जटिल परमाणु ऊर्जा परियोजना ‘आइटीईआर’

तीन दशकअघि मानव जातिको लागि उपयोगी हुने गरी अमेरिका र रुसको समर्थनमा प्रस्तावित विश्वकै सर्वाधिक जटिल मेसिनको निर्माण कार्य आधा पूरा भएको छ । असिमित ऊर्जा उत्पादन गराउन सक्ने विश्वास गरिएको परमाणु विलयन प्रयोग (न्युक्लियर फ्युजन एक्सपेरिमेन्ट)को यो परियोजनाको ५० प्रतिशत काम पूरा भएको हो । प्रमुख अन्तर्राष्ट्रिय देशहरूको समर्थन र सहयोगमा सञ्चालित विश्वकै सर्वाधिक जटिल मेसिनको यो परियोजना अन्तर्राष्ट्रिय राजनीतिक कारणले ढिला हुँदै आएको हो ।
विज्ञान र प्रविधि क्षेत्रको सबैभन्दा ठूलो परियोजनाका रुपमा रहेको यो परियोजनासँग थुप्रै संगठनहरूले काम गरिरहेका छन् । यो परियोजनाले परमाणुको फ्युजन गराई ऊर्जाको स्रोतलाई मानव जातिको आवश्यकता पूरा गर्ने विश्वास गरिएको छ । यसका काम आधा पूरा भएको बुधबार जनाइयो । यो परियोजनालाई इन्टरनेसनल थर्मोन्यूक्लियर एक्सपेरिमेन्टर रियाक्टर निर्माण परियोजना भनिएको छ । यसलाई संक्षिप्तमा आइटीईआरले पनि बुझिने गरिन्छ । यो परियोजना दक्षिण फ्रान्समा चलिरहेको छ ।
परियोजनामा भएको ढिलाइले गर्दा यसको लागत बढेर करिब २० अर्ब युरो अर्थात् २३.७ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । यसबारे जानकारी दिँदै आइटीईआरका महानिर्देशक बेनार्ड बिगोटले भनेका छन्, “सन् २०२५ मा हाइड्रोजन अणुलाई सर्वोच्च चरणमा तताउने काम (सुपरहिटिङ)को सुरूवात हुने गरी परियोजना सही बाटोमा छ । यसलाई फस्ट प्लाज्मा भनिन्छ । यो परियोजनाको एक कोशेढुंगा हो,” अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको एक टेलिफोन अन्तर्वार्तामा फ्रान्सको राजधानी पेरिसबाट उनले भने, “हामीसँग कुनै आकस्मिक योजना छैन ।”
मानव जातिको इतिहासमा आइटीइआर सर्वाधिक जटिल वैज्ञानिक परियोजना हो । हाइड्रोजन प्लाज्मालाई १५ करोड डिग्री सेल्सियसमा तताइनेछ । यो सूर्यको केन्द्रमा भएको तापको भन्दा १० गुना बढी छ । यसले परमाणु विलयन प्रतिक्रिया (फ्युजन रियाक्सन)लाई सक्षम तुल्याउँछ । यो प्रक्रिया डुनट आकारको रियाक्टरमा पूरा हुनेछ, जसलाई टोकामाक १ भनिएको छ । टोकामाकलाई विशाल चुम्बकहरूबाट घेरिएको छ, जसले धातुको पर्खालबाट यसलाई बाहिर जानबाट रोक्छ र सर्वोच्च तहको तापमा तताइएका आयनमा टुक्रिएका प्लाजमा (आयनाइज्ड प्लाजमा) वृत्ताकारमा घुमाउन लगाउँछ । सर्वोच्च सुचालक चुम्बकहरूलाई माइनस २६९ डिग्री सेल्सियससम्म तताइने छ, जुन अवस्था ताराहरूबीचमा हुने गर्छ ।
सूर्यमा भइरहने न्युक्लियर फ्युजनको यो प्रक्रियाबारे वैज्ञानिकहरूले लामो समय अध्ययन गरे र तर्क प्रस्तुत गरे, “यसले असिमित ऊर्जा उत्पन्न गराउन सक्छ र यो सस्तो, सुरक्षित तथा सफा विद्युत् उत्पन्न गराउँछ ।” प्लुटोनियम वा युरेनियम अणुलाई टुक्र्याउने अहिले विद्यमान रहेको फिजन रियाक्टरहरू जस्तै यो परियोजनामा परमाणु फ्युजनसँगको शृंखलाबद्ध प्रतिक्रियाहरूको अनियन्त्रित जोखिम हुनेछैन । यसले लामो समय जीवित रहने रेडियोसक्रिय प्रदूषण (रेडियोएक्टिभ वेस्ट) उत्पादन गर्दैन ।
यो विशाल र जटिल परियोजनासम्बन्धी प्रविधिको विकासका लागि प्रस्ताव सन् १९८५ मा गरिएको थियो । विश्वका मानव जातिले लाभ पाउने गरी शान्तिपूर्ण उद्देश्यका लागि नियन्त्रित थर्मोन्यूक्लियर फ्युजनसम्बन्धी यो परियोजनाको प्रस्ताव तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखाइल गोर्बाचेभबीच प्रस्तुत भएको थियो । मर्सिलेबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा सेन्ट पाल लेस डुरान्समा रहेको यो स्थानमा काम सुरू गर्न दुई दशकभन्दा बढी समय लाग्यो । यो परियोजनाका सदस्यहरूमा चीन, युरोपियन युनियन, भारत, जापान, दक्षिण कोरिया, रुस र अमेरिका रहेका छन् ।
डुनट आकारको डिभाइस टोकामाकलाई यसरी डिजाइन गरिएको छ, जसले हाइड्रोजनलाई घेरामा लिन्छ र यसलाई १५ करोड डिग्री सेल्सियस वा २७ करोड फरेनहाइनट तापसम्म तताउन सक्छ । यसमा अणुहरूलाई विलय हुन हुन पर्याप्त विशाल ताप प्राप्त हुन्छ । यो प्रक्रियाबाट विशाल परिमाणमा ताप निष्काशित हुन्छ । आइटीइआरले विद्युत् उत्पादन गर्दैन, तर वैज्ञानिकहरू आशा गरेअनुसार यसले यस्ता फ्युजन रिएक्टर प्रदर्शन गर्छ, जसले खपत गर्न धेरै ऊर्जा उत्पादन गर्न सक्छ ।
यस्ता अन्य फ्युजन एक्सपेरिमेन्टहरू छन् तर आइटीईआरको डिजाइन सर्वाधिक विकसित एवं व्यवहारिक रहेको मानिएको छ । वैज्ञानिकहरूलाई सन् २०३५सम्म यो डिभाइसले अपेक्षित रूपमा काम गर्छ कि गर्दैन, त्यसबारे ठीक जानकारी हुनेछैन । यसक्रममा परीक्षण र यसको स्तरोन्नति गर्नुपर्ने कार्य हुनेछ ।
स्पेनको कम्पनी सीएएसए एसपासियोले घेराहरू बनाइरहेको छ । यी रिंगहरूको निर्माण एरियन ५, भेगा र सोयुज रकेटहरूका लागि दुई दशकदेखि बनाउँदै आएको कम्पनी हो । वाणिज्य र रणनीति विभागका प्रमुख जोस गुइलामनले भने, “आइटीइआर भित्रका शक्तिहरू अन्तरिक्षका चुनौतीजस्तै रहेका छन् । हामीले धातुजस्ता परम्परागत वस्तुको प्रयोग गर्न सक्दैनौं, जुन धातु तापक्रम र विद्युत् सञ्चालनबाट फैलिने र खुम्चिने गर्छन् ।”
फ्युजन विज्ञहरूले यो परियोजनाको उपलब्धिलाई कोशेढुंगाको रूपमा टिप्पणी गरेका छन् । आइटीइआर परियोजनालाई वैज्ञानिक सल्लाह उपलब्ध गराउने विश्वविद्यालयहरू र युरोपियन अनुसन्धान संगठन युरोफ्युजनका टोनी डनले भने, “गिलास आधा खाली छ भन्नु भन्दा गिलास आधा भरेको छ ।” उनका अनुसार अहिले सम्मकै सर्वाधिक जटिल मेसिनको यो परियोजना राजनीतिक कठिनाइ पार गरेर बिगोटले परियोजनालाई सहयोग गरेका छन् ।
यो परियोजनाका लागि लागत अझ पनि समस्या छ । यसैबीच बिगोट वासिङटनको भ्रमण गरिरहेका छन् । बिगोट यो परियोजनाका लागि अमेरिकी समर्थन जुटाउन त्यहाँ गएका हुन् । अमेरिकाले यो परियोजनामा कुल बजेटको ९ प्रतिशतको योगदान गर्छ । यो परियोजनाका लागि अधिकांश कोष सदस्य देशका आपूर्तिकर्ताहरूको जिम्मा छ । अमेरिकाको सन्दर्भमा यो समूहमा जेनरल अटमिक्स छ । यो १८ मिटरको इलेक्ट्रोम्याग्नेट निर्माण गरिरहेको छ । यसले विमान बोक्नेलाई उचाल्न सक्ने क्षमता बोकेको हुन्छ ।
बिगोटले जनाएअनुसार युरोपियन युनियनलगायतका अधिकांश सदस्य देशहरूबाट कुल अनुमानित बजेटको ४५ प्रतिशत कोष उपलब्ध हुन्छ । यो परियोजनाको कोष संकलन हुनेमा बिगोट विश्वस्त छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बोर्डको सदस्य रहेर प्राप्त गर्ने लाभबाट विश्वस्त भइ सहयोग गर्नेछ । बिगोटका बुझाइमा यो परियोजनाका सदस्य देशहरूलाई ऊर्जा आपूर्तिको खाँचो छ । अमेरिकासमेत सबै सदस्य देशहरूसँग भएको ऊर्जा स्रोत यो शताब्दीपछिको आपूर्ति पूरा गर्ने गरी दीगो अवस्थामा छैन ।
फ्रान्सको पूर्व परमाणु ऊर्जा प्रमुख बिगोटले भने, “यो शताब्दीपछि अमेरिका समेत सबै सदस्य देशहरूलाई उनीहरूको ऊर्जा आपूर्ति स्रोत दीगो नभएको थाहा छ । वासिङटनले लगानी कटौती गरे पनि यो परियोजना समाप्त हुनेछैन । यो परियोजना अन्य सदस्यहरूका लागि पनि महत्वपूर्ण छ । यस्तो अवस्थामा केही ढिलाइ हुन सक्छ ।”
कोलम्बिया युनिभर्सिटीमा अप्लाइड फिजिक्सका प्रोफेसर गेराल्ड नभ्रातिलले भने, “हरितगृह ग्यासको उत्सर्जन बिना ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने भरपर्दो समस्याको समाधान फ्युजन हुन सक्छ ।” उनका अनुसार आइटीइारको वर्तमान लागत एक विशाल यात्रुवाहक विमान जति सदस्य देशहरूका लागि भएको छ । यसका साथै प्रविधि समाजका लागि ऊर्जा एक महत्वपूर्ण खर्च हो । उनका अनुसार २० अर्बको लागतमा ऊर्जाको नयाँ स्रोतको विकास गर्नु अन्यथा होइन ।
(एजेन्सीको सहयोगमा)
धर्मेन्द्र कर्ण