मुस्ताङको स्याङबोचे भ्यू–प्वाइन्ट पुग्यो टेलिकम «

मुस्ताङको स्याङबोचे भ्यू–प्वाइन्ट पुग्यो टेलिकम

नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जीएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यू–प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यू–प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको हो । मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाइको दालोमे गाउँपालिका–३ मा स्याङबोचे भ्यू–प्वाइन्टको बीटीएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेसन राखी माइक्रोवेभ लिंकमार्फत बीटीएससँग सम्पर्क कायम गरिएको छ । सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवेअन्तर्गत ताङ्वेदेखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउँछ । यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सयभन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । त्यसैगरी दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बीटीएसबाट ४ हजारभन्दा बढी सेवाग्राही लाभान्वित हुनेछन् । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्