सरकार काल्पनिक योजना बाँडदैछ: डा महत «

सरकार काल्पनिक योजना बाँडदैछ: डा महत

रामेछाप-कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार मुलुक र जनताका आवश्यकता र चाहनालाई एकातिर पन्छाएर काल्पनिक योजनाका सपना बाँड्नेतिर मात्र लागेको बताएका छन् ।
रामेछापको मन्थली उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, “मुलुकका आवश्यकता र प्राथमिकता एकातिर छन्, तर सरकार काल्पनिक योजनाका सपना बाँडेर हिँडिरहेको छ ।”
प्रेस युनियन रामेछापले आयोजना गरेको अर्को एक कार्यक्रममा बोल्दै नेता महतले धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको र प्रचारमात्रै बढी गरिएको दाबी गरे । रेलको सन्दर्भमा कुरा गर्दै उनले आर्थिक प्रतिफलको कुनै लेखाजोखा नगरिएको उक्त परियोजनालाई आफ्नो भन्दा छिमेकी देशको हितमा अघि सारिएको टिप्पणी गरे । “त्रिदेशीय मोडलबाट मात्र हित हुने भएकाले उनीहरू यसैका लागि मात्र उत्सुक भएको हुनसक्छ । महँगो पर्ने ऋणबाट यति ठूलो आयोजना सञ्चालन लाभदायी छैन,” उनले भने, “हाम्रा तत्कालका प्राथमिकता अरु नै छन् ।”
मुलुकको अबको एजेन्डा आर्थिक भएको स्पष्ट पार्दै नेता डा. महतले राजनीतिक स्थायित्व कायम भएको अवस्थामा पनि सरकार भने आर्थिक विकासको मामलामा अलमलमा परेको उनको भनाइ थियो । उनले भने, “तत्काल पूरा नहुने खालका काल्पनिक कुरा गरेर सरकारले जनताका तत्कालका आवश्यकतालाई बेवास्ता गरिरहेको छ अर्काको अभिरुचिमा समय बिताउनुभन्दा मुलुक र जनताको सर्वोपरि हितमा काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।”
अहिलेको युग प्रतिस्पर्धा र ज्ञानको भएकाले विद्यार्थीलाई पढाइमा उत्कृष्टता हासिल गर्न पनि उनले आग्रह गरेका थिए । उक्त अवसरमा कांग्रेस नेता भरत चौलगार्इंले विद्यालयलाई २० थान सीसी क्यामेरा उपलब्ध गराएका थिए भने कालिञ्चोक फाउण्डेसन र नेपाल विद्यार्थी संघले सो विद्यालयका एक हजार ७६ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर खड्का, नेका पूर्वसभापति रामचन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा, फाउण्डेसनका अध्यक्ष दिनेश खड्का लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्