Logo

सेवा प्रदायक कम्पनीको खुद सम्पत्ति ५ करोड

सेयर दलाल व्यवसायीले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि मस्यौदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुझाएका छन् । स्टक ब्रोकर एसोसिएसनले कार्यविधिको मस्यौदा तयार पारेर बुझाएको नेप्सेले जनाएको छ । नेप्सेले कार्यविधि स्वीकृत गरेर धितोपत्र बोर्डमा पठाउने छ र बोर्डले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने नेप्सेले जनाएको छ ।
थोरै पुँजी भएका लगानीकर्ताले बजारमा उत्पन्न हुने उतारचढावबाट लाभ लिन सकुन् भन्ने उद्देश्यले सञ्चालन गर्न लागिएकोले मार्जिन कारोबार सुबिधा ल्याइएको नेप्सेले जनाएको छ । स्टक ब्रोकर एसोसिएसनले मस्यौदा गरेको कार्यविधिमा मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य व्यवसायीले नेप्सेबाट पूर्वअनुमति प्राप्त गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कारोबार सदस्यको खुद सम्पत्ति कम्तिमा ५ करोड रूपैयाँ हुनुपर्ने प्रस्ताव गरिएको भने नेप्सेको सदस्यता नवीकरण गरेका कारोबार सदस्यले मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउने पनि प्रस्ताव गरिएको छ ।
मार्जिन कारोबार सेवा उपलब्ध गराउन अनुमति प्राप्त कारोबार सदस्यले आफ्ना लगानीकर्तालाई नेप्सेले तोकेको धितोपत्रमा मात्रै मार्जिन कारोबार सुविधा दिनु पर्ने प्रस्ताब पनि मस्यौदामा गरिएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति ऋणात्मक नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनीको सेयरमा मात्रै यस्तो सुबिधा दिइने प्रस्ताव गरिएको छ । तर, योग्य सबै कम्पनीहरूको सेयरमा मार्जिन कारोबार सुविधा प्रदान गर्न भने ब्रोकर वाध्य नहुने पनि जनाइएको छ ।
सदस्य ब्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनको रूपमा लिनु पर्ने प्रस्ताव गरिएको छ । तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य ब्यवसायीले ५० प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिनसक्ने बाटो पनि खुल्ला राखिएको छ ।
यस्तै, मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशतभन्दा तल आएमा सदस्य व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्ने प्रस्ताव गरिएको कार्यविधिमा यस्तो मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा योग्य धितोपत्रहरू जम्मा गरी वास्तविक मार्जिन ४० प्रतिशत भन्दा माथि कायम गर्नु पर्ने लेखिएको छ । वास्तविक मार्जिन ४० प्रतिशत भन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्ने ब्यवस्था प्रस्ताव गरिएको छ । साथै, सदस्य ब्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन लगानीकर्तासँग सम्झौता गर्नु पर्ने छ । यसरी सम्झौता गर्दा लगानीकर्ताले एक ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्