जनता आवास कार्यक्रमबाट घर निर्माण «

जनता आवास कार्यक्रमबाट घर निर्माण

सिन्धुली-जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीमा ६ वटा घर निर्माण भएका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेको मुसहर बस्तीमा ६ वटा घर निर्माण गरिएको हो ।
आवासविहीन सिमान्तकृत, दलित र मुस्लिम विपन्न समुदायलाई बसोबासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको जनता आवास कार्यक्रमअन्तर्गत मुसहर बस्तीका विल्टु सदा, सनिया मुसहर, रितलाल सदा, रमनी सदा, डब्कु सदा र रामवृृद्ध सदाको घर निर्माण भएको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका अनुसार जिल्लामा ५० वटा घर निर्माण गरिनु पर्ने भए पनि प्राथमिकताका आधारमा चालू आवमा ६ वटा घर निर्माण गरिएको हो । जनता आवास कार्यक्रम समन्वय समिति सिन्धुलीले दुधौली नगरपालिका–९ मा रहेको मुसहरबस्ती, कमलामाई नगरपालिका–१ डाँडीगुराँसेका हायू बस्ती र साविक वाशेस्वर गाविसको दलित बस्तीमा कार्यक्रम सञ्चालनका लागि अध्ययन, अवलोकन गरेको थियो ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ का आधारमा समितिले अध्ययन, अवलोकन गरेका तीन स्थानमध्ये दुधौली नगरपालिका–९ मुसहर बस्तीमा अधिकांश परिवार अतिविपन्न, गाउँ ब्लकमा बसोबास गरेका फुसको छाना, माटो र बाँसको बेरा र अव्यवस्थित बसोबास क्षेत्र भएकाले मुसहर बस्तीलाई छनोट गरी घर निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर दुर्गाप्रसाद घिमिरेले बताए । दुधौली नगरपालिका नगरकार्यपालिकाको कार्यालयका तर्फबाट सडक, खानेपानी र शौचालय व्यवस्थापनमा विपन्न परिवारको १० प्रतिशत श्रमदान र सरकारको ३ लाख ३२ हजार ५ सयका दरले ६ वटा घर निर्माण गरिएको इन्जिनियर घिमिरेले बताए ।
जनता आवास कार्यक्रमअन्तर्गत ५० वटा घर निर्माणका लागि सिन्धुलीमा १ करोड २३ लाख रकम सरकारले विनियोजन गरेको छ । यस आर्थिक वर्षमा निर्माण गरिएको ६ वटा घरबाहेक अझै ४४ वटा घर निर्माण गर्न बाँकी छ । बाँकी घर आगामी आवमा निर्माण गरिने सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्