६७ प्रतिशत मतदान

पहाड र तराई मधेशका ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । केही छिटपुट घटना भए पनि निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको हो । मंसिर १० गते ३२ जिल्लामा र २१ गते बिहीबार ४५ वटा जिल्लामा निवाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । केही छिटपुट घटना भएपनि सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ । आयोगका अनुसार ६७ प्रतिशतभन्दा बढी मत खसेको छ ।
अयोगले बिहीबार पत्रकार सम्मेलन गदै सफलतापूर्वक निर्वाचन सम्पन्न भएको जनाएको हो । निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख आयुक्त डा. अयोधी यादवले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । “निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन सफल बनाउन भूमिका खेल्ने राजनीतिक दल, दलका उम्मेदवार र दलका कार्यकर्ताको सकारात्मक सहयोगप्रति आभार व्यक्त गर्दछ ,” उनले भने । दोस्रो चरणमा बिहीबार सम्पन्न निर्वाचनको मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकममा बिहीबार राती वा शुक्रबार विहानसम्म आइसक्ने र त्यसलगत्तै मतगणना सुरु हुने पनि उनले बताए । कसैले प्रश्न उठाउन नसक्नेगरी गणना गर्न पनि मतदान अधिकृतहरूलाई यादवले निर्देशन दिए ।
सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ । दोस्रो चरणमा ४५ जिल्लामा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र तोकिएको थियो । प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि निर्वाचन भएको थियो । बिहीबार सम्पन्न निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए । ५ दिन भित्रमा सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । प्रतिनिधिसभातर्फ १३५ र प्रदेशसभातर्फ ३३० जना निर्वाचित हुनेछन् ।
मतगणना सुरु
मंसिर १० गते सम्पन्न भएकोे ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभामा ७४ क्षेत्रमा सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएपनि गणना नगरी राखिएका ती जिल्लाका मतपेटिका दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै बिहीबार ५ बजेपछि खोलिएको हो । मतगणना जारी रहेका ती स्थानमा बाम गठबन्धन (एमाले–माओवादी) र लोकतान्त्रिक गठबन्धन (कांग्रेस–राप्रपा–राप्रपा प्रजातान्त्रिक र नयाँ शक्ति) का उम्मेदवारहरूबीच प्रतिस्पर्धा देखिएको छ । त्यस्तै, बिहीबार दोस्रो चरणमा सम्पन्न भएका स्थानको भन केही स्थानमा मतपेटिका सदरमुकामसम्म ल्याउन समय लाग्ने भएकाले धेरै स्थानमा शुक्रबार बिहानबाट मतगणना सुरु हुने आयोगले जनाएको छ । केही स्थानमा भने सर्वदलीय बैठकमा सहमति जुटाएर बिहीबार रातीबाटै मतगणना सुरु गने तयारी भइरहेको आयोगको भनाइ छ ।
२ केन्द्रमा स्थगित, छिटपुट झडप
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीमा मात्र स्थगित भएको छ । अन्यत्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपनि सन्धिखर्कमा रहेको दुई वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको प्रमुख आयुक्त यादवले जानकारी दिए । सन्धिखर्क नगरपालिका–५ मथुरा निमावि, नेटा मतदानस्थलका क र ख गरी दुई मतदान केन्द्रको मतदान कार्य स्थगित भएको आयोगले जनाएको छ । “ख का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान कार्य स्थगित भएको हो,” प्रमुख आयुक्त यादवले भने । स्थगित भएका मतदान केन्द्रमा मतदानका लागि आयोगले अर्को मिति तोक्नेछ । यस्तै, सप्तरीको महादेवास्थित मतदान केन्द्रमा स्थानीयले मतदान नै गरेनन् भने सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गर्नुपरेको थियो । भक्तपुरको बालकोटमा पनि कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।
कास्की संवाददाता दीननाथ बरालका अनुसार कास्कीमा ६७ प्रतिशत मत खसेको छ । प्रतिकुल मौसम र स्थानिय तह जस्तो माहौल नहुँदा कम मत खसेको हो । कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ जना मतदाता रहेकोमा ६७ प्रतिशतले १ लाख ७१ हजार १ सय ५२ जनाले मतदान गरेको क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताए । उनका अनुसार कास्कीमा एक सय ५० वटा मतदान स्थल थिए भने ३ सय १७ वटा मतदान केन्द्र थिए । कास्कीमा १ लाख १९ हजार २ सय ९४ जना पुरुष मतदाता रहेको कार्यालयले जनाएको छ भने १ लाख ३६ हजार १ सय ५४ जना अर्थात पुरुष भन्दा (६.६ प्रतिशत) १६ हजार ८ सय ६० जना महिला मतदाता बढी रहेका छन् । कास्कीका स्वतन्त्रसहित १३ वटा विभिन्न पार्टीका ९४ जना विभिन्न उम्मेदवारहरूले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दिएका हुन् । कास्कीमा प्रतिनिधिसभाको लागि ३ र प्रदेशसभाको लागि ६ सिटको लागि प्रतिष्पर्धा भएको हो । संविधान सभामा कास्कीबाट करिब ७७ प्रतिशत मत खसेको थियो । उनका अनुसार कास्कीमा यस बर्ष ३० हजार ६ सय ४१ जना नयाँ मतदाता थपिएका हुन ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ स्थित ओख्लेडाँडा भूम्दीकोट माविबाट १ सय २ बर्षीय वुद्धिबहादुर गुरुङले आफन्तको सहायतामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरे । उनले आफनो अमुल्य मतको प्रयोग गरी देशमा दिगो शान्तिको कामना गरे । उनका छोरा देउकाजिका अनुसार निर्वाचन भने पछि बाबु बुद्धि बहादुरले केहि दिन देखि नै चनाखो हुने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुन कास्की अन्नपुर्ण गाँउपालिकाको कांडे स्थित माच्छापुच्रे माविमा शारिरिक अशक्त ६२ बर्षीया सुमित्रा विकले समेत मतदान गरिन् । करिब एक घण्टाको पैदल हिडेर उनका भाई भुवाने विकले वोकेरै आफ्नी दिदीलाई मतदान गर्न मतदान स्थलसम्म पुर्याएका हुन् । त्यसै गरी गरी अन्नपुर्ण गाँउपालिकाकै चिसापानी स्थित धारापानी माविमा प्यारालाईसिस भएर अपाङ्गता भएका ८० बर्षीय हरि प्रसाद पौडेलले मतदान गरेका छन् । उनका आफन्तले स्ट्रेचरमै बोकेर मतदान स्थलसम्म पौडेललाई मतदान गर्न पु¥याएका थिए ।
धादिङ संवाददाता राजेन्द्र बस्नेतका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकैसाथ सुरु भएको छ । पहिलो चरणमा सम्पन्न २ प्रतिनिधिसभा र ४ प्रदेशको मत गणना एकै साथ सुरु भएको छ । प्रतिनिधिसभा १ र अन्तरगतको प्रदेशसभा १ र २ को निर्वाचन अधिकृतको कार्यालयमा फरक फरक स्थानमा गणना सुरु गरेको छ । प्रतिनिधिसभा १ को छुट्टै कोठामा र दुवै प्रदेशसभाको एउटै कोठालाई दुइ भागमा बाँढेर मत गणना सुरु गरेको छ । यसैगरी प्रतिनिधिसभा दुई र अन्तरगतको प्रदेशसभा एक र दुई को निर्वाचन अधिकृतको कार्यालयमा फरक फरक स्थानमा गणना सुरु गरेको छ । प्रतिनिधिसभा र दुवै प्रदेशसभाको एउटै कोठालाई तीन भागमा बाँढेर मत गणना सुरु भएको छ । मत गणना कार्यलाई सुरक्षित बनाउन प्रतिनिधि र मत गणनामा खटिने कर्मचारीवीचमा तारवार गरिएको छ । मत गणनास्थल भित्र सुरक्षालाई कडा बनाइएको छ । २ लाख ३३ हजार ५ सय ५ मतदाता मध्ये १ लाख ५६ अजार ३ सय ८५ मतदाताले मात्र मतदाना गरेका छन् । प्रतिनिधिसभा एकमा १ लाख १८ हजार १ सय ५० मध्ये ७९ हजार ४ सय २३ मत खसेको छ । प्रतिनिधिसभा १ को प्रदेशसभा १ मा ४५ हजार ४ सय ५८ मतदाता मध्ये ४३ हजार ५ सय ६४ मतदाताले मत दान गरेको छन् । प्रदेशसभा २ मा ५२ हजार ६ सय ९२ मतदाता मध्ये ३५ हजार ८ सय ५९ ले मत दान गरेकाछन् । यसैगरी प्रतिनिधिसभा २ मा १ लाख १५ हजार ३ सय ५५ मतदाता मध्ये ७६ हजार ९ सय ५० मतदाताले मतदान गरेकाछन् । प्रदेशसभा १ मा ६१ हजार १ सय १८ मध्ये ४१ हजार ३ सय ४३ मतदाताले मतदान गरेकाछन् । प्रदेशसभा २ मा ५४ हजार २ सय ३७ मध्ये ३५ हजार ६ सय ७ ले मतदान गरेका छन् ।
वीरगन्ज संवाददाता नीरज पिठाकोटेका अनुसार पर्सामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । निर्वाचन पर्सा जिल्लामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन अधिकृत एवं प्रवक्ता युवराज अधिकारीका अनुसार ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा मतपेटिकाहरू संकलन गर्ने कार्य जारी रहेकोले क्षेत्र नम्बर १ को मतपेटिका मध्यराति १२ बजे सम्ममा संकलन भईसक्ने र अन्य स्थानको मतपेटिका भोली सम्म लाग्न सक्ने भएकोले सबैको यकिन विवरण अहिले नै बताउन नसकिने प्रवक्ता अधिकारीले बताए । पर्सा जिल्लामा २ लाख ८९ हजार ८४ जना मतदाता छन् । मतदानका लागि कूल ३ सय ५१ वटा मतदान केन्द्र तोकिएको थियो । भारतसँग सीमा जोडिएका मतदान स्थल र बीरगञ्ज महानगरपालिकाका केही मतदान स्थललाई अति संवेदनशिलको सूचीमा राखिए पनि पर्सामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
स्याङ्जा संवाददाता प्रकाश डोटेलका अनुसार जिल्लामा ७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले स्याङ्जामा करिब ७० प्रतिशत मत खसेको बताए । उनका अनुसार स्याङ्जामा २ लाख १० हजार ३८ मतदाता रहेका थिए । मध्य स्याङ्जामा १ लाख ४७ हजार २१ जनाले मात्र मतदान गरेका छन् । स्याङ्जामा प्रतिनिधिसभाको लागि २ र प्रदेशसभाको लागि ४ गरी ६ सिटको लागि निर्वाचनमा प्रतिस्पर्धा भएको छ । स्याङ्जाको फेदीखोला सिद्धार्थ बहुमुखी क्याम्पसमा १०३ वर्षीय मानध्वज कार्कीले मतदान गरेका छन् । स्याङ्जा गल्याङ तुल्सी भन्झ्याङ केन्द्रमा बाम गठवन्धनले बुथ कब्जा गर्न खोजेपछि कांग्रेस र वामगठवन्धनबीच स्थिती असामान्य भएपछि प्रहरीले एक राउण्ड हवाई फायरिङ गरेको थियो । स्याङ्जा चापाकोट नगरपालिका राम मन्दिर माविको मतदान केन्द्रमा बाम गठवन्धनका उमेदवार पद्मा अर्याल लामो समयसम्म एकै स्थानमा बसेको भन्दै केही व्यक्तिले बिद्यालयको छानामा ढँुंगामुढा गरेका थिए । काली गण्डकी गाँउपालिकाको चण्डी भन्झ्याङ र आलदेवि मदतान केन्द्रमा एमालेले बुथ कव्जा गरेको कांग्रस उम्मेदवार माया रानाको आरोप छ ।
नवलपरासी संवाददाताका अनुसार बर्दाघाट (सूस्ता पुर्व) मा करिब ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए । नवलपरासीमा २ लाख २१ हजार ७ सय १४ मतदाता रहेका थिए भने जस मध्य ७० प्रतिशतले १ लाख ५५ हजार १ सय ९९ जनाले मतदान गरेका हुन् । नवलपरासिमा प्रतिनिधिसभाको लागि २ र प्रदेशसभाको लागि ४ गरी ६ सिटको लागि विभिन्न दल सहित स्वतन्त्र उमेदवार प्रतिस्प्रर्धामा छन् ।
पर्वत संवाददाताका अनुसार जिल्लामा करिब ६४ प्रतिशत मत खसेको पर्वतका जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले बताए । पर्वतमा १ लाख ७ हजार ३ सय मतदाता रहेकोमा ६४ प्रतिशतले ६८ हजार ६ सय ७२ जनाले मतदान गरेका हुन । पर्वतमा प्रतिनिधिसभाको लागि १ र प्रदेशसभाको लागि २ सिटको लागि प्रतिस्पर्धा भएको हो ।