सवारी नपाएर वैदेशिक रोजगारीमा जाने र फर्कनेलाई सास्ती «

सवारी नपाएर वैदेशिक रोजगारीमा जाने र फर्कनेलाई सास्ती

जिल्लाका सबै साथीभाइ र परिवारजन मतदानको तयारीमा रहँदा गुल्मीका बमबहादुर रोका मगर संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि उड्न बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । दिउँसो १ः३० बजे विमानस्थलमा भेटिएका रोकामगर यातायात नचलेपछि दुई घण्टाको हिँडाइपछि विमानस्थल पुगेका रहेछन् । तन विदेशको यात्रामा लागे पनि उनको मन भने गाउँमा भइरहेको निर्वाचनमै थियो । उनले छिनछिनमा गाउँमा भइरहेको मतदानबारे मोबाइलबाट जानकारी लिइरहेका थिए ।
“संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलोपटक मतदान गर्ने तीव्र इच्छा थियो तर आजै दुबई उड्नुपर्ने बाध्यताले सहभागी हुन सकिनँ, असाध्यै दुःख लागेको छ,” उनले भने । अपराह्न ४ः३० बजेको इत्तेहाद एयरबाट दुबई जान लागेका रोकामगरलाई एकातर्फ मतदान गर्न नपाएकामा खिन्नता थियो भने अर्कोतर्फ विमानस्थलसम्म हिँडेर पुग्दाको सास्ती थियो ।
नयाँ बसपार्क (गोंगबु) बाट तीनघण्टा पैदल हिँडेर विमानस्थल पुगेका चितवनका प्रभु साहलाई पनि मतदान गर्न नपाएकामा दुःख लागेको छ । अपराह्न साउदी अरब जाने तयारीमा रहेका साहले भने, “के गर्नु ? आजैका दिन उडान पर्यो । भोट हाल्न नपाएकामा असाध्यै दुःख लागेको छ । नियतिले विदेशिनुपर्ने बाध्यता आइलाग्यो ।”
उनीहरु जस्तै सयौंको संख्यामा वैदेशिक रोजगारीका लागि जानेहरुले निर्वाचनका दिन सार्वजनिक यातायातको अभावमा कष्ट झेल्नुपर्यो । विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सयको हाराहारीमा नेपाली युवा खाडीसहितका विभिन्न मुलुक जाने गरेका छन् ।
मतदानकै दिन मलेसिया उड्ने तयारीमा रहेका सिरहाका धनकुमार यादव पनि पहिलो पटक मतदान गर्न नपाउँदा चिन्तित देखिन्थे । परिवारको साथ भन्दा पनि मतदान गर्न नपाएकामा दुःख लागेको अनुभव सुनाउँदै उनले विदेशको पैसाभन्दा पनि भोट ठूलो लागेको भए पनि बाध्यताले विदेशिनुको विकल्प नभएको बताए ।
मोरङका अर्जुन राम पनि मलेसिया जाने तयारीमा विमानस्थलमा भेटिए । टाढादेखि हिँडेर आउँदाको थकान उनमा प्रष्टै देखिन्थ्यो । उनले भने, “उमेरले पनि पहिलो पटक भोट हाल्ने अवसर दिलाएको थियो तर पनि बाध्यता भोट खसाल्न पाइनँ । देशमा रोजगारीको अवसर छैन । अबको नेतृत्वले काम गरेर खाने अवसर दिलाइदिए हुन्थ्यो । यसरी कतिञ्जेल झोला बोकेर हिँड्ने ?”
वैदेशिक रोजगारीमा गएका कतिपय बिहीबार विमानस्थलमा ओर्लिए र उनीहरुलाई गन्तव्यसम्म पुग्न सवारीसाधन नभएर समस्या भएको देखियो । दुबहीबाट काठमाडौं आएका देवकी सुवेदी अपरान्ह सवारीसाधनको पर्खाइमा विमानस्थलमा छट्पटाउँदै थिए । सुटकेस घिसार्दै विमानस्थलको बाहिर सडकमा हिँडिरहेका सुवेदीले भने, “अब कसरी जाने ? थानकोट पुग्नुपर्ने ट्याक्सीले कलंकीसम्मको तीन हजार मागे । आधा बाटो हिँडेर कसरी घर पुग्ने हो ?”
मलेसियाबाट फर्किएका काठमाडौँका अंशु भण्डारी पनि सवारी साधन नपाएर सडकमै सुटकेस घिसारेर विमानस्थलको द्वारबाट बाहिरिँदै थिए । सरकारले निर्वाचनलाई ध्यान राखेर बुधबार राति १२ बजेदेखि बिहीबार मतदान हुने दिन साँझ ७ः०० बजेसम्म सवारी चलाउन निषेध गरेको थियो । पर्यटक यात्रुलाई पर्यटक बसको व्यवस्था गरिएको भएपनि अन्य यात्रुलाई विमानस्थल जान र घर फर्कन चाहने यात्रुलाई समस्या भयो ।
अन्तर्राष्ट्रिय उडान नियमित भए पनि तुलनात्मकरुपमा बिहीबार विमानस्थलमा यात्रुको चहलपहल निकै कम थियो । अन्तर्राष्ट्रिय उडान तालिकाअनुरुप नियमित भइरहेको भए पनि यात्रुको संख्या अत्यन्तै न्यून रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार आन्तरिकतर्फ बिहीबार करिब ८० प्रतिशत उडान कटौती भएको छ ।

सिवी अधिकारी

प्रतिक्रिया दिनुहोस्