Logo

करको दायरा बढाउन सुझाव

घोराही उपमहानगरवासीले करको दरभन्दा पनि करको दायरा बढाउने गरेर वार्षिक नीति तथा कार्यक्रम ल्याउन घोराही उपमहानगरपालिकालाई सुझाव दिएका छन् । घोराहीले आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रम तथा बजेट तर्जुमा सुझाव कार्यक्रममा सहभागी व्यवसायी र अन्य सरोकारवालाले राजस्व बढाउनुभन्दा दायरा फराकिलो बनाउनुपर्ने सुझाव दिएका हुन् । घोराहीको नीति कार्यक्रम असार ९ गते र बजेट असार १० गते आउने उपमहानगरपालिकाले जनाएको छ । दाङ उद्योग व्यवसायी संघका पूर्व अध्यक्ष तथा व्यवसायी माधवप्रसाद शर्माले स्थानीय सरकारले राजस्व वृद्धिभन्दा पनि करको दायरा बढाउनुपर्ने सुझाव दिए । “अहिले पनि धेरै करको दायराभन्दा बाहिर रहेका छन् । यसलाई समेटेर अगाडि बढ्नु जरुरी छ,” शर्माले भने । त्यसैगरी भूमिको वैज्ञानिक वर्गीकरण गर्ने नीति ल्याउनुपर्ने उनको सुझाव थियो । सहरीकरण, औद्योगिक क्षेत्र, हरित नगर अभियानलाई नीति कार्यक्रममा राख्न उनले नगरपालिकालाई सुझाव दिए । त्यसै गरेर हरियाली बनाउँदा उत्पादन दिने बिरुवालाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताए । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यले पसलहरूको वर्गीकरण गरी कर ल्याउनुपर्ने बताए । “कारोबारको आधारमा कर लिने नीति ल्याउन जरुरी छ,” वैद्यले भने । त्यसै गरेर पशु व्यवसायलाई व्यवस्थित गर्ने नीति ल्याउनुपर्ने उनको सुझाव दिए । व्यवसायी रामदयाल गुप्ताले खेतीयोग्य जमिन व्यवस्थित गर्न लाग्नुपर्ने बताए । प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कँडेलले एयरपोर्ट सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताए । त्यसै गरेर स्वास्थ्य क्षेत्रको विकास, बस्ती विकासमा एकरूपताको नीति ल्याउन सुझाव दिए । “कर तिर्दा सम्मान हुने वातावरणको सिर्जना गराउन उपमहानगरपालिकाले पहल थाल्नुपर्छ,” उनले भने, “व्यावसायिक सुरक्षा कार्यक्रम पनि स्थानीय सरकारले नीतिमा ल्याउनुपर्छ ।” जिल्ला खानेपानी सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष धु्रव ठकुरीले खानेपानी क्षेत्रलाई व्यवस्थित गराउन लाग्नुपर्ने बताएका थिए । जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द्रप्रसाद शर्माले सहकारी बजारीकरणको व्यवस्था गराउनुपर्ने बताए । उनले सहकारीमार्फत हरेक वडामा एउटा पकेट क्षेत्र निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं. ५ का उपाध्यक्ष हेमराज बन्जाडेले कृषिक्षेत्रमा उत्पादनका आधारमा अनुदान दिने नीति ल्याउनुपर्ने बताए । बजारलाई व्यस्थापन गरी अगाडि बढ्नुपर्ने उनको सुझाव दिए । उपमहानगरपालिकामा विषादीरहित वस्तु उत्पादन तथा प्रयोगमा ल्याउन अगाडि बढ्नुपर्ने, नसरी तथा पार्क निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने, सफासुग्घर हरित नगर बनाउन लाग्नुपर्ने उनको सुझाव थियो । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बजार व्यवस्थित गर्ने तथा व्यावसायिक सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गर्न सुझाव दिए । त्यसै गरेर बजारमा रहेका सिसी क्यामरा सञ्चालनमा ल्याउन पहल थाल्नुपर्ने बताए ।
राप्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत बुढाथोकीले साझेदारीमा विकास औद्योगिक विकास तथा अन्य विभिन्न कार्यमा अगाडि बढ्नुपर्ने बताए । नेपाल शिक्षक महासंघका अध्यक्ष अमरबहादुर खड्काले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि स्थानिय सरकारले नीति ल्याउनुपर्ने बताए । विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गरिनुपर्ने र शिक्षकहरूलाई प्रविधिसम्बन्धी तालिम पदान गरिनुपर्ने बताए ।
खिमा अधिकारीले सामुदायिक वन क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न उपमहानगरपालिकाले नीति बनाउनुपर्ने बताइन् । बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेलले संहकारीको एकीकरणको नीति ल्याउनुपर्ने बताए । अधिकार कर्मी हुमा डिसीले खाद्य अधिकारसम्बन्धी नीति ल्याउनुपर्ने बताइन् । ज्येष्ठ नागरिकका तर्फबाट भूपाल गिरीले ज्येष्ठ नागरिकलाई दृष्टिगत गरी नीति ल्याउनुपर्ने बताए । अरुण शर्माले स्वर्गद्वारीसम्म केवलकारको निर्माण अगाडि बढाउनुपर्ने सुुझाव दिए । घोराही उपमहानगरपालिकाका पूर्व उपप्रमुख तोरणध्वज श्रेष्ठले जनतालाई सुखी र समृद्धका लागि योजना ल्याउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले विकासलाई सञ्चार माध्यमसँग जोडेर अगाडि बढाउनुपर्ने बताए । नागरिक समाजका संयोजक चन्द्रराज पन्तले जनताको आवश्यकताअनुसार विकास निर्माणको कार्यलाई अगाडि बढ्नुपर्ने बताए । त्यसैगरेर स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सबै क्षेत्रको सुझाव–सल्लाहअनुसार नीति कार्यक्रम ल्याउने बताए । घोराही उपमहानगरपालिकाको बजेट गत वर्षको भन्दा बजेट कम हुने प्रमुख चौधरीले बताए । कार्यक्रमको सहजीकरण उपमहानगरपालिका कार्यालयका शाखा अधिकृत प्रेम केसीले गरेका थिए ।
अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्