१० करोडको लागतमा एकीकृत कृषि फार्म «

१० करोडको लागतमा एकीकृत कृषि फार्म

वीरगन्ज- खाद्य उद्योगमा लगानी गरेका वीरगन्जका एक उद्यमीले करिब १० करोड रुपैयाँको लागतमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन् । वीरगन्ज महानगरपालिका–२४ रामगढवामा खाद्य उद्योग चलाउँदै आएका तारा प्रसादले एकीकृत कृषि फार्म सञ्चालनमा ल्याएका हुन् ।
न्यू ओम खाद्य उद्योगको नामको राइस मिलका सञ्चालक तारा प्रसादले सुरुमा एउटा गाईबाट सुरु गरेको पशुपालन विस्तार गर्दै लगेका हुन् । उनको फार्ममा अहिले ३५ वटा गाईभैंसी छन् । त्यस्तै ५० वटा बाख्रा पनि उनले पालेका छन् ।
२०७२ सालदेखि व्यावसायिक रुपमा क्याप्टन फार्मको नामले एकीकृत कृषि उद्यम सञ्चालन गरेका उनले शुद्ध दूध उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् । “अहिलेको समयमा पैसा भएर पनि राम्रो र शुद्ध खानेकुरा पाइँदैन, दूधमा पनि मिसावट हुने गरेकाले स्वस्थ दूध उत्पादनका लागि फार्म स्थापना गरेको हो,” उनले भने, “विशेषगरी बालबालिकालाई स्वस्थ र शुद्ध दुध खुवाउने उद्देश्यले नै गाईभैंसी पालेको हुँ ।” उनले अहिले दैनिक २ सय ५० लिटर दूध बिक्र गर्दै आएको बताए ।
उनले गाईभैंसीलाई कृत्रिम गर्भाधारणबाट सन्तोषजनक रूपमा बाछाबाछी र पाडापाडी नजन्मिएपछि अहिले राँगो र साँढे पनि राखेर प्राकृतिक गर्भधारण गराउने गरेका छन् । तारा प्रसादको एकीकृत कृषि फार्ममा दूध मात्रै होइन गाईभैंंसीको गोबरबाट किसानका लागि चाहिने जैविक वर्मिक कम्पोष्ट मल पनि उत्पादन हुने गरेको छ । त्यस्तै ताजा अग्र्यानिक तरकारीको खेती पनि उनले गरेका छन् । “माटो राम्रो भयो भने फल राम्रो हुन्छ, फल राम्रो भयो भने मानिसको स्वास्थ्य राम्रो हुन्छ,” उनले भने, “स्वस्थ फल खान र माटो राम्रो बनाउन कम्पोष्ट मल बनाउन थालेको हुँ ।” उनको फार्ममा बन्ने कम्पोष्ट मल बहुराष्ट्रिय कम्पनी डाबर नेपालले बार्षिक एक सय टन खरिद गर्ने सम्झौता गरेको छ ।
तारा प्रसादले कतिपय किसानहरूलाई उखु र गहुँमा हाल्न निःशुल्क कम्पोष्ट मल वितरण गर्ने गरेको बताए । खुद्रा खरिदमा किसानलाई २० रुपैयाँ प्रतिकिलो बिक्री गर्ने गरेका छन् भने डाबर नेपाललाई १५ रुपैयाँ प्रतिकिलोमा कम्पोष्ट मल बिक्री गर्ने गरेका छन् । अहिलेसम्म उनले डाबर नेपाललाई पाँच पटक मल दिइसकेका छन् । तारा प्रसादको फार्ममा बनाईने कम्पोष्ट मल डाबर नेपालले सूर्ती खेती गर्ने किसानलाई वितरण गर्ने गरेको छ ।
उनले फार्ममा सरकारी सेवाबाट निवृत्त एकजना प्राविधिक राखेर सबै प्राविधिक ज्ञानको प्रयोग गर्ने गरेका छन् । अहिले २० जना कामदार कर्मचारी उनको फार्ममा कार्यरत छन् । एक विगाह जमिनमा व्यावसायिक एकीकृत कृषि फार्म सञ्चालन गरेका तारा प्रसादले बैंकले सहुलियत ब्याजमा कर्जा दिए व्यवसाय विस्तारको योजना रहेको बताए । “सरकारले कृषिमा ६ प्रतिशत अनुदान ब्याजमा कर्जा दिने भने पनि बैंकहरूले दिएका छ्रैनन्,” उनले भने, “महानगर, उपमहानगर र नगरपालिकामा झन् कृषिमा ऋण सुविधा नभएकाले यसलाई विस्तार गर्न समस्या भएको छ ।” बैंकले अनुदान ब्याजमा ऋण उपलब्ध गराए बार्षिक सात करोड रुपैयाँ बराबरको कारोबार गर्ने गरी व्यवसायमा विस्तार गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्