Logo

एमआईटीले नेपालमा सुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअपल्याब्स् (जीएसएल) कार्यक्रमको सुरुवात गरेको छ । एमआईटी जीएसएलले विकासशील अर्थतन्त्रहरूमा प्रविधिमा आधारित उद्यमीहरूलाई सबल बनाउन तथा स्टार्टअपहरूको विकासका लागि आवश्यक अनुकूल परिस्थितिमा पनि प्रणालीको सिर्जना गर्न योगदान पुराउँदै आएको छ ।
एमआईटीले विगत १८ वर्षदेखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रमा सञ्चालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमा आधारित युवा उद्यमीहरूको प्रवद्र्धन गर्दै आर्थिक विकासमा समेत मद्दत पुराउँदै आएको छ । युवा उद्यमीहरूलाई प्रोत्साहन तथा प्रविधि विकासमा योगदान पुराउँदै आएको एनसेलको सहयोगमा यो कार्यक्रम नेपालमा सञ्चालन हुन लागेको हो ।
नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ण परेरा, अमेरिकन दूतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. भोला थापा, एमआईटीका इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्स विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को—डाइरेक्टर प्रोफेसर समन अमरासिंघे र एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रबार एक विशेष समारोह माझ कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
एमआईटी जीएसएल कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व पहलअन्तर्गत एमआईटी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सुरु गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाइबाट छानिएका ३५ जना विद्यार्थीहले मोबाइल प्रविधि र उद्यमशीलतासम्बन्धी एमआईटीको अद्वितीय पाठ्यक्रमअन्तर्गत प्रशिक्षण प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्