वडाअनुसार मतगणना गरिने, मतगणनास्थलमा सिसी क्यामरा जडान «

वडाअनुसार मतगणना गरिने, मतगणनास्थलमा सिसी क्यामरा जडान

पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा मतदान भएको म्याग्दीमा वडाअनुसार मतगणना हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा बुधबार बेनीमा बसेको सर्वदलीय बैठकमा वडाअनुसार मतगणना गर्ने निर्णय भएको हो । राजनीतिक दलका प्रतिनिधिहरूले प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्ने निर्णय गरिएको हो ।
निर्वाचन आयोगले उम्मेदवारले कुन वडाबाट कति मत आयो भन्ने थाहा नपाउने गरी मतगणना गर्ने व्यवस्था मिलाउने बताएको थियो । एक हजार पाँच सयभन्दा कम खसेको वडाको मतपेटिका भने अर्को वडाको मतपत्रसँग मिसाएर गनिने भएको छ ।
दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै म्याग्दी लगायतपहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा बिहीबार साँझ ५ बजेबाट मतगणना गरिने तयारी पूरा भएको छ । प्रतिनिधिसभाको दुई र २ वटा प्रदेश सभाको एकएक ठाउँमा गरी चार ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
पहिलो दिनको मतगणनाको गति, जनशक्ति र पूर्वाधारको अवस्थाअनुसार गणक टोली बढाइने कोइरालाले बताए । पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)को सकिएपछि समानुपातिकतर्फको मतगणना गर्ने कार्यतालिका छ । मतगणनास्थलमा उपस्थित हुने उम्मेदवार वा दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी तारजाली लगाइएको छ ।
मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान भएको छ । मतगणनाका लागि एउटा समूहमा १० जनाका दरले कर्मचारी खटाइने भएको छ । ९० जना कर्मचारी छनोट भएका छन् । मंसिर २६ गतेभित्र मतगणना सकिने सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमै मतपेटिका राखिएको छ भने मतगणना पनी सोही भवनमा हुने भएको छ । मतगणनास्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको परिचयपत्र भएका बाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले बताइन् ।
मोबाइल लैजान पनि प्रतिबन्ध लगाइएको छ । मतगणना सुरु भएदेखि नसकिँदासम्म जिल्ला प्रशासन कार्यालयदेखि श्रीबक्स गुल्मको पोष्ट रहेको क्षेत्रमा सवारी आवागमन बन्द गरी समूहमा हिँडडुल गर्न र भेला हुन प्रतिबन्ध लगाइएको प्रनाउ खड्काले बताइन् ।
एक नगरपालिका, ५ गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उम्मेदवार चुनावी प्रतिपस्र्धामा छन् । मतदान भएको ११ दिनपछि मतगणना गर्ने तयारीसँगै उम्मेदवार, नेता, कार्यकर्ता र आमसर्वसाधारणमा उत्सकुता छाएको छ ।

प्रतिक्रिया दिनुहोस्