मतददान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई

इटहरी– १४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय केन्द्र ‘क’ को मतददानको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । यस केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षमा खटिने प्रहरी पनि सबै महिला नै रहेका छन् ।
सुनसरीका केही मतदान केन्द्रलाई नमुना केन्द्र बनाउने योजनाअनुसार महिलामैत्री केन्द्र बनाइएको सुनसरीका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिए । मुख्य अधिकृत ढकालले भने, सबै केन्द्रमा पुरुषमात्रै केन्द्र प्रमुख हुने र महिलाको प्रतिनिधि नहुने देखिएपछि महिला पनि सक्षम छन् भन्ने देखाउन महिला स्पेसल केन्द्र बनाएका हौं ।” सुनसरीको क्षेत्र नम्बर ३ मा पर्ने यो विद्यालयमा ‘क’ र ‘ख’ दुई मतदान केन्द्रमा १ हजार ५७९ मतदाता रहेका छन् । केन्द्र ‘क’ मा ८१२ जना र ‘ख’ मा ७६७ जना मतदाता रहेका छन् । मतदान अधिकृतको जिम्मेवारी शुलोचना चौधरीलाई दिइएको छ । सुरक्षाको जिम्मेवारी प्रहरी सहायक निरीक्षक पवित्रा खड्काको कमान्डले सम्हालेको छ ।
सुनसरीमा ४ प्रतिनिधि र ८ प्रदेश सभा गरी १२ जना जनप्रतिनिधि चयन हुनेछन् ।