नेपालको अवस्था
तर, वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले विश्वका १ सय ८५ देशमा गरेको अध्ययनअनुसार कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानका आधारमा नेपालको वरियता क्रम १ सय २४ औं स्थानमा छ भने कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ७.५ प्रतिशत (प्रत्यक्ष योगदान ३.३ प्रतिशत मात्र) रहेको छ । नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा ४ लाख २७ हजार रोजगारीका अवसर सिर्जना भएका छन्, जुन कुल रोजगारीको २.९ प्रतिशत मात्र छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यस क्षेत्रले ९ लाख ४५ हजार रोजगारी सिर्जना गरेको उल्लेख गरिएको छ । यस्तो संख्या सन् २०२७ सम्म १३ लाख २५ हजार पुग्ने अनुमान समेत गरिएको छ ।
नेपालले हरेक वर्ष विश्व पर्यटनको जम्मा ०.१ प्रतिशत तथा सार्कमा भ्रमण गर्ने पर्यटकमध्ये करिब ६ प्रतिशत मात्र विदेशी पर्यटक भित्र्याउने गरेको तथ्यांकबाट देखिन्छ । विश्व पर्यटन कारोबारको जम्मा ०.०३ प्रतिशत र सार्क पर्यटन कारोबारको करिब १.५ प्रतिशत रकम नेपालको भागमा पर्ने गरेको देखिन्छ ।
विश्व पर्यटन संगठनको पछिल्लो वर्ष पुस्तकको तथ्यांकअनुसार नेपालमा पर्यटकबाट गरिएको आम्दानी (४ सय ९८ मिलियन डलर) भन्दा पर्यटकका रूपमा नेपालीले बाहिर गरेको खर्च (६ सय ३४ मिलियन डलर) करिब १४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । यसले नेपालको पर्यटनले घाटाको अवस्थालाई उजागर गरिदिएको छ ।

कुन देशका पर्यटक कस्ता ?
पर्यटकका रूपमा विश्वमा सबैभन्दा बढी खर्च गर्ने देश चीन रहेको तथ्यांकले देखाउँछ भने भारत बीसौं स्थानमा छ । पर्यटकका रूपमा गरेको खर्च तथा संख्याका आधारमा प्रतिचिनियाँ पर्यटकले औसतमा २ हजार ५ सय डलर बढी खर्च गर्ने गरेको पाइन्छ भने भारतीय पर्यटकले ८ सय ६७ डलर । तथ्यांक अगाडि भन्छ, अमेरिकीहरूले औसतमा २ हजार १९ डलर, श्रीलंकाका पर्यटकले १ हजार ५ सय ८७ डलर र बेलायतीले १ हजार २ सय ११ डलर खर्च गरे । थाइल्यान्डमा एउटा चिनियाँ पर्यटकले प्रतिदिन १ सय ८० डलर खर्च गर्छन् भने सार्क मुलुकबाट जाने पर्यटकले १६० डलर । विश्व पर्यटन संगठनको पछिल्लो वर्ष पुस्तकका तथ्यांकका आधारमा अमेरिकामा एक पर्यटकले औसतमा ३ हजार १ सय ७६ डलर, चीनमा २ हजार ५ डलर, थाइल्यान्डमा १ हजार ४ सय ८९ डलर, भारतमा १ हजार ६ सय १६ डलर, श्रीलंकामा १ हजार ९ सय ३९ डलर खर्च गर्दा नेपाल आउने पर्यटकले उसको बसाइ अवधिमा औसत खर्च केवल ९ हजार ४४ डलर मात्र गर्छ । पर्यटनको जीडीपीमा सबैभन्दा बढी योगदान भएको माल्दिभ्समा पर्यटक बसाइ अवधि ५ देखि ६ दिन छ भने थाइल्याण्डमा यस्तो अवधि २ देखि ३ दिन मात्र छ ।

नेपालमा कस्ता पर्यटक आउछन् ?
नेपालमा सन् २०१७ मा अधिल्लो वर्षको तुलनामा २५ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भई ९ लाख ४० हजार २ सय १८ पुगेको छ । आएका पर्यटकहरूमा सबैभन्दा बढी भारतीय छन् जसको हिस्सा कुल पर्यटक संख्याको ३६ प्रतिशत छ । दोस्रो स्थानमा २४ प्रतिशत हिस्सासहित चीन रहँदा तेस्रोदेखि पाँचौं स्थानमा क्रमशः अमेरिका (१८ प्रतिशत), बेलायत (१२ प्रतिशत) र श्रीलंका (१० प्रतिशत) रहेका छन् । नेपाल आउने पर्यटकमध्ये ८१ प्रतिशत पर्यटक हवाई मार्ग र बाँकी १९ प्रतिशत स्थलमार्गबाट आएको देखिन्छ । बिदा तथा मनोरन्जनका लागि ७० प्रतिशत पर्यटक भित्रिँदा १५ प्रतिशत तीर्थयात्राका लागि आउने गरेको देखिन्छ । पर्वतारोहण तथा पदयात्राका लागि ८ प्रतिशत पर्यटक आएको तथ्यांक छ । नेपालमा औसत बसाइ अवधि तुलनात्मक रूपमा राम्रै देखिन्छ । प्रतिपर्यटक खर्च भने संसारमै खर्चालु पर्यटक भनेर अग्रस्थानमा रहेका देशका पर्यटक पनि नेपालभित्र ज्यादै न्यून छन् । यसरी नेपाल भित्रिने पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको भए पनि खर्चका हिसाबले गुणस्तरीय पर्यटक आकर्षित गर्न नसकेको देखिन्छ । गत वर्ष प्रतिपर्यटक प्रतिदिन खर्च ५४ डलर मात्र छ । भारतबाट आउने केही पर्यटकले आफ्नो बसाइ अवधिका लागि आवश्यक पर्ने खाना लगायतका सामग्री साथै लिई आउने हुँदा झिनो मात्रामा मात्र खर्च गर्ने गरेको पनि देखिन्छ ।

केमा जोड दिने, संख्या कि गुणस्तर ?
सरकारको नीति एवं घोषणालाई हेर्ने हो भने हामीले संख्या र गुणस्तर दुवैलाई सँगै लैजानुपर्ने देखिन्छ । अबको तीन वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने र कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी यस क्षेत्रको योगदान पुराउने दीर्घकालीन सोचलाई पूरा गर्न वर्तमानमा आइरहेका स्तरका पर्यटकको निरन्तरताका साथ साथै बढी खर्चालु पर्यटक आकर्षित गर्नु जरुरी छ । विगतमा बसाइ अवधि, औसत खर्च तथा संख्यात्मक वृद्धिमा केन्द्रित हुँदा सधै संख्याको वरिपरि रुमल्लिएको अवस्थाबाट पाठ सिक्दै पर्यटकको औसत खर्चमा गुणात्मक वृद्धिका लागि विश्व पर्यटन बजारमा आएका नवीन प्रवृत्तिहरूको अध्ययन गरी मागमा आधारित पर्यटकीय सेवा–सुविधाहरूको विकास र विस्तार गर्नु आवश्यक छ । कतिपय देशले त पर्यटकले एक दिनमा खर्च गर्नैपर्ने न्यूनतम रकमको सीमासमेत निर्धारण गरेका छन् । भारत तथा चीनबाट आउने बाह्य पर्यटकको संख्या प्रत्येक वर्ष बढिरहेको देखिन्छ । यी दुई देश केन्द्रित अभियानले संख्यात्मक लक्ष्यमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ । हुन त खर्चालु पर्यटकका हिसाबले चिनियाँ पर्यटक पहिलो स्थान र भारतीय पर्यटक २० औं स्थानमा रहेको हुँदा गुणस्तरीय पर्यटक आगमनमा समेत उल्लेख्य वृद्धि हुन सक्छ ।
अन्त्यमा, संख्याका साथसाथै गुणस्तरीय पर्यटकहरू आकर्षित गर्न नयाँ परिस्थिति र अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नयाँ पर्यटन नीति बनाई लागू गर्ने, भूकम्पबाट क्षतिग्रस्त संरचना÷सम्पदाहरूको तत्काल पुनर्निर्माण गर्ने, सुरक्षित, भरपर्दो हवाई सेवाको सुनिश्चितता गर्ने, पूर्वाधारमा लगानी वृद्धि गर्ने, पर्यटन विविधीकरण तथा गुणस्तरमा वृद्धि, परम्परागत मौलिक संस्कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्ने, व्यावसायिक, दक्ष जनशक्ति विकास गर्ने, गन्तव्यहरूको पहिचान, प्रवद्र्धन तथा बजारीकरणमा जोड दिँदै जानु आजको टड्कारो आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्