यातायातमा सहज बन्दै अर्घाखाँची «

यातायातमा सहज बन्दै अर्घाखाँची

 

अर्घाखाँची-तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन तेल बोकेर दैनिक जीविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासिन्दाले अहिले घरबाटै गाडी चडेर यात्रा गर्न थालेका छन् । २०४३ सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ–गाउँमा गाडीको सुविधा पुगेको छ । टोलटोलमा पुगेका कच्ची सडकले यहाँका बासिन्दाको यात्रालाई सहज बनाएको छ । हिउँदमा यात्राका लागि सहज भए पनि वर्षादको समयमा भने विकट ग्रामीण क्षेत्रमा यातायात संचालनमा थुप्रै चुनौती थिए ।
प्रदेश सभाले पहिलो पटक ल्याएको बजेट पछि भने यहाँका बासिन्दा स्तरीय सडकमा यात्रा गर्न पाउनेमा ढुक्क छन् । प्रदेश सरकारले अर्घाखाँची जिल्लामा सडक निर्माण र स्तरोन्नतिमा करिब १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन रकम जिल्लाको निम्ति पर्याप्त भएको स्थानीयको बुझाइ छ । स्थानीय बासिन्दा जिल्लामा आउने बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गराई जिल्लालाई नमुना जिल्लाको रूपमा विकास गर्ने तयारीमा छन् ।
अर्घाखाँची जिल्ला क्षेत्र नं.१ प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको सडक निर्माणलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको बताए । उनले खानेपानी, सिँचाइ, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलाई समेत प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन सफल भएको बताउँदै रोजगारमूलक कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको दाबी गरे ।
बिनीयोजित बजेट अनुसार रिडी, बल्कोट, माडीचौर, सुलिचौर सडकमा १ करोड ८४ लाख, केरुङ्गा, पिप्ली, धरम्पानी, ¥याले, सिमिचौर सडकमा १ करोड २६ लाख, च्यानडाँडा, खनदह, डाँडाकटेरी सडकमा ३ करोड २४ लाख, सन्धिखर्क, मसुरपाटा, राईखन्ने, बामरुक, भुमेकास्थान सडकमा १ करोड १० लाख, तम्घास, सन्धिखर्क, प्युठान सडकमा ४ करोड, बिहार, डिभर्ना, जोगिमारे, बडाचौर, मुसामारे, चौरी सडकमा १ करोड ३१ लाख ६० गच्छे, ढिकुरा, लामाताल, भालुबाङ्ग सडकमा ७ करोड ८४ लाख, पटौटी, खरज्याङ, तम्घास सडकमा ७ करोड ७५ लाख, भन्ज्याङ, धातिबाङ, नेटा सडकमा १ करोड ३१ लाख ६० हजार, दुर्गा, फर्सवा, देबलचौर सडकमा ५० लाख, देउराली, दर्नेटा सडकमा ५० लाख, घुम्ती,पाल्पा सडकमा २ करोड ९१ लाख, निगाली, नेटा, सुवर्णखाल, बुढीचौर, दक्सुपाटा, पद्मे, जुकेना सडकमा ५० लाख लगाएको १ अर्ब रुपैयाँ मोटरबाटोमा विनियोजित भएको छ । यसैगरी बहुप्रतिष्ठित सालझन्डी सन्धिखर्क ढोरपाटन सडकमा केन्द्रीय सरकारबाट २३ करोड, भूकम्प पुनर्निर्माण प्राधिकरणअन्तर्गत धारापानी, उपल्लापोखरा, ढाकाबाङ, गोखुङामा २४ करोड तथा चाक्ला, सिद्धारा सडकमा २४ करोड रुपैयाँ विनियोजन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्