Logo

केरुङ–गल्छी–मैलुङ सडक निर्माण धमाधम

राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माणकार्य धमाधम भइरहेको छ । करिब एक वर्ष अघिदेखि निर्माणकार्य सुरु भएको उक्त आयोजनाको हालसम्म करिब २० प्रतिशत निर्माणकार्य सकिएको सडक आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताए ।
असार १५ भित्र निर्माणकार्य करिब २२ प्रतिशत पुग्ने गरी हाल धमाधम काम भइरहेको प्रमुख देवकोटाले बताए । गल्छी–त्रिशुली र रसुवागढीको मैलुङसम्मको ४६ किमि सडक निर्माणकार्य २०७४ असारबाट सुरु भएको हो । निर्धारित मिति २०७६ असारभित्र निर्माणकार्य सकिने देवकोटाले दाबी गरे । ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँको लागतमा निर्माण कम्पनी एमएस–कन्भेट–टुण्डी रसुवा जेभीले आयोजना बनाउने जिम्मा लिएको हो । जग्गाको मुआब्जा नपाएसम्म सडकमा काम गर्न नदिई अवरोध सिर्जना गरेका कारण निर्माणकार्यमा ढिलाइ भएको प्रमुख देवकोटाले बताए । विद्युत्पोल, खानेपानी पाइपलाइन स्थानान्तरणका लागि प्रक्रिया पूरा गर्न लामो समय लाग्नुका साथै उक्त क्षेत्रमा पर्ने रुखहरू हटाउनका लागि वन कार्यालय र वन उपभोक्ता समूहसँगको सहकार्य गरे पनि एस आईईई वन मन्त्रालयमा पुगेर मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने भएकाले काम ढिलो भएको उनको भनाइ छ । भनेको समयमा कामदार नपाउँदासमेत काम गर्न कठिन भएको देवकोटाले बताए । उक्त आयोजनालाई सफल पार्न बर्दियादेखि महिला पुरुष ज्यालादारीको रूपमा काम गर्न आएका छन् ।
सरकारले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक नाकाको रूपमा विकास गर्न राष्ट्रिय गौरवको योजनाको रूपमा राखेको प्रमुख देवकोटाले बताए । हाल गल्छीदेखि मैलुङसम्म ४६ किमिको सडक निर्माण ठेक्कामा सुरु भएको छ भने नेपाली सेनाले मैलुङदेखि स्यापु्रmबेंसीसम्मको करिब १८ किमि ट्रयाक खनेको छ । स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको करिब १८ किमि सडक चीन सरकारले निर्माण गर्ने भएको छ । गल्छीदेखि त्रिशूली भने करिब २८ किमि दूरीमा पर्दछ । नेपाली सेनाले खनेको सडकमा केही दिनअघि पहिरो गएकाले सडक पुनः मर्मत गरेर मात्र खुलाउने उनले बताए । सेनाले उक्त सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरे पनि सडक डिभिजनले कालोपत्रे सडक गर्ने योजना बनाएको छ । त्यसैगरी सेनाले खनेको सडक खुलेमा गल्छी–त्रिशूलीदेखि रसुवा नाकासम्म जाने करिब २५ किमि छोटो बाटो हुने भएको आयोजनाका सबइन्जिनियर तुलाकान्त चौधरीले बताए । बजार क्षेत्रमा भने चार लेनको सडक निर्माण हुनेछ । उक्त सडक धादिङको गल्छी, देवघाट, पिपलटार, त्रिशूली, मैलुङ, स्याफ्रुवेसी–रसुवागढी हुदै चिनको नाका केरुङसम्म जोडिन्छ । गल्छी र बट्टारबजारदेखि विदुरको ढुंगेबजारसम्म चार लेनको सडक निर्माण हुनेछ ।
चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने तयारी गरेको छ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्यापु्रबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी २३० किमिमात्र हुनेछ । चीनको केरुङ नाका हुँदै नेपालको रसुवागढी नाकाबाट हाल दैनिक ५० भन्दा बढी मालबाहक कन्टेनर नेपाल आउने गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्