भीमाद महोत्सवमा २ करोडको कारोबार

दमौलीः स्थानीयस्तरमा उत्पादित कृषिका सामग्रीको बजारीकरणका साथै कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको भीमाद महोत्सव आइतबार सम्पन्न भएको छ । तनहुँ उद्योग वाणिज्य संघ भीमाद बजार एकाइको आयोजनामा मंसिर १० गते महोत्सव सुरु भएको थियो ।
महोत्सवमा २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने करिब ३ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवका संयोजक भीमसिंह थापाले पहिलो पटक आयोजना गरिएको महोत्सव सोचेभन्दा राम्रो भएको बताए ।
“यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु मास, बोडी, पिंडालु, सुन्तला, अदुवा आदिको बिक्री वितरण एवं राष्ट्रियस्तरमा प्रचार–प्रचार एवं बजार विस्तारका लागि महोत्सव सफल भएको छ,” थापाले भने, “यसका साथै कला संस्कृति, धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रको पहिचान गराउन पनि महोत्सव सफल भयो ।”
महोत्सवको समापन गर्दै रक्षामन्त्री बालकृष्ण खाँडले महोत्सवले भीमाद र यस आसपासका ठाउँको विकासमा ठूलो टेवा पु¥याएको बताए । उनले निजी क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको समेत बताए ।