पुसमा हिमालयन हाइड्रो एक्स्पो— २०१८

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आगामी पुस २१ गतेदेखि २३ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो— २०१८ आयोजना हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टरको सक्रिय सहभागितामा हुन लागेको एक्स्पोमा काठमाडौँ विश्वविद्यालय, युरोपियन इकोनोमिक चेम्बर नेपाल, नेपाल टनेल एसोसिएसन, टनेलिङ प्रोसेज इनोभेसन इन नेपाल, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संघ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी, बी फोर्सेस प्रालि भारत, हिमालयन जेनेरल इन्स्युरेन्स, भ्यापटेच बुलगारियालगायतको सहयोगमा एक्स्पो आयोजना गर्न लागिएको हो । राष्ट्रिय योजना आयोगको संरक्षकत्वमा काठमाडौंको भृकुटीमण्डस्थित प्रदर्शनी हलमा हुने एक्स्पोमा ५० भन्दा बढी ठूला स्टल रहनेछन् । जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने एक्स्पोमा भारत, चीन, जर्मनी, बुल्गेरियालगायतका देशहरूबाट समेत स्टल राखिन लागिएको छ । जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ । हालै नेपाल सरकारले घोषणा गरेको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास गरिएको छ । एक्स्पोमा इन्जिनियरिङ बेस भएका विद्यार्थीका बीचमा विभिन्न प्रतिस्पर्धा पनि गरिने र उनीहरूबाट नवीन सोचहरू आउने हुनाले आगामी दिनमा ती सोचहरूको उपयोग जलविद्युत् क्षेत्रमा लिन सकिने लक्ष्य राखिएको छ । जलविद्युत् क्षेत्रमा पछिल्ला समयमा विकसित नयाँ प्रविधि तथा उपकरणहरूबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको एक्स्पोबारे सरोकारवाला निकायका प्रतिनिधिहरूसँग एक्स्पो आयोजना गर्नुको उद्देश्य, यसबाट हुने फाइदालगायतबारे कारोबारले गरेको संक्षिप्त कुराकानी :
नया प्रविधि र उपकरणबारे जानकारी पाउन सकिन्छ
शैलेन्द्र गुरागाईं
अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)
जलविद्युत्सँग सम्बन्धित सबै विषय र प्रविधिबारे जानकारी एकै थलोमा दिनका लागि हिमालयन हाइड्रो एक्स्पो–२०१८ आयोजना गरेका हौं । एक्स्पोमा देशभित्र र बाहिरका नयाँ प्रविधि र उपकरणहरूबारे जानकारी पाउन सकिन्छ । देशभित्र रहेकै प्रविधिबारे समेत कतिपय जलविद्युत् प्रवद्र्धकहरू अनभिज्ञ छन् भने विदेशमा पछिल्लो समयमा नयाँ–नयाँ प्रविधि आइरहेका छन्, तीबारे समेत अनभिज्ञ छन् । एक्स्पोका स्टलहरूमा राखिने नयाँ प्रविधि, उपकरणहरूले जलविद्युत् क्षेत्रका लागि धेरै जानकारी दिन सक्छ । नेपालमा टनेल बोरिङ टीबीएन मेसिनबारे नेपालमा नकारात्मक प्रचार भयो तर यसले त सकारात्मक काम गर्छ नि ! यस्ता धेरै प्रविधि छन्, जुन नेपालमा ल्याउन सकिन्छ । जसले जलविद्युत् विकासलाई समेत धेरै सहज बनाउँछ । यसले जलविद्युत् लागत र समय दुवै घटाउँछ । यसले नेपालको जलविद्युत्मा उपयोग हुँदै आएको परम्परागत इन्जिनियरिङलाई परिष्कृत गरेर आधुनिक बनाउँछ । दक्ष र प्रभावकारी बनाउँछ । धेरै नयाँ–नयाँ प्रविधि आउने र यसबारे जानकार व्यक्तिहरू पनि आउने हुनाले उनीहरूसँग यसबारे विस्तृत रूपमा समेत अन्तक्र्रिया गर्न पाइन्छ । यसले अब जलविद्युत् आयोजनाहरू निर्माण गर्दा कस्ता प्रविधिहरूको उपयोग गर्ने भन्ने स्पष्ट हुन्छ । विस्तृत जानकारी पाएपछि जलविद्युत्का प्रवद्र्धकहरूले उपयुक्त प्रविधिहरू राख्न पनि पाउँछन् ।
जलविद्युत्को जानकारी लिन उपयोगी
ज्ञानेन्द्रलाल प्रधान
कोषाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
हिमालयन हाइड्रो एक्स्पो— २०१८ जलविद्युत्सँग सम्बन्धित गतिविधिहरूलाई जानकारी दिने एउटा थलो हो । अहिले अधिकांश जलविद्युत् आयोजना गाउँ–गाउँमा निर्माण भइरहेका छन् । जलविद्युत्मा लगानी बढाउने कुरा पनि भइरहेको छ । सहरी क्षेत्रका बासिन्दाहरूले पनि जलविद्युत् आयोजनाहरूमा लगानी गर्न थालेका छन्, तर उनीहरूलाई जलविद्युत् आयोजना कसरी बन्छ, के–के उपकरणहरू उपयोग हुन्छ भन्ने जानकारी हुनु आवश्यक छ । त्यसका लागि यो एक्स्पो उपयोगी हुन सक्छ । यहाँ मेकानिकल, सिभिल, इलेक्ट्रोनिकलगायतमा उपयोग हुने उपकरण तथा पछिल्ला समयमा आएका नयाँ–नयाँ प्रविधिहरू एक्स्पोमा राखिन्छ । त्यसकारण पनि यहाँबाट जलविद्युत्सम्बन्धी धेरै जानकारी पाउन सकिन्छ ।
लविद्युत् विकासमा सकारात्मक सञ्चार प्रभाव गर्छ
विजयसागर प्रधान
प्रबन्ध निर्देशक, इभेन्ट सोलुसन प्रालि तथा व्यवस्थापक, एक्स्पो
हिमालयन हाइड्रो एक्स्पो नेपालको जलविद्युत्मा लगानी गर्ने खेलाडीहरूका लागि हो । मुख्यतया जलविद्युत्मा सक्रिय सबै निकायका प्रतिनिधिहरू सहभागी हुने र जानकारी दिने एउटा ठूलो प्लेटफर्म पनि हो । सबै निकायहरूबीच समन्वय, विश्वमा विकसित नयाँ प्रविधिहरूबारे जानकारी दिने तथा नेपालको जलविद्युत्बारे बुझाउने उद्देश्यले यो आयोजना गरिएको हो । यसले नेपालको जलविद्युत् विकासमा सकारात्मक सञ्चार प्रभाव गर्छ । एक्स्पोमा ५० भन्दा ठूला स्टल राख्न लागिएको छ । टर्बाइन, सेफ्टी उपकरणहरू, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकललगायतका उपकरणका साथै बिमा, बैंक, इन्जिनियरिङ, सप्लाई, सिभिल ठेकेदारलगायतका क्षेत्रका प्रतिनिधिहरू एक्स्पोमा सहभागी हुँदैछन् । यसको तयारी भइरहेको छ । हालसम्म भारत, चीन, जर्मनी, बुल्गेरियालगायतका देशबाट विभिन्न स्टलका लागि बुकिङ भैसकेको छ भने अन्य देशहरूबाट समेत आउने क्रम जारी छ । एक्स्पोमा विभिन्न कलेजका विद्यार्थीहरूका साथै व्यक्तिगत रूपमा समेत विभिन्न उत्पादनको प्रदर्शन गर्दै छौं । जलविद्युत्सँग सम्बन्धित कुनै विषयमा कुनै नयाँ र नवीन अवधारणा भएमा त्यो पनि प्रदर्शन गर्न पाइनेछ । उनीहरूबीच प्रतिस्पर्धा पनि हुन्छ । प्रतिस्पर्धामा प्रथम हुनेले ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २२ हजार २ सय २२ तथा तृतीय हुनेले ११ हजार १ सय ११ नगद पुरस्कार पाउनेछन् । यसका अतिरिक्त जलविद्युत्सँग सम्बन्धित कार्यशाला, सेमिनारलगायतका कार्यक्रमहरू समेत हुनेछन् ।
प्रक्रिया, उपकरण र व्यवस्थापनबारे जानकारी हुन्छ
रजत श्रेष्ठ
नेपाल प्रतिनिधि, भ्वाइथ
सबैलाई जलविद्युत्बारे विस्तृत रूपमा जानकारी होस् भनेर हिमालयन हाइड्रो एक्स्पो— २०१८ हुन लागेको हो । यसले जलविद्युत् आयोजनामा लगानी ल्याउनेदेखि जलविद्युत् आयोजना निर्माणका लागि लाग्ने प्रक्रिया, उपकरण र व्यवस्थापनबारे समेत जानकारी गराउँछ । यसले जलविद्युत् आयोजनाहरूमा के–के समावेश हुन्छ र कसरी गराइन्छ भनेर पनि जानकारी दिनछ । एकै ठाउँमा जलविद्युत् प्रविधिहरू र पछिल्लो आधुनिक उपकरणहरूबारे समेत सजिलै जानकारी पाउन सकिन्छ । विदेशबाट समेत थुप्रै प्रतिनिधि आउने हुनाले धेरै जानकारी पनि पाउन सकिन्छ । उनीहरूको विश्वको अनुभव पनि थाहा पाउन सकिन्छ । यसले जलविद्युत् आयोजनाहरू कसरी अघि बढ्ने गरेका छन् भनेर जानकारी पाउन पनि सहज हुन्छ । लगानीकर्ताहरूलाई समेत उपकरणहरूको व्यवस्थापनका लागि सम्पूर्ण जानकारी प्राप्त हुन्छ ।
आधुनिक प्रविधि र उपकरण खरिदका लागि सहयोग पुर्याउछ
शान्तराज बतास
उपाध्यक्ष एवं कार्यकारी निर्देशक, बतास अर्गनाइजेसन
नेपाल जलविद्युत् आयोजना निर्माणका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । यो सम्भावना अघि बढाउनका लागि लगानीकर्तालाई पछिल्ला विकसित प्रविधि र उपकरणहरूबारे जानकारी पाउन आवश्यक छ । यो जानकारी भए जलविद्युत्को विकासमा सहयोग पुग्छ । हिमालयन हाइड्रो एक्स्पो–२०१८ नेपालमा जलविद्युत् विकासका लागि धेरै जानकारी दिने थलो बन्न सक्छ । नेपालमा जलविद्युत्बारे हल्ला बढी छ, काम कम छ । एक्स्पोले जलविद्युत् विकासमा प्रतिस्पर्धाको भावना बढाउँछ । लगानीकर्ताहरूमा विश्लेषण गर्ने क्षमता बढाउँछ । जलविद्युत्को लागत र समय घटाउने कुरा मुख्य हो । सीमित मात्र जानकारी भएका लगानीकर्तालाई पनि विदेशी मुलुकका कम्पनीहरू आएर प्रदर्शन गर्दा विस्तृत जानकारी पनि हुन्छ । उपकरणहरू खरिदमा पनि प्रतिस्पर्धा बढ्छ । यसले धेरै सीप र ज्ञान पनि बढाउँछ । अनुभव आदान–प्रदान हुन्छन् । यसले जलविद्युत् आयोजनाहरूको विकासक्रममा धेरै सहयोग पु¥याउँछ । गफभन्दा पनि व्यावहारिक रूपमै जलविद्युत् आयोजनाको विकास जरुरी छ । यसका लागि स्टलहरूले धेरै ज्ञान र सीप आदान–प्रदान गरेर आधुनिक प्रविधि तथा उपकरणहरू खरिदका लागि सहयोग पुर्याउछ।
सम्भावनाबारे समेत यहाँ बहस हुनेछ
विपिन लामिछाने
निर्देशक, फोर्स गु्रप
मुख्यतः हिमालयन हाइड्रो एक्स्पो–२०१८ ले जलविद्युत् क्षेत्रमा अहिले भइरहेको प्रविधिहरूको उपयोग र यसले गर्ने फाइदाबारे जानकारी गराउँछ । अहिले सीमित उपकरणहरूको उपयोग गर्नुपरेकोमा यहाँ आउने कम्पनीहरूले राख्ने धेरै उपकरणका कारण जलविद्युत् आयोजनाहरू बनाउँदा छनोटका लागि सहयोग पुग्छ । एक्स्पोका क्रममा मानवीय जनशक्ति, निर्माण कम्पनी, नयाँ–नयाँ उपकरण, उत्पादक, जलविद्युत् लगानीकर्ताहरू सबैले एक–आपसमा धेरै जानकारी पाउनेछन् । आगामी दिनमा कस्ता जलविद्युत् आयोजनाहरू कसरी अघि बढ्छन् र बढ्नुपर्छ भन्ने जानकारी पनि एक्स्पोले दिनेछ । चुनौती र सम्भावनाबारे समेत यहाँ बहस हुनेछ । समाधानका लागिसमेत सबै सरोकारवाला पक्षहरूबीच छलफल हुनेछ । हाल उपलब्ध स्रोतसाधनको उपयोग र अभावबारे समेत जानकारी हुन सक्नेछ । आयोजना निर्माणका क्रममा देखिएको अभाव पूर्तिका लागि जलविद्युत् लगानीकर्ताहरूले छलफल गर्नसमेत पाउनेछन् । यसले जलविद्युत् आयोजना भविष्यमा अघि बढाउनका लागि अझ सहज वातावरण बन्नेछ।
एक्स्पोमा आधुनिक टनेल बोरिङ मेसिन देख्न सकिन्छ
लक्ष्मीप्रसाद सुवेदी
कार्यकारी निर्देशक, न्यू टेक्निकल वाटर प्रुफिङ एन्ड रिहापटेसन प्रालि
नेपाल र अन्य देशको विकासका लागि ऊर्जा अत्यावश्यक कुरा हो । नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूका लागि त झन् महत्वपूर्ण छ । जलविद्युत्लाई स्वच्छ ऊर्जाका रूपमा लिइन्छ । नेपालमा यसको सम्भावना प्रबल छ । सरकारले पनि ऊर्जा विकासलाई प्राथमिकतामा राखेको छ । यस्तो अवस्थामा नेपालको जलविद्युत् विकासका लागि अत्यावश्यक सूचना प्रवाहका लागि यो सहयोगी हुने निश्चित छ । स्टलहरूमा मेकानिकल, इलेक्ट्रोमेकानिकल र सिभिल कार्यहरूबारे जानकारी दिइने लक्ष्य राखिएको छ । विभिन्न किसिमका प्रविधि, उपकरण र मेसिन सम्बद्ध भिडियो, जानकारीयुक्त सामग्रीलगायतले जानकारी दिन सहज हुन्छ । यसबाट जलविद्युत् विकासक्रम, प्रक्रिया र सूचना–प्रविधिबारे विभिन्न मुलुकबाट जानकारी दिने उद्देश्यले स्टल राखिने भएकाले यसले धेरै मद्दत गर्छ । यहाँ पछिल्लो समयमा विकसित आधुनिक टनेल बोरिङ मेसिन (टीबीएम), अहिलेका भरपर्दो र गुणस्तरीय प्रविधिहरूलगायत पनि एक्स्पोमा देख्न सकिन्छ । यहाँबाट धेरै ज्ञान र जानकारी पनि पाउन सकिन्छ ।
टीबीएम प्रविधि नेपालका लागि उपयोगी र लोकप्रिय हुन सक्छ । यो टनेलिङ कार्यका लागि पनि उपयोगी हुन्छ । यसको पहिलो प्रयोग नेपालकै भेरी बबई ड्राइभर्सन आयोजनामा प्रयोग भएको छ । नयाँ प्रविधि तथा उपकरणहरूको प्रयोगले आयोजनाहरूको लागत घटाउन र अझ सफल रूपमा आयोजना अघि बढाउन सहयोग गर्छ । यस्ता आधुनिक नयाँ प्रविधिहरूबारे एक्स्पोमा जानकारी पाउने हुनाले सबैका लागि यो उपयोगी हुन सक्छ ।