कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न यूएई इच्छुक «

कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न यूएई इच्छुक

यूएईले विभिन्न १७ वटा देशमा लगानी गर्न लागेकोमा नेपाल पनि प्राथमिकतामा परेको हो ।


संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा रेल, कृषि, पर्यटन र पूर्वाधारमा लगानी गर्न इच्छा देखिएको छ । राजधानीमा भएको दुई देशका वाणिज्य सचिवस्तरीय द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहयोग विषयक बैठकमा युएई सरकारका उच्च अधिकारीले नेपालमा लगानीका लागि यूएई इच्छुक रहेको बताएका हुन् । बैठकमा नेपाली पक्षले लगानीका लागि क्षेत्रसहितको फ्रेमवर्क एग्रिमेन्टको प्रस्ताव गरेपछि यूएईका तर्फबाट निर्यातजन्य कृषि उपज, खाद्य प्रशोधन उद्योग र पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो व्यक्त भएको हो । नेपाली पक्षको नेतृत्व वाणिज्य सचिव चन्द्र घिमिरेले गरेको बैठकमा यूएईको वैदेशिक व्यापार, उद्योग र अर्थ मन्त्रालयका प्रतिनिधि तथा बिजनेस काउन्सिलका अध्यक्ष डा. आसिफ अली सिद्धिकीलगायत सहभागी थिए ।
यूएईले विभिन्न १७ वटा देशमा लगानी गर्न लागेकोमा नेपाल पनि प्राथमिकतामा परेको हो । युएईले विशेष गरी क्लिन इनर्जी, हाइड्रोपावर, पूर्वाधार विकास, कृषि, उद्योग, होटल, पर्यटन, सेवाजन्यलगायतका क्षेत्रमा लगानी गर्न इच्छा देखिएको वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । “नेपालमा कसरी लगानी बढाउन सकिन्छ भनेर युएईका उच्च अधिकारीले चासो देखाएका छन्,” वाणिज्य सचिव घिमिरेले भने, “त्यसका लागि द्विपक्षीय छलफल भइरहेको छ ।” यस्तै दुई देशबीचको व्यापार विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको सचिव घिमिरेले जानकारी दिए । बैठकमा नेपालमा लगानीको अवसरका बारेमा लगानी बोर्डका तर्फबाट कार्यपत्र प्रस्तुत भएको थियो ।
यूएईसँग नेपालको व्यापार २९ अर्ब १० करोड रुपैयाँको छ । नेपालबाट १० करोड रुपैयाँको निर्यात हुने गरेको छ । निर्यात वृद्धि गर्न नसक्दा युएईसँग नेपालको व्यापार घाटा धेरै रहेको छ । नेपालबाट जडिबुटी, कार्पेट, चाउचाउलगायतका अन्य उत्पादन युएईमा निर्यात हुने गरेको छ । यूएईबाट वार्षिक २१ अर्बको सुन मात्र आयात हुन्छ । पेट्रोलियम पदार्थ, रासायनिक मललगायतका अन्य सामान पनि नेपालमा आयात हुन्छ । यूएईको टोलीले काठमाडौंमा तीन दिनसम्म विभिन्न मन्त्रालयका उच्च अधिकारी र व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री यादवसँग यूएईका उच्च अधिकारीको भेटवार्ता
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग युएईका उच्च अधिकारीले भेटेर नेपाली उत्पादनलाई यूएईमा बजार प्रदान गर्ने काममा यूएई सरकार सहयोग गर्न तयार रहेको बताएका थिए । मन्त्री यादवले विदेसिएका अदक्ष श्रम शक्तिलाई दक्ष बनाउन देशभित्र शिप विकासका अवसर उपलब्ध गराउनुपर्ने खाँचो रहेको बताए । सीप विकास केन्द्रहरु स्थापनामा लगानी गर्न यूएई सरकारसँग मन्त्री यादवले आग्रह गरे । नेपालको व्यापार घाटा कम गर्न निर्यात सम्भाव्य वस्तुहरुको सहज बजार पहुँचका लागि आग्रह गर्दै मन्त्री यादवले वैदेशिक लगानीका लागि देशभित्र उपयुक्त वातावरण निर्माण भइरहेकाले नेपालभित्र जलविद्युत्, पर्यटन, उत्पादनलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्