दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा ६८ करोड बढी बजेट प्रस्तुत «
Logo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा ६८ करोड बढी बजेट प्रस्तुत

खोटाङ-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आईतबार नगरसभा गर्दै नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७५-०७६ को लागि ६८ करोड ६० लाख ९६ हजार बजेट प्रस्तुत गरेको हो ।
नगरपालिकाले आन्तरिक आयतर्फको रकम ४५ लाख रुपैंया रहने अनुमान गरेको छ । यस्तै, संघीय सरकार राजस्व बांडफांड तर्फबाट प्राप्त हुनेमा १० करोड ३ लाख २४ हजार, वित्तिय समानिकरण अनुदानतर्फबाट १४ करोड ९ लाख र सशर्त अनुदान तर्फबाट ४१ करोड ५९ लाख बजेट रहने अनुमान रहेको नगरसभामार्फत नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिए ।
यस्तै, प्रादेशिक सरकार राजस्व बांडफांड तर्फबाट प्राप्त हुने अनुमानित रकम ५ लाख, वित्तिय समानिकरण अनुदानमा ३९ लाख ७२ हजार र सशर्त अनुदान तर्फको २ करोड रहने अनुमान गरिएको छ ।
नगरपालिकाले संघीय सशर्त कार्यक्रमतर्फको ३२ करोड ९ लाख विनियोजन गरेको छ । यस्तै, प्रादेशिक सशर्त कार्यक्रममार्फत २ करोड, चालु खर्च (कार्यालय) तर्फको ७ करोड ४७ लाख २५ हजार ८ सय ९२, विशेष कोषहरुको तर्फबाट १ करोड ७४ लाख ७४ हजार १ सय नौ रुपैंया बजेट विनियोजन गरेको छ ।
नगरसभामार्फत नगर प्रमुख रिजालले समपुरक कोष तर्फ २ करोड बजेट विनियोजन गरेको बताएका छन् । यस्तै, पूर्वाधार विकास क्षेत्रमा कुल रकम ७ करोड ८५ लाख ५१ हजार १ सय ५५, सामाजिक विकास तर्फ अनुमानित सामाजिक सुरक्षा भत्तामार्फत ९ करोड ५० लाख, आर्थिक विकास क्षेत्रका लागि २ करोड १० लाख ५१ हजार ४ सय ७५ रुपैंया बजेट विनीयोजन भएको छ ।
यस्तै, बन, वाताबरण तथा सरसफाई तर्फका आयोजना तथा कार्यक्रमहरुका लागि ७२ लाख ५१ हजार १ सय ५५, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका कार्यक्रमहरुका लागि रु. ४१ लाख ८९ हजार ७ सय ८५ रुपैंया बजेट नगरसभामार्फत बजेट विनियोजन भएको हो ।
नगरसभामार्फत नगरपालिकाले आर्थिक बर्ष २०७४-०७५ को समिक्षा र स्वीकृत नीति तथा कार्यक्रमका आधारमा बजेटका उदेश्य तथा प्राथमिकताहरु पनि प्रस्तुत गरेको हो । नगरपालिकाको आन्तरिक आय (राजस्व) तर्फ ३५ लाख ३४ हजार ९ सय ६४, केन्द्रीय सरकारको अनुदान तर्फ २६ करोड २३ लाख ७५ हजार ४ सय १७, गरी २६ करोड ५९ लाख १० हजार ३ सय ८१ मध्ये सम्पूर्ण रकम खर्च भएको जनाएको छ ।
यस्तै, चालु आर्थिक बर्ष २०७४-०७५ को आय र व्ययको संशोधित अनुमान र आन्तरिक आय (राजस्व) तर्फ ११ लाख ८७ हजार र संघीय सरकारको अनुदान तर्फ ५८ करोड ५१ लाख ६३ हजार गरी कुल ५८ करोड ६३ लाख ५० हजार मध्ये ३७ करोड ५९ लाख ४ हजार ४ सय ८० रुपैंया रकम खर्च भएको संशोधित अनुमान गरिएको छ । प्रस्तावित बजेटमा असार १५ गतेसम्म छलफल हुनेछ ।
खोटाङको सदरमुकामस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जातीय सहिष्णुता, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यताले सम्पन्नशाली धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्वले प्रचुर सम्भावना बोकेको नगरपालिका हो । साविकको दिक्तेल नगरपालिका र ९ वटा गाविसहरु समायोजन गरेर हाल १५ वटा वडा रहेको यस नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्नका लागि आफुहरु प्रयत्नरत रहेको नगरप्रमुख रिजालले बताएका छन् । संघीय तथा प्रादेशिक सरकारका नीति, कार्यक्रम तथा मार्गदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखेर नगरपालिकाले प्राप्त गर्ने आयश्रोतको सीमाभित्र रहेर वार्षिक कार्यक्रमहरु तयार गरी पेश गरिएको रिजाललको भनाई छ । विभिन्न बर्ग, लिंग, सम्प्रदाय, क्षेत्र र जातजातीको समावेसी र समन्यायिक बिकास गर्ने, स्थानीय अर्थतन्त्रमा उच्च आर्थिक वृद्धि हासिल गर्ने, नगरको सेवामा आमनागरिकको पहुँच वृद्धि गर्ने लक्ष्यकासाथ वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको रिजालले बताए ।
कार्यक्रममार्फत नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । नगपालिकाले स्थानीय गौरवका योजनाहरु, डिपिआर तयार भई कार्यन्वयनको चरणमा पुगेका योजनाहरु, आर्थिक बिकासका योजनाहरु तथा क्रमागत योजनाहरुलाई पहिलो प्रथामिकतमा राखेको छ । दिक्तेल अस्पतालचौक हुदै भानुचोक,हाटडाँडा खानिडाँडा विमानस्थल, आहाले सडक पिच गर्ने कार्यलाई तिव्रता दिईने भएको छ । यस्तै, खानिडाँडा बिमानस्थललाई पुनः मर्मत गर्ने कार्यलाई तिव्रता दिन नेपाल सरकार समक्ष आवश्यक पहल जारि राख्ने, अस्पताल चौक,लफयाङ, साप्सुखोला मानेभन्ज्याग सडक स्तरउन्नतिको काम तत्काल प्रारम्भ गरिने, नेभारेबाट साप्सुढाप हुदै दल्छिगे, मेरुग भोजपुरको सालपापोखरी हुदै संखुवासभाको किमाथाँग्का जोडने सडक नगरको अन्तर जिल्ला जोडने एक मात्र सडक भएकोले यस सडकलाई उच्च प्राथमिकतामा राखि संचालनमा ल्याईने, जिल्ला अस्पताललाई ५० सैयाको बनाउने कार्यलाई यथासक्य चाडो कार्य प्रारम्भ गरिने, दिक्तेल बहुमुखि क्याम्पसलाई एक पक्कि भवन निर्माणको काम यसै आवमा डिपिआर तयार गरी अगाडी बढाईने, नेर्पा, पाथेका र खार्मिको माथिल्लो ठाउँ देबिस्थान गहिरोमा व्यवस्थित ताल निर्माण गरिने जसको आसपासमा नमुना पेनटावर निर्माणको काम यसै आवबाट प्रारम्भ गरिने, मझुवागढी कालिक भगवतिको गुरुयोजना कार्यान्वयनका लागि समपुरक योजनाबाट पुर्णता दिने कामलाई निरन्तरता दिईने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । यस्तै, रुपाकोटमा भ्यूटावर निर्माणको काम तत्काल प्रारम्भ गरिने, नूनथाल गुम्बा, मझुगाढी देबिस्थान, साप्सुढाप, भुलभुले, महुरेगढी, सहदेवगढीका साथै पर्यटन गुरुयोजना कार्यन्वयमा ल्याईने, दिक्तेलको सहरी खानेपानी आयोजनाकाम तुरुन्त प्रारम्भ गरिने, मेवाखोला लिफ्टिङ खानेपानी आयोजना, नुनथला खानेपानी आयोजना, मझुवागढी देबिस्थान खानेपानी आयोजना, लप्से, पंखु खानेपानी आयोजना, पाथेका, खाल्ले खानेपानी आयोजना लगाएतका योजनाहरु संचालनमा ल्याईने तथा भूकम्प पुनः निर्माणको कामलाई तदारुकताका साथ अगाडी बढाईनेलगायतका अन्य थुप्रै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
 उत्तम चौलागाँई

प्रतिक्रिया दिनुहोस्