स्थानीय तहमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत «

स्थानीय तहमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत

जुम्लाका आठ स्थानीय तहले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । आइतबार स्थानीय तह गाउँ तथा नगरपालिकाले दोस्रो गाउँसभाबाट नीति तथा बजेट प्रस्तुत गरेका हुन् । अधिंकाश पुराना योजनालाई दोहोराउँदै यहाँका स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजानिक गरेका हुन् । छाउमुक्त घोषणा, कृषि, पर्यटन तथा सडक विस्तार र सञ्चारलाई प्रथामिकता दिँदै बजेट प्रस्तुत गरेका छन् । पहिलाका अधिंकाश योजना अधुरै छन् अहिलेको गाउँसभाले पनि पुरानै योजनामाथि बजेट खन्याउने प्रयास गरेको देखिन्छ । 

चन्दननाथ नगरपालिका
 कर्णालीकै पहिलो तथा जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चार क्षेत्रको विकास, विद्युत्का साथै सडकलाई प्रथामिकता दिँदै नीति कार्यक्रम तथा बजेटमा त्यसैरी सार्वजनिक गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले रोजगार कार्यक्रम सञ्चालनदेखि उद्यमशिलताका कार्यक्रमलाई बढी प्रथामिकता दिइने बताइन् । नगरपालिकाले जम्मा ३७ करोड ४९ लाख ३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को बजेट, नीति तथा कार्यक्रमले नगरपालिकाभित्रका विपन्न, दलित, जनजाति तथा पिछडिएका र बेरोजगार युवा समुदायको सघन बसोबासमा जोड दिइने लक्ष्य लिएको छ । 

तातोपानी गाउँपालिका
नगरपालिकापछि जनघनत्व तथा विकास निर्माण हरेक काम बढी हुने गरेको जुम्लाको पर्यटकीय तातोपानी गाउँपालिकाले योजना कार्यन्वयनका लागि जम्मा ३३ करोड ९१ लाख ३ हजार बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जसमध्ये पुँजीगततर्फ १२ करोड ९५ लाख ४५ हजार र चालूतर्फ ५ करोड ६३ लाख ३० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले बताए । उनका अनुसार पाँच ‘स’ लाई विशेष प्राथमिकता दिँदै बजेट ल्याइएको छ भने, तातोपानी गाउँपालिकालाई डिजिटल बनाउनेदेखि पर्यटकीय क्षेत्र घोषणा गर्ने कार्यक्रम छन् । रोजगार सिर्जना गरी युवा उद्यमी बढाउनुका साथै निन्न आयस्तर भएका समुदायलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन हुने गाउँपालिकाल उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन् ।

सिजा गाउँपालिका
सिंजा गाउँपालिकाले साक्षर गाउँपालिका घोषणादेखि सडक सञ्चार विद्युत्लाई प्राथमिकतामा राखी नीति तथा बजेट सार्वजनिक गरेको छ  । सिजा गाउँपालिकाको विकास गरिबीको निकास भन्ने सकारात्मक सन्देशका साथ दीर्घकालीन लक्ष्य लिएको गाउँपालिका अध्यक्ष देवलसिहं रावलले बताए । उनका अनुसार आव ०७५/७६ चालूतर्फ ४ करोड ५९ लाख र पुँजीगततर्फ ९ करोड ५ लाख ७१ हजार र सर्सत अनुदानतर्फ ८ करोड ९७ लाख विनियोजन भएको सिजा गाउँपालिकाले जनाएको छ । 

तिला गाउँपालिका
 तिला गाउँपालिकाले प्रत्येक गाउँमा सडक सञ्जाल जोडेर यातायातको पहुच वृद्धि गर्ने, गाउँपालिका भर एक मेगावट विद्युत् उत्पादन गरी उद्योग कलकारखाना खोल्नमा जोड दिने, यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय तथा पर्यावरणीय अवस्थालाई दृष्टिगत गर्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । चालूतर्फ ४ करोड १० लाख, पुँजीगततर्फ शसर्त ११ करोड २६ लाख र पुजीगत खर्च १० करोड ७८ लाख १५ हजार गरी जम्मा २६ करोड १४ लाख १५ हजार रहेको अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “हामी सञ्चार जगतसँग निकै साझेदारी गरेर अघि बढ्छौ, पाँच वर्षसम्म प्रभाव पार्ने खाले योजनालाई हाम्रो प्राथमिकतामा परेको दाबी गरे । 

पातारासी गाउँपालिका 
पातारासी गाउँपालिकाले शिक्षा, पर्यटन कृषि जडिबुटीको मूल आधार, सभ्य, सुन्दर समृद्ध मूल आधार भन्ने नारासहित पातारासी गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले चालूतर्फ १३ करोड ३४ लाख ९९ हजार र पुँजीगततर्फ ११ करोड ९० लाख ९९ हजारी गरी जम्मा २५ करोड ९८ हजार बजेट विनियोजन गरेको छ ।गाउँपालिकाले सडक, विद्युत शिक्षा, कृषिलगायतका कार्यक्रमलाई प्रथामिकतमा राखेर नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको प्रशासकीय प्रमुख रामबहादुर बुढाले बताए । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर जिउलोको विशेष संरक्षण कार्यक्रम पनि अघि सारिने छ । ग्रामीण बस्तीलाई सदरमुकामसँग जोड्न बाँकी क्षेत्रमा सडक विस्तारलाई जोड दिइने नीति तथा कार्यक्रममा जोड दिइएको छ । 

हिमा गाउँपालिका
लेहिमा गाउँपालिकाले बृहत खानेपानी, सडक बिजुली, कृषि शिक्षालगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर हिमा गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले २१ करोड १ लाख २० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यहाँका ग्रामीण क्षेत्रका अँध्यारा बस्तीलाई उज्यालो बनाउन विद्युत् उत्पादनमा जोड दिइने छ भने, समाबेसी सहभागितादेखि आबश्यकतामा आधारित विकास पद्धतिलाई अघि बढाइने छ । 

कनकासुन्दरी गाउँपालिका
यस गाउँपालिकाले आर्थिक, सामाजिक र पूर्वाधार विकास, तथा वातावरण संरक्षण गर्न विपद् व्यवस्थापन, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकतामा राख्दै कनकासुन्दरी गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । त्यसैगरी बजेट तथा योजना र वितिय व्यवस्था स्वास्थ्यको नीति तथा कार्यक्रम, राजस्वसम्बन्धी नीति तथा कार्यक्रम, दक्ष जनशक्ति उत्पादन सम्बन्धित नीति तथा कार्यक्रम शिक्षासम्बन्धी नीति, कृषि तथा पशुपक्षि सम्बन्धित नीति, माथि छलफल गरी संसोधनसहित नीति पास गरिएको कनकासुन्दरी गाउँ पालिकाका अध्यक्ष नरवीर रावतले बताए । अध्यक्ष रावतका अनुसार विशेषगरी नेपाली भाषाको उदगमस्थल भएको हँुदा खस भाषाको संरक्षण गरी धार्मिक तथा पर्यटकीय विकास गर्ने युवायुवतीलाई रोजगारमूलक कार्यक्रमसहितको नीतिमा जोड दिइएको छ भने, जुम्लाका आठै स्थानीय तहले प्राविधिक शिक्षामा जोड दिएका छन् । स्थानीय सरकारको पहिलो वर्ष अलमलमै बिते पनि अब काम गरेर देखाउने दाबी गरेका छन् । 

३४ करोड २३ लाखको बजेट
हुम्लाका ७ वटा गाउँपालिकामध्ये सिमिकोट गाउँपालिकाले नीति कार्यक्रम तथा ३४ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । अन्य गाउँपालिकाले सरकारले दिएको मितिलाई समेट्न सकेको छैन । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपाध्यक्ष बली रावतले गाउँपालिकाको पर्यटन, कृषि, सडक निर्माण, शिक्षा र स्वास्थ्यमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।
कृषितर्फ गाँउपालिकाको प्रख्यात बाली स्याउ, ओखर, केरा, सिमी, फापर, मह, चिनो, कागुना, आलुलगायतका फलफुल तथा तरकारी औषधिजन्य जडिबुटीको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । उन्नत जातको पशुपालनका लागि नश्लसुधार तथा कृत्रिम गर्भाधारण कार्यक्रममा जोड दिँदै बाख्रा भेडा च्याङग्रापालन मौरीपालन तथा माछापालन व्यवसायलाई प्रोत्साहन गरिने कार्यक्रम तय गरेको छ । स्थानीय जडिबुटी तथा कृषि उत्पादनमा आधारित साना तथा घरेलु उद्योगहरुको विकासलाई प्राथमिकता दिइने लक्ष्य राखिएको छ ।स्थानीय उत्पादनमा आधारित सामानको बजार सुनिश्चित गर्न पहल गरिनेछ । गाँउपालिकाका सम्भाव्य पर्यटकीय स्थलहरूको पहिचान, संभाव्यता अध्ययन, वृतचित्र निर्माण तथा विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरिनेछ । पर्यटकीय गन्तव्यको रूपमा रहेको मानसरोवर कैलाश दर्शनमा आउने पर्यटकको ट्रान्जिटस्थल सिमकोट गाँउपालिका रहेको हुँदा ती पर्यटकको यस गाँउपालिकामा बसाइ लम्ब्याउन गाउँपालिकाभित्रका पर्यटकीय स्थल खार्पुनाथ, शिव मन्दिर, रलिङ तीर्थ, पञ्चमुखी हिमाल, दुधेदह, लडे दहलगायतको थप विकास, विस्तार र सुधारमा बजेट विनियोजन गरिएको छ । सिमकोट गाँउपालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भौतिक तथा प्राविधिक सुविधाको विस्तार गरिनेछ । गाउँपालिकाका गरिब छात्राछात्रलाई प्राविधिक तथा उच्च शिक्षाका लागि उचित छात्रवृत्तिका लागि पहल गरिने भएको छ । विद्यार्थी शिक्षक अनुपात हेरी विभिन्न कानुनको व्यवस्था गरी आन्तरिक स्रोतबाट अनुदान दिने व्यवस्थासमेत मिलाउने जनाइएको छ ।कुल विनियोजनमध्ये चालूतर्फ २१ करोड ३६ लाख ६५ हजार र पुँजीगततर्फ १२ करोड ८५ लाख ४६ हजार रकम विनियोजन गरिएको छ । 

कालिकोटका  छ  स्थानीय तहमा बजेट अन्योल
जिल्लाका तीनवटा नगरपालिका र छ वटा गाउँपालिका रहेको कालिकोटमा दुईवटा नगरपालिकाकाले मात्र आव ०७५/७६ को नीति तथा कार्यक्रम ल्याएका छन् । तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाले मात्र नीति तथा कार्यक्रम ल्याएका हुन् । 
दुईवटा नगरपालिकाकाले ल्याए पनि अन्य गाउँपालिका तथा नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम ल्याए पनि ६ वटा गाउँपालिका र एक नगरपालिका कहिले नीति तथा कार्यक्रम ल्याउने हुन् अन्योलमा नै रहेको छ । तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाले ल्याएको नीति कार्यक्रममा पूर्वाधार विकास, कृषि, विद्युत्, सडक, खानेपानी, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएका छन् । 

रास्कोट नगरपालिकाको प्राथमिकता एक ब्यक्ति एक सीप, एक ब्यवसाय
जिल्लाको रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि २९ करोड १६ लाख ५४ हजार ५२० रुपैयाँको बजेटमा नगरसभामा पेश गरेको छ । नगरसभामा पेश गरिएको बजेटमा ‘एक ब्यक्ति एक सीप, एक व्यवसाय’को नीति अवलम्बन गरिएको, कृषि, सुपथ मूल्य पसल, मदिरा निषेधित क्षेत्र, जन्म, मृत्यु विवाह दर्तालगायतका घटना दर्ता गर्दा अनिवार्य बिरुवा रोपेको प्रमाणपत्र ल्याउनु पर्ने नीति कार्यक्रम ल्याइएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । “कृषिमा कोल्ड स्टोर, अनिवार्य कृषि बीमा, सौर्य ऊर्जा, वायु ऊर्जालगायतका विषय समटेर बजेट ल्याएका छौं,” उनले भने, “यसलाई नगरसभाबाट छलफल गराएर कार्यान्वयनमा ल्याइने छ ।” 

तिलागुफा नगरपालिका
तिलागुफा नगरपालिकाले पनि रोजगारी तथा आर्थिक वृद्धिका लागि स्वरोजगारमूलक कार्यक्रममार्फत आत्मनिर्भर वनाउने तर्फ विशेष पहल गर्ने, भौतिक पूर्वाधार र जलविद्युत्को विकासद्वारा दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी न्यूनीकरणमा जोड दिने, आर्थिक स्रोत अभिवृद्धि गर्दै आत्मनिर्भरता वढाउने तर्फ विशेष पहल गर्ने, जेष्ठ नागरिक, महिला, दलित, आदिवासी जनजाति, फरक क्षमता भएका ब्याक्ति, पिछडिएको वर्ग तथा क्षेत्रको विकासमा जोड दिई समावेशी र दिगो विकासको अवधारणा आत्मसात गर्ने, पर्यटकीय गन्तव्यको पहिचान तथा विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिने नीतिका साथ आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम ल्याएको छ । 
आर्थिक वर्ष ०७५/७६ मा आन्तरिक आय स्रोतबाट १० लाख, वित्तीय समानीकरण अनुदानतर्फ १६ करोड ६७ लाख ८१ हजार र सशर्त अनुदानतर्फ सडकका बोर्ड, सामाजिक, बहुक्षेत्रीय पोषण, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, शिक्षा स्वास्थ्य, कृषि, पशु, ग्रामीण ऊर्जा र महिला बालबालिकातर्फ १८ करोड ५७ लाख ८९ हजार बजेट प्रस्ताव गरी ३५ करोड, ३५ लाख ७० हजारको बजेट प्रस्ताब गरिएको नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले बताइन् । “नीति तथा कार्यक्रममा यस नगरपालिकाका वडा नं १ देखि ३ र वडा नं ८ मा विद्युतीकरण कार्य थालनी गर्ने, ढिम्नीया कत्मपुर हुँदै महावु दैलेख सडक संजाल विस्तार गर्ने, नगरका ठूला सडकहरूको मर्मत सम्भारमा निरन्तरता दिने, नगरका क्रमागत योजनाहरुलाई निरन्तरता दिने योजनाका साथ नीति तथा कार्यक्रम ल्याएका छौं,” उनले भनिन् ।

 स्थानीय तहका प्राथमिकता 
१. लक्षित वर्गलाई आत्मनिर्भर बनाउन उद्यमशिलताको विकास गर्ने । 
२. स्वरोजगारमुखी र समावेशी आर्थिक विकासमा जोड दिने । 
३. जलविद्युत् तथा स्थानीय सडक निर्माणलाई उच्च प्राथमिकता दिई कार्यान्वयन गर्दै जाने । 
४. कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा जोड दिने । 
५. पर्यटन प्रवद्र्धनको माध्यमद्वारा आर्थिक विकासमा जोड दिने । 
६.सञ्चालित आयोजनाहरूको एकीकृत र सघन अनुगमन प्रणालीमार्फत प्रभावकारिता र गुणस्तरमा अभिवृद्धि गर्ने ।
 ७. स्थानीय सुशासन प्रवद्र्धनमा जोड दिने ।

सागर परियार/रेशमराज रोकाया/रमेश रावल

प्रतिक्रिया दिनुहोस्