झापाका स्थानीय तहद्वारा नीति कार्यक्रम तथा बजेट प्रस्तुत

बिर्तामोड-झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि एक अर्ब २२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको तेस्रो नगरसभामा दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीले १ अर्ब २२ करोड ९६ लाख ८९ हजार ११५ रुपैयाँ बराबरको बजेट पेश गरेका हुन् ।
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ् र नगरको आन्तरिक आय स्रोतका आधारमा बजेटको सीमा निर्धारण गरिएको नगरपालिकाका प्रमुख रोमनाथ प्रमुख ओलीले जानकारी दिए । नगरको समग्र विकासका लागि सबै वडामा जनसंख्यालाई ५०, क्षेत्रलाई ३५ र गरिबीलाई १५ प्रतिशत अंकभारका आकारमा बजेट व्यवस्था गरिएको प्रमुख ओलीले जानकारी दिए ।
दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले कर भुक्तानीलाई प्रोत्साहित गरिने, दरभन्दा यसको दायरा बढाइने, समयमा कर बुझाउनेलाई पुरस्कृत र नबुझाउनेलाई दण्डको व्यवस्था गरिने बताइन् । नगरसभामा विनियोजन ऐन, करसम्बन्धी विधेयक र सञ्चित कोषसम्बन्धी विधेयक नगरसभामा पेश भएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए ।
भद्रपुर नगरपालिकाको बजेट ७२ करोड
भद्रपुर नगरपालिकाले आव ०७५/७६ को वार्षिक नीति तथा कार्यक्रमका लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । भद्रपुर नगरपालिकाको दोस्रो नगरसभामा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रामाया श्रेष्ठले आव ०७५/७६ को वार्षिक नीति तथा कार्यक्रमका लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख श्रेष्ठले चालू आव ०७४/७५ भन्दा करिब १२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको बताइन् । “पूर्वी क्षेत्रको व्यापारिकद्वार, शान्ति र समृद्धिसहितको भद्रपुर सहर” भन्ने मूल नाराका साथ भद्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान र सामाजिक सुरक्षा कार्यक्रमसहित चालू खर्च ६५.५५ प्रतिशत र पुँजीगत खर्च ३६.४५ प्रतिशत रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।
नगर कार्यपालिकाको कार्यालयले आव ०७५/७६ को वार्षिक नीति तथा कार्यक्रमका लागि विनियोजन गरेको बजेटमा विकासतर्फ १ करोड ९६ लाख ७२ हजार, सामाजिक विकासतर्फ ३२ करोड ८० लाख ७६ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २६ करोड ५१ लाख १ हजार रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड २८ लाख ७६ हजार रुपैयाँ र संस्थागत तथा सेवा प्रवाह एवं कार्यक्रम सञ्चालनमा ९ करोड ८० लाख ९२ हजार रुपैयाँ बरारबको बजेट विनियोजन भएको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।
भद्रपुर नगरपालिकाको दोस्रो नगरसभामा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति तथा बजेट कार्यक्रममा कृषि, पर्यटन, औद्योगिक र पूर्वाधार विकासमा विशेष जोड दिएका छन् । कृषि विकासतर्फ सम्भाव्य क्षेत्रहरुको पहिचान गरी पकेट क्षेत्रको रूपमा कृषि विकास योजना कार्यान्वय गरिने, खाद्य सुरक्षालाई बढावा दिने कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि, फलफूल तथा नगदेवालीलाई प्राथमिकता, कृषि बाली विविधिकरण र यान्त्रिकीकरणद्वारा कृषि विकास कार्यक्रम सञ्चालन, मेची पारि, तरकारी बारीको अवधारणलाई विशेया योजनाका साथ अघि बढाइने भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
बिर्तामोडको बजेट ८० करोड
बिर्तामोड नगरपालिकाले आव ०७५/७६ का लागि ८० करोड १७ लाखको बजेट सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभामा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसार्इंले ८० करोड १७ लाख ७८ हजारको बजेट पेश गरेकी हुन् ।
आव ०७५/७६ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा केन्द्रित विकासका योजना र स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाइएको जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले गत वर्षको तुलनामा शिक्षामा ६४ प्रतिशत बजेट वृद्धि गरी २ करोड ३४ लाख २० हजार पुराइएको बताए ।
आव ०७५/७६ को बजेट, नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा नगरप्रमुख विषादिमुक्त कार्यक्रम र सहकारी क्षेत्रको विकासका लागि स्मार्ट कोअपरेटिभ मार्केट निर्माणदेखि झापा कोप स्टान्डर्ड लागू गर्नेसम्मका कार्यक्रम समेटिएको प्रवक्ता पाण्डेले बताए ।
तुलसीप्रसाद निरौला