‘भूकम्पपीडितलाई प्रतिक्युफिट २२ सयमा काठ «

‘भूकम्पपीडितलाई प्रतिक्युफिट २२ सयमा काठ

काठमाडौं-काठ व्यवसायीले भूकम्पपीडितका लागि सालको काठ प्रतिक्युफिट २२ सयमा नै उपलब्ध गराउन तयार भएका छन् । पटकपटक सरकारलाई भूकम्पपीडितलाई काठ उपलब्ध गराउने जिम्मा निजी क्षेत्रलाई दिन माग गरे पनि सरकारले सुनुवाइ नगरेको व्यवसायीको गुनासो छ ।
टिम्बर कर्पोरेसन अफ नेपालले भने भूकम्पपीडितलाई प्रतिक्युफिट काठ २७ सयमा उपलब्ध गराएको छ । अधिकांशको घर निर्माणको काम सम्पन्न नभएको भन्दै काठ व्यवसायी भने भूकम्पपीडितका लागि काठ उपलब्ध गराउने जिम्मा निजी क्षेत्रलाई नै दिनुपर्ने माग गरिरहेका छन् । टीसीयनले भन्दा आफूहरूले सस्तो र सहज रूपमा काठ उपलब्ध गराउन सक्ने भन्दै व्यवसायीहरूले सरकारसँग काठ बिक्रीको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने भन्दै कसरत गरिरहेका छन् ।
वन विभागले भूकम्पपीडितलाई सहज रूपमा नै काठ उपलब्ध भइरहेको बताएको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा स्थानीय काठ नै प्रयोग गरेको र सहरी क्षेत्रमा काठको माग बढी भए पनि सहज रूपमा उपलब्ध भइरहेको दाबी गरे । “काठ नपाएर घर बनाउने काम रोकिएको भन्ने गुनासा सुनिएको छैन, जुन क्षेत्रमा काठको माग बढी देखिएको छ, हामीले सहज आपूर्तिको व्यवस्था मिलाइ रहेका छौ,” उनले भने ।
तर नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले अधिकांश भूकम्पपीडितले काठ नपाएका कारण घर बनाउन नपाएको गुनासा बढिरहेकाले निजी क्षेत्रलाई बिक्री वितरणको जिम्मेवारी दिने भए सस्तो र सहज रूपमा भूकम्पपीडितलाई काठ उपलब्ध गराउन निजी क्षेत्र राजी भएको बताए । “हामीले पहिलेदेखि नै भन्दै आइरहेका छौ निजी क्षेत्रलाई पनि भूकम्पपीडितका लागि काठ बिक्री वितरण गर्ने जिम्मेवारी दिनुपर्यो, तर वन मन्त्रालयले सुनेन,” उनी भन्छन्, “हामी सहज र सस्तोमा काठ दिन तयार छौ ।”

प्रतिक्रिया दिनुहोस्