Logo

पेट्रोलियम पाइपलाइनका लागि ६ हजारमात्र रुख काटिने

पेट्रोलियम पाइपलाइन बिच्छ्याउनका लागि ६ हजार रुख कटान गरे पुग्ने भएको छ । यसअघि २५ हजार रुख काट्नुपर्ने देखिएकोमा नेपाल आयल निगमले कन्सल्ट्यान्टमार्फत गरेको हालै गरेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को अध्ययनले ५ हजार ८ सय रुख कटान गरे पुग्ने देखाएको हो ।
पाइपलाइन विच्छाउनका लागि बाराको पथलैयादेखि अमलेखगन्जसम्म पर्ने वन्यजन्तु आरक्षणको क्षेत्रमा धेरै संख्यामा रुख रहेकाले त्यसलाई व्यवस्थापन गर्न निगमलाई चुनौति थियो । अध्ययनले ५ हजार ८ सयमात्र रुख कटान गरे पुग्ने देखाएपछि पाइपलाइनका लागि रुख कटान र व्यवस्थापन गर्न सहज पुग्ने निगमले जानकारी दिएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले ईआईएको प्रतिवेदनले ५ हजार ८ सय रुख कटान गरे पुग्ने देखाएको बताए । सुरुको प्रारम्भिक अध्ययनले २५ हजार संख्यामा रुख कटान भनिएको ठाउँमा हाल यो संख्यामा रुख कटान गर्नुे देखिएको उनले बताए । “यसले गर्दा पाइपलाइन बिच्छ्याउने काम छिटो विस्तार गर्न सहज भएको छ,” भट्टराईले भने । उनका अनुसार टिम्बर कर्पाेरेसनले चार महिनाभित्र सबै रुख कटान गरेर व्यवस्थापन गर्ने भनेकालेरुख व्यवस्थापनसँगै पाइपलाइन बिच्छ्याउने काम अगाडि बढाउने उनको भनाइ छ । ईआईएको प्रतिवेदन बुधबार मन्त्रालयमा पठाइने निगमले जानकारी दिएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेपछि रुख कटानको काम सुरु गरिने निगमले जानकारी दिएको छ । अध्ययनले ३० सेन्टिमिटरभन्दा बढी मोटाइ भएकालाई रुख र त्यसभन्दा कम भएकालाई झाडीका रूपमा राखेको छ ।
अहिले पथलैया जीतपुरदेखि वीरगन्ज बाइपाससम्म १२ किलोमिटर पाइप बिच्छ्याउने काम सकिएको निगमले जानकारी दिएको छ । पाइपलाइन परियोजनाका लागि आवश्यक पर्ने सवै उपकरण आयात गरी पाइपलाइन बिच्छ्याउने काम तीब्ररूपमा अगाडि बढिरहेको निगमले जानकारी दिएको छ ।
नेपाल सरकार र भारत सरकारको संयुक्त लगानीमा बन्न लागेको पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम भइरहेको निगमले जानकारी दिएको छ । तीन वर्षअघि सम्झौता भएको पेट्रोलियम पाइपलाइन परियोजना बाटोमा पर्ने रुख कटान गर्नुपर्ने, बिजुलीका पोल, टेलिफोन लाइन, स्थानीय वस्ती स्थानान्तरणजस्ता समस्याले गर्दा काम अगाडि बढ्न सकेको थिएन ।
पहिलो चरणमा मोतिहारीबाट रक्सोलसम्म ३५ किलोमिटर र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाइन बिच्छयाइने छ । दोस्रो चरणमा चितवनसम्म पाइपलाइन विस्तार गर्न आईओसी तयार रहेको निगमको भनाइ छ । पाइपलाइन निर्माणका लागि ४ अर्ब २० करोड लागत लाग्ने अनुमान गरिएको छ । निगमले १ अर्ब २० करोड र बाँकी रकम आइओसीले बेहोर्नेछ । पाइपलाइन प्रयोगमा आएपछि प्रतिघन्टा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्ने लक्ष्य छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुग्ने निगम प्रवक्ता वीरेन्द्र गोइतको जानकारी दिए ।
पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउनेछ । परियोजना निर्माण सम्पन्न भएपछि नेपाललाई वार्षिक २ अर्ब रुपैयाँ फाइदा हुनेछ । पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दा हुने ट्राफिक जामजस्ता समस्या समाधान हुनेछन् । पाइपबाट एकपटकमा ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ । पाइपलाइन बनेपछि आइओसी पुगेर ट्यांकरले ढुवानी गर्दा लाग्ने लागतसहित वातावरण प्रदूषणसमेत घट्नेछ । ढुवानी भाडालगायत अन्य खर्च बचत हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्