वन विकास कोषको रकम फिर्ता गर्न ढिलाइ «

वन विकास कोषको रकम फिर्ता गर्न ढिलाइ

काठमाडौं-वन विकास कोषको रकम फिर्ता गर्न प्रक्रिया चालेको लामो समय बित्दा पनि फिर्ता नआएको काठ व्यवसायीहरूले गुनासो गरेका छन् । वन विकास कोषमा काठ व्यवसायीहरूले जम्मा गरेको १९ करोड १५ लाख रुपैयाँ फिर्ता गर्नका लागि तयार गरिएको कार्यविधि अर्थ मन्त्रालयले स्वीकार गरेको लामो समय बितिसक्दा पनि रकम फिर्ता नभएपछि व्यवसायीहरूले गुनासो गरेका हुन् ।
लामो समयसम्म कोष परिचालन हुन नसकेकाले व्यवसायीले पटकपटक आफूले जम्मा गरेको रकम फिर्ता गर्न दबाब दिएपछि सरकारले व्यवसायीको रकम व्यवसायीलाई नै फिर्ता गर्ने तयारी गरेको थियो । कोष परिचालित हुन नसकेर निष्क्रिय बनेपछि सरकारले नै रकम जम्मा गर्ने काठ व्यवसायीको रकम व्यवसायीलाई नै फिर्ता गर्ने निर्णय गरेको छ । व्यवसायीहरूको दबाबपछि वन मन्त्रालयले रकम फिर्ता गर्नका लागि तयार पारेको कार्यदल अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले व्यवसायीको माग जायज भएको भन्दै कार्यविधि स्वीकृत गरेको हो ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले अर्थले सहमति दिए पनि वन मन्त्रालयले कोषको रकम फिर्ता गराउनका लागि आनाकानी गरिरहेको बताए । “अर्थले सहमति दिए पनि वन विकास कोषको रकम फिर्ता गर्न वन मन्त्रालयले ढिलाइ गरिरहेको छ, प्रक्रिया अगाडि बढेको छ भनिन्छ तर फिर्ता आएको छैन,” उनले भने, “रकम फिर्ता भए हामी वनजन्य उद्योगमा लगानी गर्न उत्साहित छौं ।”
कोषमा करिब १९ करोड १५ लाख रुपैयाँ जम्मा भएको व्यवसायीको भनाइ छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले फिर्ता रकमबाट वनजन्य उद्योग स्थापना गर्ने तयारी गरेको छ । वृक्षारोपणको माध्यमबाट वन विकास गरेर काठ उत्पादन बढाउने उद्देश्यले काठ व्यवसायीले प्रतिक्युफिट काठको ५ रुपैयाँका दरले कोषमा रकम जम्मा गर्दै आइरहेका थिए । महासंघका अनुसार २०६३ सालदेखि २०७० सम्म कोषमा रकम जम्मा गरिएको थियो । वन तथा भू–संरक्षण मन्त्रालयले तयार गरेको वन विकास कोष सञ्चालन कार्यविधि २०६४ ले समेत कोष परिचालन गर्दै वनको संरक्षण तथा संवद्र्धनमा योगदान पुराउने लक्ष्य लिए पनि कार्यान्वयन भने हुन सकेको थिएन ।
वन मन्त्रालयका प्रवक्ता धनन्जय पौडेलले वन विकास कोषको रकम व्यवसायीलाई नै फिर्ता गर्न प्रक्रिया अगाडि बढिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्