राष्ट्रपति प्रणाली बेमौसमको बाजा : मुख्यमन्त्री गुरुङ

पोखरा-प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले देश संघीयताको मोडलमा प्रवेश गरेसँगै कार्यकारी राष्ट्रपति प्रणालीको कुरा गर्नु बेमौसको बाजा बजाएजस्तै भएका बताएका छन् । बुधबारदेखि पोखरामा आयोजना भएको निर्वाचन समीक्षा कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले देशको भूगोल, जनता र यहाँको संस्कार संस्कृतिले गर्दा अहिलेको अवस्थामा एक शक्तिलाई शक्तिशाली बनाउने प्रणालीमा जान नहुने तर्क राखे । उनले भने, “हाम्रो जस्तो देशमा हाल कार्यकारी राष्ट्रपति प्रणाली त्यति उचित हुँदैन, यदि राष्ट्रपति प्रणालीमा एक शक्तिको भरमा देश चलेमा ६० लाख तराईका जनतालाई एकै पटक नागरिकता वितरण गरे देशमा के होला ? हाम्रो जस्तो मुलुकमा हाल दुई शक्ति नै आवश्यक हुन्छ, यसले चेक एण्ड ब्यालेन्स गर्छ ।”
आगामी निर्वाचन विद्युतीय प्रणालीमा जानुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले निर्वाचन आयोगको प्रकृयामा आएका तर विदेशमा रहेका नेपालीले पनि भोटिङ गर्न पाउने अधिकारलाई अब सुनिश्चित गर्नुपर्नेमा जोड दिए । अमेरिका, बेलायतजस्ता मुलुकमा रहेका अधिकांशकोे दोहोरो नागरिकता भएका बाहेक कतार, मलेसिया लगायतका मुलुकमा रोजगारको लागि गएकाहरुको लागि निर्वाचनमा सहभागि हुने वातावरण मिलाउनु पर्ने उनले बताए ।
निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले देशको विषम परिस्थितीमा विभिन्न तहको निर्वाचन सफल भएकोमा हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट अझै आयोगलाई धन्यवाद र बधाई दिने क्रम जारी रहेको बताए । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकृत गंगालाल सुवेदीले निर्वाचनको समिक्षासहित आगामी दिनमा के कस्तो ढंगले सुधार गर्नु पर्दछ त्यसको बारेमा प्रदेश नम्बर ४ मा कार्यक्रम आयोजना गरिएको बताए ।