मुआब्जाको रकम आएपछि विमानस्थलको अबरोध हट्यो «

मुआब्जाको रकम आएपछि विमानस्थलको अबरोध हट्यो

रुपन्देही-सोमबारदेखि अबरुद्ध गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम बुधबार दिउँसोबाट सुचारु भएको छ । मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै अधिग्रहणमा परेका स्थानीयले धावनमार्गको बीचभागमा बसेर निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधपछि काम तीन दिनदेखि ठप्प थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ विमानस्थल निर्माण आयोजनाको बैंक खातामा आएपछि आन्दोलन स्थगित भएको आयोजना प्रमुख ओम शर्माले बताए । आयोजनाले पैसा नहुँदा तीन/चार महिनादेखि मुआब्जा वितरण गर्न सकेको थिएन ।
मुआब्जा वितरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाइरहेका स्थानीयले सोमबारदेखि निर्माण कार्य अवरोध गर्दै आएका थिए । मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आयोजनाको खातामा आएसँगै बिहीबारबाट वितरण थालिने छ । केही हप्ता अघि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) सञ्जीव गौतमले उक्त मुआब्जाको रकम अड्काएर राखेपछि पिडितहरूले मुआब्जाको साथै डिजीको राजीनामा माग गर्दै आन्दोलित भएका थिए ।
आन्दोलनको नेतृत्व गरेका ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले मुआब्जा वितरणको लागि अर्थ मन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँमध्ये २ अर्ब रुपैयाँ आइसकेकोले आन्दोलन स्थगित गरिएको बताए । उनले बाँकी ३ अर्ब रुपैयाँ पनि २ दिन भित्र आउने संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बूढाले आश्वासन दिएको कारण २ दिन भित्र बाँकी रकम नआए आन्दोलनलाई थप सशक्त रूपमा अगाडि बढाउने चेतावनी दिए ।
विमानस्थल बनाउँदा अधिग्रहणमा परेका स्थानीयलाई २३ अर्ब मुआब्जा वितरण गर्नुपर्ने भए पनि हालसम्म ८ सय जग्गाधनीलाई ६ अर्ब रुपैयाँ मात्रै वितरण भएको छ । एडीबीको ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ ऋण तथा अनुदान सहयोगमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले निर्माण गरिरहेको विमानस्थलको करिब ५० प्रतिशत काम सकिएको छ । विमानस्थल आउँदो २०१९ को जुनबाट सञ्चालनमा ल्याउने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्