नलसिंहगाडका कार्यकारी निर्देशकसहित ६ जनालाई सफाइ

विशेष अदालतले नलसिङगाड जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनालाई सफाइ दिएको छ । विशेष अदालतले नलसिङगाड जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचारको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो । मंगलबार बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले अख्तियारको आरोप पुष्टि गर्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ । नलसिंहगाडका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका तत्कालीन कानुन अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाल प्रतिनिधि उदीपलाल श्रेष्ठलाई पनि विशेष अदालतले सफाइ दिएको छ । तत्कालीन कार्यकारी निर्देशक कुँवरलगायत ६ जनालाई ऊर्जा मन्त्रालयले विकास समितिमार्फत अघि बढाएको ४१० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रियामा सहभागी थिए । अख्तियारले मुद्दा दायर गर्ने बित्तिक्कै उनीहरू स्वतः निलम्बनमा परेका थिए । अख्तियारले उनीविरुद्ध आफू अनुकूल बढी रकम कबोल गर्ने प्रस्तावलाई बढी अंक र कम अंक कबोल गर्नेलाई कम अंक दिई परामर्शदाता छनोट गरिएको उल्लेख गर्दै २७ करोड २४ लाख ९४ हजार हानि नोक्सानी पुर्याउने कार्य गरेको आरोप लगाएको थियो । दायर मुद्दामा उनीहरूले भ्रष्टाचार ऐनबमोजिम भ्रष्टाचार कसुरको उद्योग गरेको भन्दै १३ करोड ६२ लाख २७ हजार जरिवाना र एक वर्ष कैद सजायको माग गरिएको थियो । सफाइ पाएका कुँवरले आफूहरूमाथि अन्यायपूर्ण तरिकाले मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएर न्याय पाएको प्रतिक्रिया दिए । परामर्शदाताका प्रस्ताव गरेको एएफसीसहितको संयुक्त परामर्शदाता कम्पनीले भ्याटसहित एक अर्ब रुपैयाँमा काम गर्ने प्रस्ताव गरेकोमा त्योभन्दा झण्डै २७ करोड बढी कबोल गर्ने स्मेकसहितको संयुक्त परामर्शदाता कम्पनीलाई विकास समितिले छनोट गरेको थियो । जाजरकोटको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने आयोजना प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले गरेको अध्ययनबाट छानिएका उत्कृष्ट १० मध्ये एक हो । १४०६ गेगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको अहिलेको लागत करिब ७३७ मिलियन डलर अनुमानित छ ।