९२ प्रतिशत खेतमा धानको उन्नत बीउ «

९२ प्रतिशत खेतमा धानको उन्नत बीउ

धान उत्पादनयोग्य भूमिको ९२ प्रतिशत क्षेत्रफलमा धानको उन्नत बीउ पुगेको छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये ४७.५ प्रतिशत हिस्सा धानखेतीको छ ।
१५ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७५ को अवसरमा आयोजित पत्रकार सम्मेलनमा कृषि विभागले धानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । उन्नत बिउले ढाकेको क्षेत्र बढी भए पनि गुणस्तरीय बीउको अभाव हुनु, किसानको रोजाइमा पुरानो बीउ नै पर्नु र धानको जात र बीउ फेरेर नयाँ र उच्च उत्पादन दिने जात लगाउनु पर्नेमा त्यसो हुन नसक्दा उत्पादन वृद्धिमा उतारचढाव आउने गरेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले सरकारले धान उत्पादनमा देखिएका समस्या पहिचान गरेको र समाधानका लागि कार्यक्रमहरू लागू गरिसकेको बताए । “मसिना तथा बासनादार चामलको उपभोगमा वृद्धि तथा खाद्यान्न बालीको विविधीकरण नहुनु, आयातित धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारणबाट धान चामलमाथिको परनिर्भरता दिनानुदिन बढ्दो छ,” पत्रकार सम्मेलनमा उनले भने, “यस्तो अवस्थामा उन्नत तथा पछिल्ला नविन प्रविधिहरूको अनुसरण एवं आवश्यक पूर्वाधारको विकास गरी धान चामलमा आत्मनिर्भरतासँगै राष्ट्रिय समृद्धि हासिलका लागि धान उत्पादनमा वृद्धि गर्नुको विकल्प छैन ।” धान दिवसले यस्तै सन्देश दिने उनको भनाइ छ ।
यस वर्षको धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ तय गरिएको छ । कुल ग्राहस्र्थ उत्पादनमा कृषिको योगदान २७ प्रतिशत रहेका छ भने कृषिको कूल ग्राहस्र्थमा धानको योगदान मात्र २० प्रतिशत छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा कुल ग्राहस्र्थ उत्पादनमा एक प्रतिशतले घटबढ हुने गरेको तथ्य नेपालको अर्थतन्त्रमा छ । धान उत्पादनको ७० प्रतिशत हिस्सा तराइ क्षेत्रको मात्र छ भने विश्वमै सबैभन्दा उच्च स्थानमा धान उत्पादन हुने मुलुक पनि नेपाल (जुम्लाको छम्चौर) हो । नेपालमा समुद्र सतहबाट ६० मिटर (तराई) देखि ३ हजार ५० मिटर उचाइसम्मा धान खेती हुन्छ । कुल ११८ जातका धान खेती हुने गरेकोमा हाइब्रिड जात भने नेपालमा हालसम्म तयार गरिएको छैन । सिफारिस गरेर बाहिरको धान लगाइन्छ ।
धान उत्पादनका प्रविधिहरू पछ्याएमा नेपालमा हाइब्रिड धानको आवश्यक नपर्ने विज्ञहरूको भनाइ छ । “नेपालमा थोरै प्रयासमा पनि धेरै उपलब्धि हासिल गर्न सकिने प्रसस्त आधार छन्, यसका लागि आयातित हाइब्रिड लगाइरहनुपर्छ भन्ने छैन,” धान विज्ञ डा. भोलामानसिंह बस्नेत भन्छन्, “सित्तैमा पाइने सूर्यको प्रकाशलाई प्रयोग गरेर चैते धानबाट तीन गुणासम्म उत्पादन बढाउन सकिन्छ ।” उनले विज्ञहरूको परिचालन, अनुसन्धानका लागि स्रोत साधनको उपलब्धता, कृषि यन्त्र, मल, बीउ र सिँचाइ सुविधा समयमै पुर्याउन सकेमा आयात प्रतिस्थापन सहर्ज गर्न सकिने बताए ।
नेपालमा धान दिवस सुरु गर्दाका तत्कालीन कृषि विभागका महानिर्देशक शिवसुन्दर श्रेष्ठले कृषकहरूको अनुभव र वैज्ञानिकको प्राविधिक विषयलाई फ्युजन गरेर धान उत्पादनमा नयाँ आयाम थप्नुपर्ने बताए । यो वर्ष मुलुकभर ५२ लाख मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ४.१ प्रतिशतले उत्पादकत्व वृद्धि भई ३.५ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । विश्वभर करिव १६ करोड हेक्टरमा ७४ करोड मेट्रिक टन धान उत्पादन हुन्छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान खेती प्रवद्र्धन गर्ने योजना ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्