कोस्टारिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने ब्राजिलको दाउ

आजका खेल ब्राजिल भर्सेस कोस्टारिका: साँझ ५:४५ नाइजेरिया भर्सेस आइसल्याण्ड: राति ८:४५ सर्विया भर्सेस स्विट्जरल्याण्ड: राति ११:४५ |
स्कोर बोर्ड उरुग्वे भर्सेस साउदी अरेबिया: १–० (उरुग्वे) स्पेन भर्सेस ईरान: १–० (स्पेन) डेनमार्क भर्सेस अष्ट्रेलिया: १ – १ (ड्र) |
म्याच हाइलाइट्स |
स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको ब्राजिलमाथि कोस्टारिकालाई हराउनैपर्ने दबाब छ । समूह ‘ए’मा रहेको ब्राजिलले आइतबार स्विट्जरल्याण्डसँग बराबरी खेलेपछि निकै आलोचनासमेत खेपिरहेको छ । पाँच पटकको विश्व विजेता ब्राजिल रसियामा छैटौं पटक उपाधि जित्ने अभियानमा छ, उक्त अभियान सफल बनाउन उसले कोस्टारिका विरुद्ध सनसनीपूर्ण खेल्न आवश्यक छ । प्रशिक्षक टिटे र ब्राजिलका खेलाडीले स्विट्जरल्याण्ड विरुद्धको खेलमा भएका कमजोरी सुधारेर उत्कृष्ट प्रदर्शन गर्ने बताइरहेका छन् ।
यता, विश्व फुटबलमा ‘ब्लाक हर्स’ को परिचय बनाएको कोस्टारिका पहिलो खेलमा सर्वियाविरुद्ध व्यहोरेको हारको क्षतिपूर्ति ब्राजिलसँगको खेलमा निकाल्न चाहन्छ । २०१४ को विश्वकपमा इटाली, उरुग्वे जस्ता शक्तिशाली टिमलाई हराएको कोस्टारिका ब्राजिललाई हराउँदै अघिल्लो चरण प्रवेशलाई बलियो बनाउन चाहन्छ । तर, उसको यो अभियान त्यति सहज भने हुनेछैन । स्टार खेलाडीले भरिएको ब्राजिललाई हराउनु कोस्टारिकालाई निकै कठिन हुनेछ ।
स्विट्जरल्याण्ड विरुद्धको खेलमा १० फउलको सामना गरेका ब्राजिलका स्टार नेयमार बुधबार सामान्य अवस्थामै प्रशिक्षणमा फर्किएपछि ब्राजिलको मनोवल बढेको छ । यस्तै युवा स्ट्राइकर गाब्रियल जेसुस, डिफेन्डर मिरन्डा लगायतले पनि कोस्टारिका विरुद्ध सुधारिएको प्रदर्शन गर्ने बताएका छन् । दबाबमा रहको ब्राजिल समूह विजेताको रूपमा अघिल्लो चरणमा प्रवेश गर्न कोस्टारिका हराउन चाहन्छ । यो समूहको शिर्ष स्थानमा सर्विया छ, उसले तीन अंक जोडेको छ । ब्राजिल र स्विट्जरल्याण्डले समान १–१ अंक जोड्दा कोस्टारिका भने अंक विहिन छ ।
इतिहास ब्राजिलको पक्षमा
ब्राजिल फिफा विश्व वरियाताको दोस्रो नम्बरमा रहँदा कोस्टारिका २३ औं स्थानमा छ । ब्राजिल विश्वकपमा सबै संस्करण (२१ औं) मा भाग लिने एकमात्र टोली हो । उसले पाँच पटक उपाधि जितेको छ । यता कोस्टारिकाका लागि भने रसिया विश्वकप पाँचौं विश्वकप हो, उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
ब्राजिल र कोस्टारिकाबीच अहिलेसम्म १० खेल भएका छन्, जसमा ब्राजिलले ९ जित दर्ता गरेको छ । कोस्टारिकाले भने १ खेल जितेको छ । ९ खेलमा जित हात पारेको ब्राजिलले ३९ गोल गर्दा कोस्टारिकाले ९ गोल गरेको छ । विश्वकपमा ब्राजिल र कोस्टारिका दुई पटक भेट भएका छन्, र दुवै खेल ब्राजिलले जितेको छ । ब्राजिलले ६ गोल गर्दा कोस्टारिकाले २ गोल फर्काएको छ ।
सम्भावित लाइनअप
ब्राजिल : एलिसन, डानिलो, थियागो सिल्भा, मिरन्डा, मिरन्डा, कासिमिरो, पाउलिन्हो, विलियन, फिलिपे काउटिन्हो, नेयमार गाब्रियल जेसुस
कोस्टारिका : केलियर नभास, फ्रान्ससिस्को काल्भो, ओस्कार डुआर्ट, जोनी अकोस्टा, गियानकार्लो गोन्जालेज, क्रिस्टियन गाम्बो, सेल्सो बोर्गेस, डेविड गुन्मान, ब्रायन रुइज, जोहान वेनेगास, मार्को यूरेना ।
प्रेडिक्सन : ३–० (ब्राजिल)
विश्वकप खेल्ने खेलाडीका अनौठा अन्धविश्वास
पूरै संसार विश्वकप फुटबलमा झुमेको छ । रसियामा भइरहेको विश्वकपमा खेल निकै रोमान्चक भइरहेका छन् । तर, विश्वकप खेल्ने खेलाडीका अन्धविश्वास थप रोमान्चक छन् । विश्वकपमा भाग लिएका फुटबलरका अनौठा अन्धविश्वास छन् । कसैलाई अन्डरवेयरको अन्धविश्वास छ, त कसैलाई ट्वाइलेटको ।
सफल हुनका लागि उनीहरुले त्यस्ता अन्धविश्वासलाई फलो गर्ने गरेका छन् । कोलम्बियाका गोलकिपर रेन हिगुइटालाई अन्डरवेयरको अन्धविश्वास छ । उनी निलो रंगको अन्डरवेयर लगाउँदा सफलता मिल्ने बताउँछन् । जर्मनीका स्ट्राइकर मारियो गोमेज खेलभन्दा पहिला दाहिने पट्टी बनेको ट्वाइलेट प्रयोग गर्छन्, त्यसो गर्ला सफलता मिल्ने उनको भनाइ छ । जर्मनीकै अर्का खेलाडी जुलियन ड्राक्सलर ठूला खेल परफ्युम लगाउने गर्छन् ।
इंग्ल्याण्डका फिल जोन्स सेतो लाइनमा हिँड्न मन पराउँछन् । ब्राजिलका डिफेन्डर मार्सेलो सधैं मैदानमा दाहिले खुट्टा पहिले टेक्छन् । मोरक्कोका हर्व रेनार्ड सेतो रंगको कमिज लगाउँछन् । जसले उनलाई अफ्रिका कप अफ नेसन्समा सफलता मिलेको थियो, तर विश्वकपमा मिलेन । १९९८ मा विश्वकप जितेका फ्रान्सका खेलाडी खेलभन्दा अघि कोलकिपरको टि–सर्ट टाउकोमा फहराउने गर्थे ।
खेल मानोवैज्ञानिक डान अब्राहम्स भन्छन्, ‘हर खेलाडी म्याच भन्दा पहिले कुनै न कुनै नियम फलो गर्छन्, तर त्यसले प्रदर्शनमा फरक पार्दैन । तर खेलाडीलाई त्यस्तो लाग्छ ।’