पूर्वी नाकामा सुरक्षा व्यवस्था कडा «

पूर्वी नाकामा सुरक्षा व्यवस्था कडा

बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै भारत बंगाल राज्यको सीमासँग जोडिएको झापाको पूर्वी नाका काकँडभिट्टा–पानीट्यांकीसहित अन्य नाकाहरू बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म अर्थात् ७२ घण्टा १ सय १८ किलोमिटर नाका बन्द गरिएको झापाका प्रमुख जिल्ला अधिकारी क्रषिराम तिवारीले बताए । तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति आवतजावत गर्न नपाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । अति आकस्मिक र व्यक्तिको संवेदनशीलता हेरेर प्रहरी, प्रशासनसँगको समन्वयमा आवतजावत गर्न दिइने प्रशासन कार्यालयले बताएको छ । बोर्डर सिल भएपछि भारतबाट नेपालतर्फ आउने पूर्वी नाकामा सुरक्षा कडा बनाइएको छ । उनीहरुलाई आवश्यक कागजात देखाएर सहज रूपमा नेपाल प्रवेश गराइराखिएको छ । झापा सीमा क्षेत्रमा तैनाथ नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मीले निर्वाचनलाई लक्षित गर्दै झापाको खुला सीमा क्षेत्रमा विशेष निगरानी बढाएका छन् । संयुक्त गस्तीमा नेपालको तर्फबाट अधिकृत स्तरका प्रहरीको कमाण्ड रहनेछ भने भारतीय तर्फबाट पानीट्यांकी, गलगलिया, देवीगञ्ज, भातगाउँ, ठाकुरगञ्ज, कादोगाउँलगायत थाना इन्चार्जको कमाण्डमा हुने प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले जानकारी दिए । झापामा मुख्य, सहायक, साना र रिफरेन्स गरी ९ सय ३ वटा सीमा स्तम्भ छन् ।

प्रतिक्रिया दिनुहोस्