स्याउ उत्पादन बढेसँगै भारत जाने घटे «

स्याउ उत्पादन बढेसँगै भारत जाने घटे

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राचुली गाउँ र वडा नं. २ को रताडा गाउँमा स्याउको उत्पादन राम्रो भएपछि स्थानीयहरु काम खोज्दै भारत जाने क्रम रोकिएको छ । स्याउ उत्पादन राम्रो भएपछि गाउँकै आम्दानी स्रोत बढेका कारणले भारतको रोजगारी रोकिएको हो ।
राचुली र रताडा गाउँका सबै घरपरिवारले यो आर्थिक वर्ष न्यूनतम ४५ हजारको स्याउ बिक्री गरेका छन् । गाउँमा सबैको स्याउ बगैंचा रहेको गाउँमा स्याउ उत्पादन राम्रो भएका कारणले सबैले ४० देखि ५० हजारको स्याउ बिक्रीबाट आम्दानी लिएका कारणले रोजगारीका लागि भारत जान गाउँले छोडेको स्थानीय ऐनबहादुर शाहीले बताए । “गाउँमा सबैका स्याउ बगैंचा रहेका छन्, स्याउ राम्रो फल्यो, सबैले राम्रो आम्दानी लिएका छन् । त्यसैले कोही पनि पराई देशमा रोजगारी इच्छा गरेका छैनन्,” उनले भने ।
विगतमा रोजगारीका लागि भारत जाने गरेका गाउँमा मानिसहरूले यो वर्ष सबैले स्याउबाट भारतमा कमाउने पैसा गाउँमा नै कमाउन थालेको र गाउँमा नै राम्रो आम्दानी गर्न थालेपछि रोजगारीका लागि अन्यन्त्र जाने मान्छे निकै कम रहेको तिलागुफा नगरपालिका–४ वडा अध्यक्ष खड्कबहादुर शाहीले बताए । “विगतमा गाउँका मानिसहरू रोजगारी भारत जाने संख्या निकै थियो,” उनले भने, “यो वर्ष गाउँमा नै स्याउबाट वर्षभरी खाने पैसा कमाएँ । त्यसैले यो वर्ष कोही रोजगारीका अन्य ठाउँ गएका छैनन् ।”
राचुली र रताडा गाउँमा स्याउ बिक्रीबाट करिब १ करोडभन्दा बढी आम्दानी भएको स्थानीय तथा स्याउ किसान दानबहादुर शाहीले बताए । “गाउँमा स्याउबाट आम्दानी नलिने कुनै घर पनि छैन्, दुबै गाउँमा स्याउबाट १ करोडभन्दा बढी आम्दानी लिएका छन्,” उनले भने । पछिल्लो समयमा तिलागुफा नगरपालिकाका किसानहरू स्याउ उत्पादन निकै आकर्षित भएका स्याउ यहाँका मानिसको रोजगारी समृद्धिको आधार भएका कारणले नगरपालिकालाई स्याउ सुपरजोनका रूपमा विकास गर्न लागिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । “नगरपालिकाले स्याउ उत्पादन जोड दिने नीति लिएको छ, स्याउ उत्पादन वृद्धि गरेर नगरपालिकालाई सबै मानिसको आयस्रोत वृद्धि गर्नेमा जोड दिइएको छ,” उनले भने ।
यो आर्थिक वर्षमा जिल्लाभरका किसानले स्याउ बिक्रीबाट ४० देखि ४५ करोड रुपैयाँ आम्दानी गरेको अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको जिल्ला कृषि विकास कार्यालय बरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए । “स्याउ बिक्रीबाट जिल्लाका धेरै किसानहरूले राम्रो आम्दानी लिएका छन्,” उनले भने, “स्याउबाट जिल्लामा ४० देखि ४५ करोड रुपैयाँ भित्रिएको हामीले अनुमान गरेका छौं ।”

रमेश रावल

प्रतिक्रिया दिनुहोस्