खडेरीले बाली सुक्यो «

खडेरीले बाली सुक्यो

जलवायु परिर्वतनका कारण एउटै जिल्लाका कतिपय ठाउँमा अत्यधिक पानी पर्ने गरेको छ भने कुनै ठाउँ पानी नपरेर सुख्खा भएका छन् । तेह्रथुमको छथर क्षेत्रकै कतिपय स्थानमा दैनिक पानी परेर सडक अबरुद्ध हुन् गरेका छन् भने कतिपय क्षेत्रमा पानीको छिटासमेत नपर्दा सुख्खाग्रस्त भएका छन् । पानी नरेकै कारण सुख्खाग्रस्त क्षेत्रमा कृषकले लगाएको बाली सुन्न थालेको छ । यसले किसान चिन्तित बनेका छन् ।
असारको पहिलो हप्ता वितिसक्दा पनि पर्याप्त पानी नपर्दा खडेरीका कारण अन्नबालीका बोट सुक्न थालेको छथर गाउँपालिका–४ फाक्चामाराका राजेन्द्र लेक्वाले बताए । “खडेरीले बालीनाली सुक्न थालेको छ, अब एक हप्ता पानी परेन भने सबै बाली सखाप हुन्छ,” उनले भने, “आकासे पानीको भरमा खेती गर्दै आएका किसान बढी चिन्तित छन् ।”
तमोर नदीसँगै जोडिएका सुख्खाग्रस्त क्षेत्रका कृषकले लगाएको अन्नबाली बर्षेनी खडेरीका कारण गुमाउँदै आउनु परेको स्थानीय जानुका भुजेल बताइन् । अन्नबाली गुमाएसँगै यसक्षेत्रका बासिन्दालाई खाद्यान्न संकट हुने गरेको छ । बाली उत्पादन हुन छाडेपछि गाउँपालिकाले गतवर्ष मालपोत मिनाहा गरेको अध्यक्ष सन्तोष तिगेलाले बताए । यस वर्षपछि तत्कालिन पञ्चकन्या, फाक्चामारा र ओख्रे गाविसका तल्लो क्षेत्रका किसानले लगाएको बालीनाली सुक्न थालेको उनले बताए ।
सिँचाइका लागि पानीको स्रोतको अभावका कारण आकासे पानीको भरमा खेती गर्दै आएका यस क्षेत्रका किसान बर्सेनि बसाइँ सर्ने गरेका छन । “गाउँमा युवा छैनन्, काम गर्ने मजदुरको अभाव छ,” छथर–३ की पवित्रा लिम्बुले बताइन् ।

प्रतिक्रिया दिनुहोस्