ऐतिहासिक निर्वाचनको दोस्रो चरण

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत भोली ४५ जिल्लामा मतदान हुँदैछ । यसअघि मंसिर १० गते ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै भोली हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले निर्वाचनको सबै तयारी पूरा भएको बताए । बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको उनले जनाए । प्रतिनिधिसभा सदस्यका लागि ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ क्षेत्रमा मतदान हुँदैछ । मतदानका लागि ७ हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ ।
आयोगका अनुसार यो निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ र प्रदेशसभा सदस्यतर्फ २ हजार ८ सय १९ जना उम्मेदवार छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचन सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारीहरू मतदान केन्द्रमा खटाइएको आयोगले जनाएको छ । यस्तै, समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि ५ हजार ८ सय ३८ जना उम्मेदवार छन् ।
“सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गर्दछु,” पत्रकार सम्मेलनमा यादवले भने । निर्वाचन लक्षित हिंसात्मक घटना भइरहेकोप्रति लक्षित गर्दै यादवले सुरक्षा व्यवस्था मजबुत बनाइएकोले मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गरे । उनले भने, “एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र संक्रमणकालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ ।”
अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको छ । आयोगले मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र भने नभएकाहरूले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । नागरिकता, अघिल्लो संविधानसभा निर्वाचनमा वितरण गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिमत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाउने आयोगको निर्णय छ ।
लोकतन्न्त्रको महाउत्सवमा सहभागी बनौं : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको अघिल्लो दिन बुधबार प्रधानमन्त्री देउवाले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भन्दै शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै भनेका छन्, “सकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रूपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु ।”