सकियो नेपाल चेम्बर एक्स्पो, ५ करोडको कारोबार

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबारदेखि सञ्चालित चेम्बर एक्स्पो २०७४ सम्पन्न भएको छ । झन्डै ५ करोडको कारोबार भएको एक्स्पोमा ५० हजारभन्दा धेरैले अवलोकन गरेका छन् । एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको जानकारी दिए । साथै निर्माण सामग्रीका रूपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरूको अर्डर बढी देखिएको संयोजक चाकुवजीले बताएका छन् । मेलामा सर्वसाधारणहरू विशेष रूपमा झुमिएका थिए । उनीहरू विशेष गरेर जाडोको मौसममा चाहिने ज्याकेटलगायतका लुगाफाटा खरिद गर्नमा झुन्डिएका देखिएका थिए । एक्स्पोमा अटोमोबाइल, इलेक्टिकल एन्ड इलेक्टोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम अप्लाइन्स, फेसन वेयर, मोबाइललगायतका २ सय २५ वटा स्टलहरू राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाइल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकको सहभागिता थियो । चेम्बरले गरेको यो तेस्रो एक्स्पो हो । चेम्बरले प्रत्येक वर्ष यस्ता अन्तर्राष्ट्रिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्यान्ड फोकस मुलुकको रूपमा सहभागी थियो । एक्स्पोको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।