परीक्षा बोर्डका पदाधिकारीलाई निलम्बन गर्न नेविसंघको माग «

परीक्षा बोर्डका पदाधिकारीलाई निलम्बन गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले गत शनिबार प्रकाशित एसईई नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई बुधबार ज्ञापनपत्र बुझाउँदै एसईईको नतिजा प्रकाशनमा भएको त्रुटीको छानबिन गर्न माग गरेको हो ।
नेविसंघले छानबिन गर्दै दोषी परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरेर कारवाहीको माग गरेको छ । नेविसंघले शिक्षामन्त्री पोखरेलसँग कक्षा १ देखि उच्च शिक्षासम्मका सम्पूर्ण पाठ्यक्रम निर्धारण गर्दा नीति, योजना र कार्यक्रम तर्जुमामा सरोकारवाला पक्षसँग व्यापक छलफल र पूर्ण तयारी गरी लागू गर्न पनि माग गरेको छ ।
ज्ञापन पत्रमार्फत नेविसंघले गणित विषयलाई अनिवार्यबाट हटाएर ऐच्छिक विषय बनाइएको प्रति पनि आपत्ति जनाएको छ । शिक्षा क्षेत्रमा भएका आमूल परिवर्तनका विषयलाई नजरअन्दाज गर्दै सरकारले मनोमानी लाद्न खोजे नेविसंघलाई मान्य नहुने ज्ञापनपत्रमा उल्लेख छ ।
यसअघि मंगलबार नेविसंघका अध्यक्ष नैनसिँह महरले विज्ञप्ती जारी गरेर एसईई परीक्षाको नतिजा प्रकाशनमा अनियमितता गरेको भन्दै शिक्षा मन्त्री पोखरेलको राजीनामा माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्