जेष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परीक्षण «

जेष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परीक्षण

तेह्रथुम- जिल्लाको छथर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घरैमा पुगेर स्वास्थ्य परीक्षण सुरु गरेको छ । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यका साथ गाउँपालिकामा रहेका नागरिकहरुलाई घर–घरमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिन थालेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख सन्तोष तिगेलाको उपस्थितिमा जेष्ठ नागरिक स्वास्थ्य अभियानको क्रममा छथर–२ हमरजुङका ९० वर्षीया जानुका कार्कीलाई हमरजुङ स्वास्थ्यचौकीका प्रमुख डगेन्द्र घोर्सानेले स्वास्थ्य परीक्षण गरी औपचारिक रुपमा सुरुवात गरेका छन् । कार्कीलाई गाउँपालिका प्रमुख तिगेलाले खादा ओढाएर सम्मान गर्दै अभियानको सुरुवात गरेका हुन् ।
गाउँपालिका प्रमुखका साथै प्रमुख प्रसाशकीय अधिकृत सूर्यबहादुर भण्डारी, स्थानीय जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले अभियानको सुरुवात गरेका थिए । अभियानको सुरुवातसँगै गाउँपालिकाको सबै वडाका बस्तीहरुमा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्ने भएका छन् । अभियानसँगै चेतना अभावका साथै आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्यचौकीबाट धेरै टाढाको दूरीमा रहेका जेष्ठ नागरिकहरुले सेवा लिने भएका छन् ।
९ सयको हाराहारीमा रहेका जेष्ठ नागरिकहरु विभिन्न कारणले स्वास्थ्य सेवा लिनबाट वञ्चित रहँदै आएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ को गाउँसभाबाट आरक्षण शीर्षकअन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य जागरण अभियानमा २ लाख ५० हजार रकम विनियोजन गरेको थियो ।
जेष्ठ नागरिकहरुलाई प्रोत्साहनका निम्ती विभीन्न कार्यक्रमहरु सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । तत्कालिन ६ वटा गाविस मिलेर बनेको गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुलाई सेवा लिन स्वास्थ्यचौकी पुग्न समस्या रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्