स्वीडेनको जीडीपी बराबर एकैदिनमै चीनको पैसा डुब्यो

बेइजिङ-चीन र अमेरिकाबीचको व्यापार युद्ध लगातार बढ्दै गएको छ । व्यापार युद्धका कारण चीनको सेयर बजारमा पनि ठूलै हलचल पैदा भएको छ ।
जनवरीको तुलनामा सांघाई कम्पोजिटमा १९ प्रतिशतको गिरावट आएको छ । शुक्रबार सांघाई कम्पोजिट २८८९.७६ अंक कायम भएर बन्द भएको थियो । चीनको सेयर बजारमा मानिसहरु सेयर खरिद गर्नुको सट्टा बिक्री गर्दै आएका छन् ।चीनको सेयर बजारमा यस किसिमको हलचल २०१५ पछि पहिलो पटक देखा परेको हो । साउथ चाइना मर्निङ पोष्टका अनुसार गत साता चिनियाँ सेयर बजारमा ५१४ अर्ब डलरको नोक्सानी भएको थियो । यो स्वीडिस अर्थव्यवस्थाको बराबरी हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले २०० अर्ब डलरको अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछिको अवस्थामा यो नोक्सानी भएको हो ।
सांघाई कम्पोजिटमा विगत २ वर्षको अवधिमा ३४ प्रतिशतको वृद्धि भएको थियो । कम्पनीले गरेको मुनाफाका कारण यो वृद्धि भएको थियो । हाल चिनियाँ सेयर बजार व्यापार युद्ध र पुँजीको कमीको समस्या भोगि रहेको केही एजेन्सीहरुले बताएका छन् । व्यापार युद्धका कारण विदेशी लगानी डगमगाएकाले चिनियाँ सेयर बजार पनि ओरालो लागेको ब्लूमबर्गले जनाएको छ ।विदेशी लगानीकर्ताले मंगलबार ३०६.३ अर्ब युआन र बिहीबार ८३ करोड ४२ लाख युआनको सेयर बिक्री गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
ब्लूमबर्गका अनुसार अमेरिकासँगको व्यापार युद्धको आशंकामा लगानीकर्तामा डरको अवस्था सिर्जना भएको छ ।
अमेरिकासँगको व्यापार युद्धमा चीनले धेरै क्षति बेहोर्ने विश्वभरीका विश्लेषकहरुले बताएका छन् ।
चीनले पनि अमेरिकालाई जवाफी कारबाही गर्ने बताउदै आएको छ । यद्यपि उसको यो भनाइले लगानीकर्तामा भरोसाको अवस्था आउन सकेको छैन ।
यद्यपि आगामी साताहरुमा अमेरिकाको सेयर बजारमा पनि यसको असर देख्न सकिने बताइदै आएको छ ।
अमेरिकाकोतर्फबाट सुरु गरिएको यो लडाइले शीत युद्धको अवस्था निम्त्याउने केही विश्लेषकहरुले बताएका छन् ।
अमेरिका र चिनियाँ अर्थव्यवस्था विश्वकै २ ठूला हुन् । यदी यी दुईबीचको तनाव लामो समयसम्म चलि रह्यो भने यसले विश्वभरीका अर्थव्यवस्थालाई प्राभावित पार्ने बताइएको छ ।शुक्रबार जापानी धितोपत्र बजार निक्कीमा पनि १.१ प्रतिशतको गिरावट आएको थियो ।
वाल स्ट्रिट जर्नलका अनुसार भियतनाम तथा फिलिपिन्सको सेयर बजारमा पनि हलचल पैदा भइसकेको छ । निक्कि एसियन रिभ्यूका अनुसार अमेरिकाले स्टिल र आल्मुनियममा अतिरिक्त करको घोषणा गरेपछिनै विश्वभरीको सेयर बजारमा ७८ खर्ब डलरको गिरावट आएको छ ।
व्यापार युद्धको अवस्था अमेरिका र चीनबीच मात्रै देखा परेको छैन । युरोपका देशसँग पनि अमेरिकाको व्यापार युद्ध देखा परेको छ । ट्रम्पले युरोपका अटो उद्योगमाथि पनि २० प्रतिशतको भन्सार लगाउने चेतावनी दिएका छन् । यसको जवाफमा युरोपले पनि कैया अमेरिकी सामानमा आयात शुल्क लगाउने घोषणा गरिसकेको छ ।
शुक्रबार फिलिपिन्सको सेयर बजारमा पनि १८ प्रतिशतको गिरावट आएको थियो । विश्वका विभिन्न मुलुकसँगको अमेरिकाको व्यापार युद्धले विश्वभरीका कम्पनीहरु अनिश्चित व्यापार युद्धसँग जुझिरहेको निक्की एसियन रिभ्यूले जनाएको छ ।
बीबीसी