सुरक्षा मजबुत छ, ढुक्कले मतदान गर्नुस् : सरकार

सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्भयका साथ मतदानमा सहभागी हुन आह्वान गरेको छ । चारवटै सबै सुरक्षा निकायका जनशक्तिलाई सुरक्षामा तैनाथ गरिएको स्पष्ट पार्दै सरकारले राष्ट्रिय पर्वको रूपमा रहेको निर्वाचनलाई सफल बनाउन आम मतदातालाई अपिल गरेको हो ।
सरकारले बम विष्फोटलगायत निर्वाचन विरोधी गतिविधिमा संलग्नको विवरण निर्वाचन पछिमात्रै सार्वजनिक गरिने समेत स्पष्ट पारेको छ । निर्वाचन बिथोल्न ‘आपराधिक व्यक्ति तथा समूह’ संलग्न रहेको जनाउँदै सरकारले यसबारे केही समयपछि सबै विवरण सार्वजनिक गरिने जनाएको छ ।
निर्वाचन सुरक्षा तयारीबारे आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनको विरोध गर्नेलाई ‘अपराधी’को रूपमा चित्रण गरे । बिहीबार ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रमा एकसाथ प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन हुँदैछ ।
“विकास र समृद्धिसँग गहिरो सम्बन्ध राख्ने राष्ट्रिय अभियानलाई वाधा–व्यवधान, डरत्रास, भय र अवरुद्ध पार्न खोज्नेहरू आपराधिक व्यक्ति तथा समूह हुन्,” गृहसचिव सापकोटाले भने, “उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता र आम नागरिकलाई समेत घाइते तुल्याउने गरी भएका गतिविधि नियन्त्रण गर्न प्रतिरोधात्मक र निरोधात्मक रणनीति अपनाएका छौं ।”
नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेका अनुसार पछिल्लो एक महिनाको अवधिमा निर्वाचन विरोधी गतिविधि तथा विष्फोटका घटनामा संलग्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका ६ सय, सीके राउत समूहका १३ र अन्य ३५५ जना आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गरिएको छ ।
यो अवधिमा ६१ थान बन्दुक तथा पेस्तोल, २ सय ८३ राउन्ड गोली, २१ सय ८८ थान डेटोनेटर, ५ सय ५५ जिलेटिन, १३ केजी बारुद, २ सय २३ मिटर फ्युज तार, ५ सय ८० थान पटका र ठूलो परिमाणमा सकेटबम बनाउने सामग्री बरामद गरिएको छ । तर, गृह मन्त्रालयका सचिव सापकोटाले संलग्नको पहिचान खुलाउन नमिल्ने दोहो¥याए ।
नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपकुमार रेग्मीसमेत सहभागी पत्रकार सम्मेलनमा सचिव सापकोटाले निर्वाचनमा प्रतिरोधात्मक र निरोधात्मक रणनीति अपनाएर सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिइएको पनि बताए । बम विष्फोटका घटनामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता छ कि अरु नै भन्ने प्रश्नमा गृह सचिव सापकोटा खुल्न चाहेनन् । उनले निर्वाचन सम्पन्न भएपछि मात्रै यसबारे औपचारिक धारणा ल्याउने दोहो¥याए ।
निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी, सशस्त्र र म्यादी जनशक्ति गरी करिब २ लाख सुरक्षाकर्मी तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ ।
आज हुने निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ५ सय ७८ मतदाता सहभागी हुँदैछन् । प्रतिनिधिसभामा १ हजार ६ सय ६६ र प्रदेश सभामा २ हजार ८ सय ५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि ७ हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रमा २ लाख सुरक्षाकर्मी तैनाथ गराइएको छ ।
गृह सचिव सापकोटाले सम्भावित निर्वाचन विरोधी क्रियाकलाप नियन्त्रण गर्न कुनै पनि कसर बाँकी नराखिएको स्पष्ट पारे । सचिव सापकोटाले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनको वातावरण निर्माण गराउन सुरक्षा निकायहरू सक्षम रहेको पनि बताए ।
बुथ निरीक्षणमा सुरक्षा प्रमुख
यसैबीच निर्वाचनको सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूले मंगलबार रातभर मतदान केन्द्र र मतदान स्थलको आकस्मिक निरीक्षण गरेका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपकुमार रेग्मीले दरबार हाइस्कुल, ज्याठा, ठमेल, बूढानिलकण्ठ, शिवपुरी उच्च मध्यमिक विद्यालयलगायत मतदान केन्द्र तथा स्थलहरूको स्थलगत आकस्मिक निरीक्षण गरे । त्यसक्रममा तैनाथ सुरक्षाकर्मीलाई तीनवटै सुरक्षा निकायका प्रमुखले तोकिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।