अनुदानमा मात्रै रेल ल्याउनुपर्छ :डा. महत «

अनुदानमा मात्रै रेल ल्याउनुपर्छ :डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समीक्षा गर्न शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा डा. महतले नेपालले आफैं रेल निर्माण गर्न नसक्ने र आन्तरिक आवश्यकताहरु धेरै भएकाले तत्काल लगानी गर्न नसकिने बताए । उनले ऋण र साझेदारी गरेर रेल ल्याए तिर्न नसकिने भएकाले अनुदानमै ल्याउन जोड दिनुपर्ने स्पष्ट पारे । डा. महतले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीनसँग खासै केही नयाँ सम्झौता नभएको दाबी गरे । “रेलको सम्झौता नयाँ होइन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एन्ड रोड इनिसिएससनमार्फत सम्झौता गरेको थिएँ,” उनले भने, “अरुखाले द्विपक्षीय सम्झौता पनि पहिला नै भएका हुन् ।” यद्यपी नेपालमा रेल आउनु राम्रो हुने हुने उनले स्पष्ट पारे ।
नेता महतले चीनसँग मात्रै नभएर भारतसँग पनि अनुदानमा रेल मार्गको विषयमा कुरा गर्नुपर्ने बताए । “यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनका लागि आग्रह गर्नुपर्छ,” उनले भने, “नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन् ।” दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा सक्षम भएकाले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर उपहार दिनुपर्ने उनको भनाइ थियो ।
डा. महतले चीनसँग पनि नेपालको ठूलो व्यापार घाटा रहेको भन्दै प्रधानमन्त्री ओलीको यो भ्रमणका क्रममा नेपालमा उत्पादित भएका र चीनबाट माग भएका सिमित वस्तु बिनाभन्सार चीन निर्यात गर्नेबारे ठोस सहमति हुन नसकेकोमा दुःख व्यक्त गरे । उनले भ्रमणको दौरान विद्युत्मा लगानी गर्ने भन्ने कुरा आएको तर त्यो कसरी आउँछ भन्ने प्रष्ट नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्