प्लास्टिकको प्रयोग र यसको व्यवस्थापन «

प्लास्टिकको प्रयोग र यसको व्यवस्थापन

संसारमा दैनिक क्रियाकलापहरूलाई सहज र सरल बनाउनका लागि मानिसद्वारा सिर्जित भनौं प्रविधिको प्रयोगद्वारा आविष्कार भएको पदार्थलाई हामी सदियौंदेखि अंगिकार गर्दै आइरहेका छौं, तर त्यसको गुण र दोषहरूका बारेमा हामी सचेत नहुन सक्छौं । यस्तै वस्तुमध्येको एक हो— प्लास्टिक र यसको प्रयोग । सन् १८६२ ताका इंग्ल्यान्डका वैज्ञानिक अलेक्जेन्डर पार्कस्ले प्लास्टिकको विकास गरेको पाइन्छ । तर, आज प्लास्टिक विश्वभर नै जुन तवरले उपभोग हुँदै आइरहेको छ त्यसले प्रविधिको विकाससँगसँगै विश्वलाई उन्नतिको पथमा लैजान पनि भूमिका निर्वाह गरेको छ । प्लास्टिकको विकाससँग जोडिएका सेवा–सुविधा भनौं, उपभोगका सन्दर्भमा कुरा गर्ने हो भने आज हामी कुनै पनि माध्यम तौरतरिका भनौं अवस्थितिमा प्लास्टिकको अत्यधिक प्रयोग मौन रूपमा स्विकार्दै आइरहेका छौं र कतिपय अवस्थामा प्लास्टिक निर्विकल्पसमेत रहेको छ ।
अति संवेदनशील उद्देश्य भनौं वा प्रयोगका रूपमा हेर्ने हो भने मुटुको भल्वमा प्रयोग हुने पेसमेकरका रूपमा समेत प्लास्टिक प्रयोग हुन्छ, साथै मोबाइल, यातायातका साधन, पेय पदार्थका रूपमा पानी नै किन नहोस्, यी सबै चिजको प्रयोग प्लास्टिकजन्य वस्तुबाट भएका छन् । प्लास्टिक विस्थापनका सम्बन्धमा बाह्य विकसित देशहरूमा यसको प्रयोगपछि व्यवस्थापनका लागि अति संवेदनशील रूपमा कार्यहरू गरेका छन् । तर हाम्रो जस्तो मुलुकमा प्लास्टिकको प्रयोगपछिको व्यवस्थापनमा ध्यान नपुराउनाले विकराल स्थिति देखा परेको छ, जसको मूल्याङ्कन हामीले अहिले नै गर्न सकेनौं भने भविष्यमा यसले अत्यन्तै विकराल स्थिति लिने निश्चित छ । उदाहरणका रूपमा काठमाडौंका बाग्मती नदीको प्रदूषणमा त्यहाँबाट निकालिएको फोहोरमध्ये धैरै मात्रामा प्लास्टिकजन्य फोहोर भएको पाएका छौं । यस्तै गरी राष्ट्रिय पहिचान तथा पर्यावरणीय महत्व बोकेका राष्ट्रिय निकुञ्जभित्र पनि जुन वन्यजन्तुको मृत्यु भइरहेको छ त्यसका कारणहरूमध्ये प्रमुख कारणका रूपमा प्लास्टिक र प्लास्टिकजन्य वस्तुहरू रहेको विभिन्न अध्ययनले देखाइसकेको अवस्था छ । प्लास्टिक सीधै खेतीयोग्य जमिनमा जाँदा त्यसले माटोको उर्वरा शक्तिको ह्रास हुने त छँदैछ, उक्त प्लास्टिक जमिनमा विलय हुनका लागिसमेत हजारौं वर्ष लाग्ने तथ्य वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् ।
अर्कातर्फ यदि प्लास्टिकको प्रयोग हुने थिएन भने पनि वस्तु तथा सेवाको प्याकेजिङ, बजारीकरणजस्ता व्यावसायिक गतिविधिहरू गर्नका लागि असहज वातावरण भने हुने देखिन्छ, तर आज हामीहरूले प्रयोग गर्ने चकलेट, पानी, चाउचाउ, बिस्कुट होस् वा अन्य विविध सेवा उपभोगका लागि प्लास्टिक अनिवार्यजस्तो देखिएको छ । यस्ता किसिमका प्लास्टिकजन्य वस्तुहरूलाई हामीले प्रयोगमा अस्वीकार गर्ने, पुनः प्रयोग गर्ने, पुनः प्रशोधन गर्ने जस्ता क्रियाकलापहरू गर्न सकेका छैनौं । नेपालीहरूको वातावरणीय प्रभावलाई न्यून मूल्याङ्कन गर्ने वा मूल्याङ्कन नै नगर्ने जुन संस्कार छ, अझै भन्ने हो भने हामीले संकलन गरेका प्लास्टिक जुन जलाउने प्रचलन छ त्यसले वातावरणीय प्रदूषणमा अन्यन्तै नकारात्मक असर पारिराखेको छ ।
एक अध्ययनअनुसार यदि प्लास्टिकको एउटा बोतललाई प्रशोधन गर्ने हो भने एउटा ६० वाटको बत्ती करिब ६ घण्टासम्म बल्ने ऊर्जा पाउन सकिन्छ भने विश्वमा उपलब्ध इन्धनको १० प्रतिशत प्लास्टिक उत्पादन हुनमा खर्च हुने गरेको पाइन्छ । विगत १० वर्षलाई हेर्दा यो एक दशकमा विश्वले यति प्लास्टिक उत्पादन ग¥यो कि त्यो अवधिमा भएको उत्पादन त्यसभन्दा पहिलाको पूरा समयावधिमा पनि हुन सकेको थिएन । प्राप्त तथ्यांकलाई आधार मान्ने हो भने प्रत्येक वर्ष विश्वमा ५ सय खर्ब प्लास्टिक ब्याग उत्पादन हुने गर्छन् ।
प्लास्टिकको उपभोग गर्दै गर्दा यो समस्या नेपालजस्तो विकासशील राष्ट्रको मात्र नभई विश्वका विकसित मुलुकहरूको पनि हो । विश्वले आज प्रत्येक वर्ष करिब ६ अर्ब केजी फोहोर समुद्रमा फ्याँक्ने गरेको छ । यसले गर्दा समुद्रमा पाइने नुनजन्य पदार्थमा समेत प्लास्टिकको मात्रा पाइएको छ । अमेरिकाका ६ वर्षभन्दा माथिका करिब दुईतिहाइ मानिसको शरीरमा प्लास्टिकसँग सम्बन्धित रसायन पाइएको छ भने प्लास्टिकको असर जल, जंगल, जमिनमा मात्र होइन; मानव शरीरमा समेत प्रतिकूल पर्न थालिसकेको छ । यो सडक, समुद्रदेखि मानिसको भान्सामा समेत देखिन लागेको अवस्था छ । वैज्ञानिकहरूको अध्ययन अनुसार अबको ३ दशकमा प्लास्टिकको प्रयोग यसरी नै हुँदै जाने हो भने समुद्रमा पानीको मात्राभन्दा बढी फोहोर रहनेछ । त्यसमा पनि प्लास्टिक अत्यधिक रहने देखाएको छ, जसले प्रत्यक्ष जलचर लोप हुने अवस्था देखिन्छ भने यसको प्रत्यक्ष असर पर्यावरण हुँदै मानव जीवनमा पर्ने देखिन्छ ।
त्यसैले प्लास्टिकको व्यवस्थापन र सदुपयोग एक चुनौतीको विषय भएको छ । विगत ४० र ५० को दशकको सुरुमा उत्पादक कम्पनीहरूले पनि प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्ने सन्दर्भमा केही आकर्षक कार्यक्रमहरू ल्याएका छन् । मुख्यतया पुनः प्रयोगलाई जोड दिएर केही हदसम्म भए पनि प्लास्टिकको सदुपयोग गरिएको छ । जस्तो कि १० प्याकेट चाउचाउको खोल जम्मा गरेमा एक प्याकेट चाउचाउ निःशुल्क दिने, १० वटा साबुनको खाली खोल संकलन गरी उत्पादक कम्पनीलाई बुझाएमा एक गोटा साबुन निःशुल्क उपलब्ध हुनेजस्ता कार्यक्रमले यस्ता समस्यालाई समाधान गर्न पनि मद्दत गरेको छ ।
अर्कातर्फ प्लास्टिकजस्तो पदार्थ हाम्रो मुलुकमा उत्पादन हुने वस्तु होइन । यसको कच्चापदार्थको खरिदका लागि बर्सेनि करोडौं रुपैयाँ विदेशी मुद्रा खर्चिएका छौं । यसरी भिœयाएको प्लास्टिक हामीहरूले पुनः प्रयोग नगरी कौडीको मूल्यमा बाहिर पठाउन बाध्य भएका छौं । यदि यो विषयलाई गम्भीर रूपमा लिएर प्रशोधनका लागि वा पुनः प्रयोगका लागि उद्योग स्थापना गर्नमा जोड दिने हो भने यसले बहुआयामिक फाइदा पाइने देखिन्छ । नेपालभित्र नै यस किसिमका उद्योगहरू स्थापनामा पहल कदमीहरू हुन सकेमा प्लास्टिकको विविधीकरणका साथ प्रयोगमा न्यूनीकरण साथै पुनः प्रयोगमा नयाँ आयाम ल्याउन सकिने देखिन्छ । यसले एकातिर रोजगारीका अवसर सिर्जना हुनेछन् भने अर्कातर्फ करोडौं विदेशी मुद्रा बाहिरिने समस्या पनि समाधान हुनेछ । यस्ता विषयमा नेपाल सरकार, प्रदेश सरकार, वातावरण मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय र सम्बन्धित निकायहरू अत्यन्तै जिम्मेवार र सघन हिसाबले लाग्नुपर्ने देखिन्छ । अझ भनौं, स्थानीय तहहरू वातावरणीय प्रभावको गहन मूल्याङ्कन गरी आगामी दिनहरूमा हुने हरेक क्षेत्रका नगरपरिषद्, गाउँपरिषद् वा अन्य छलफलमा वातावरणीय प्रभावलाई बहसको प्रमुख विषय बनाइनुपर्छ ।
यसका साथसाथै हामी नेपालीहरूमा एउटा संस्कारको विकास गर्नु पनि अत्यन्त जरुरी देखिएको छ । आफूले प्रयोग गरेका प्लास्टिकजन्य वस्तुहरूलाई आफ्नो अनुकूल फाल्ने संस्कार अत्यन्त अशोभनीय छ । विकसित मुलुकहरूमा झैं आफैंले खाएको चकलेटको खोल फाल्ने स्थान नपाएर खल्तीमा राखी विसर्जन स्थलसम्म पुगेर व्यस्थापन गरिनु यसको समाधान हो ।
मानव सभ्यताको विकासको यस चरणमा पुग्दासमेत हामीहरूले ढुंगे युगका क्रियाकलाप दोहोराउने गरेका छौं । हामी कथित सभ्य बन्न खोज्दा हाम्रा क्रियाकलापहरूले वातावरण र समाजमा के–कस्ता नकारात्मक प्रभाव पर्न सक्छन् भन्ने कुरामा एक सेकेन्ड सोच्न सकेका छैनौं । पहिला हामी संस्कारको विकास गरौं, विकल्पहरूको खोजी गरौं, समय–समयमा आउने यस किसिमका समस्या स्वतः समाधान हुँदै जानेछन् । यस विषयमा हामीहरूले समयमै सोंचेनौं भने यसबापत ठूलो मूल्य चुकाउनुपर्नेछ ।
अतः यस सम्बन्धमा अत्यन्त जिम्मेवार तरिकाले, अत्यन्त सघन तरिकाले राष्ट्रका प्रमुख, नागरिकका प्रतिनिधिहरू, हरेक सचेत नागरिकले यो विषयमा गम्भीरताका रूपमा सोच्नुपर्ने अवस्था छ । एउटा सभ्य नागरिकको हिसाबले प्रत्येक व्यक्तिले आफ्नो समाजप्रतिको उत्तरदायित्व वहन गर्दै प्लास्टिक प्रयोग कम गरौं, पुनः प्रयोग गरौं तथा प्रयोग नै नगरौं, प्रयोग गरिएको अवस्थामा कुशल व्यवस्थापन गरौं । वैकल्पिक बाटाहरू औंल्याऊँ । समाजमा रहेर एउटा सामाजिक व्यक्तिको हैसियतले, राष्ट्रमा रहेर असल नागरिकका हिसाबले र पृथ्वीमा रहेर पृथ्वीको विवेकशील प्राणीको हैसितयमा आ–आफ्नो स्थानबाट प्लास्टिकको प्रयोगमा कमी ल्याऊँ र यो धर्तीलाई बचाऔं ।
(लेखक नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ, चितवनका निवर्तमान अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्