पक्की पुलको शिलान्यास «

पक्की पुलको शिलान्यास

पाल्पाको रामपुर नगरपालिका– ५ र ६ जोड्ने बहखोलामा पक्की पुल बन्ने भएको छ । तालपोखरा चिप्लेढुंगा सडकखण्डअन्तर्गत पर्ने बहखोलामा निर्माण हुन लागेको पक्की पुलको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार शिलान्यास गरे ।
नगर प्रमुख थापाले गाउँको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको भन्दै तालपोखरा, विजयपुर, किसानबारी, बेझाड बजार क्षेत्रलाई अब रिङरोडको अवधारणाअनुसार काम गरिने बताए । पर्यटकीय क्षेत्र तालपोखरासँग जोडिएको हँुदा पनि यहाँ पुल निर्माण सम्पन्न भएपछि तालपोखरा घुम्न आउने पर्यटकको आवजावतमा ठूलो राहत मिल्ने उनको भनाइ थियो । यस पुल निर्माणका लागि नगर प्रमुख थापाले नगरपालिकाबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
१ करोड १९ लाख रुपैयाँको लागतमा १० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल निर्माण गर्ने समितिका सचिव भरतराज देवकोटाले बताए ।

सिद्धबाबा सडकको वैकल्पिक ट्रयाक खुल्यो
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गेको नयाँ ट्रयाक खुलेको छ । आगामी आवभित्र यस सडकलाई डबल लेनको रुपमा स्तरोन्नति गरिने भएको छ ।
वैकल्पिक सडक निर्माणको लागि तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाले १० लाख रुपैयाँ लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले पाँच लाख र देवदह नगरपालिका रुपन्देहीले १० लाख गरी १ करोड १० लाख रुपैयाँमा बाटोको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

प्रतिक्रिया दिनुहोस्