पशु बिमा प्रभावकारी बनाए फाइदा

तेह्रथुम-ग्रामीण क्षेत्रमा पुश बिमालाई प्रभावकारी बनाउन सके व्यावसायिक रूपमा पशुपालन गर्दै आएका कृषकहरूलाई जोमिख न्यूनीकरण हुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
जिल्लाको छथर गाउँपालिकाको शुक्रबारे बजारमा आयोजित पशुबिमा तथा योजना तर्जुमा अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । पशु बिमाप्रति कृषकहरूको आकर्षण बढ्दो रहेकाले बिमालाई व्यवस्थित तथा प्रभावकारी रूपमा ग्रामीण क्षेत्रका कृषकहरूलाई सेवा दिनका निम्ति बिमा समिति निर्माण गर्न आवश्यक रहेको कार्यक्रममा सहभागी डोलेन तिगेलाले बताए । पशु बिमाकाबारे ज्ञान अभावका कारण कृषकहरूले बर्सेनि लाखौं बराबरको पशुको मृत्युबाट गुमाई रहेको तिगेलाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि छथर गाउँपालिका प्रमुख सन्तोष तिगेलाले पशु बिमालाई प्रभावकारी रूपमा सञ्चालनका लागि विनियमका साथै कानुन नै निर्माण गरी अगाडि बढ्न सके प्रभावकारी हुने बताएका छन् । व्यावसायिक रूपमा पशुपालन गर्दै आएका कृषकहरूका लागि पशु बिमा आवश्यक रहेको र गाउँपालिकाले सक्ने पशुपालनको क्षेत्रमा लगानी गर्ने प्रमुख तिगेलाले बताएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यस क्षेत्रका कृषकहरू पछिल्लो समय पशुपालनतर्फ आकर्षण बढ्दो रहेको पशु शाखा छथरका प्रमुख दीपकबाबु सिंहले बताए ।
पशु बिमाकाबारे सहकारी संस्थाको माध्यमबाट बस्ती बस्तीहरूमा सकारात्मक सन्देश पुराउन सके कृषकहरूले मोल्दै जोखिम आफैं हट्दै जाने सिंहले बताए । यस क्षेत्रका कृषकहरूले पशुहरूलाई बिमा गरे तापनि बस्ती–बस्तीमा बिमाकाबारे ज्ञान पुग्न नसकेको कृषकहरूको भनाइ छ । यस क्षेत्रका कृषकहरूले विशेष गरी गाईभैंसी, बंगुर भेडाबाख्रालगायतका पशुहरू पाल्दै आएका छन् । छथर गाउँपालिकाका २० वटा सहकारी संस्थाका पदाधिकारीको सहभागिता रहेको कार्यक्रमको सजीकरण पशु प्राविधिक दीपक खतिवडाले गरेका थिए ।