पाइपलाइन विस्तार तीव्र गतिमा «

पाइपलाइन विस्तार तीव्र गतिमा

अमलेखजन्ज—रक्सोल पेट्रोलियम पाइपलाइन परियोजनाका पाइप गाड्ने काम तीव्र गतिमा अघि बढेको छ । गत फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम सुरु भएकामा हालसम्म करिब ३३ प्रतिशत काम सकिएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार हालसम्म करिब १२ किलोमिटर पाइप वेल्डिङपछि माटो मुनि बिछ्याइसकिएको छ ।
“कुनै बाधा अवरोध र समस्या नभएका कारण पथलैया–सिमरा क्षेत्रमा सहजै पाइप बिछ्याउने र गाड्ने काम सम्पन्न भइसकेको छ, वीरगन्जको बाइपास क्षेत्रमा पनि अहिले काम भइरहेको छ,” उनले भने, “परवानीपुर, जितपुरलगायतका कतिपय स्थानमा ६ लेन सडकका लागि सडक विस्तार भई नसकेको तथा ठाउँ–ठाउँमा विद्युत्को पोल हटाउने काम नसकिएकाले ती स्थानमा पाइप जडान गर्न ढिलो भएको छ, अन्यथा सन्तोषजनक रुपमै काम भइरहेको छ ।” अहिलेकै गतिमा काम भए सम्झौता मितिमै परियोजना सम्पन्न हुने सम्भावना रहेको उनले बताए ।
पाइपलाइनको कतिपय स्थानमा नदी र क्रसिङ परेकाले ती स्थानमा खोलामुनि तथा जमिन मुनिबाट पाइपलाई ड्रिल गरी लाइन विस्तार गर्नुपर्ने हुन्छ । अब बाँकी रहेको १ वर्षको अवधिमा यो काम सहजै सम्पन्न हुने अपेक्षा उनले गरे । पाइपलाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा पर्छ । हाल उक्त मार्ग ६ लेनमा विस्तार हुँदैछ । ६ लेन सडकसँगै पाइपलाइन पनि पुरिने छ । पाइपलाइन बिछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखिथा इन्फ्रास्टक्चर प्रालिले लिएको छ ।
यसैगरी अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ । भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले यो कामको जिम्मा लिएको छ । पाइपमार्फत भारतबाट आउने इन्धन ती ओवरहेड ट्यांकीमा भण्डारण गरिने छ । ३ हजार ९ सय किलोलिटर क्षमताका २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदै छ, जसमा कुल १६ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ ।
सम्झौता भएको झन्डै दुई वर्षपछि गत जेठ २४ र २५ गते दिल्लीमा भएको नेपाल र भारतका उच्च अधिकारीहरूको बैठकमार्फत यो पाइपलाइन निर्माणका लागि औपचारिक प्रक्रिया थालिएको थियो । पाइप लाइनमार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनाका साथै ढुवानी लागत र अरु नोक्सानी रोकिएर वार्षिक रूपमा ५५ देखि ६० करोड रुपैयाँ जोगिने नेपाल आयल निगमको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्