साढे तीन लाखमै भूकम्पप्रतिरोधी रंगिन घर «

साढे तीन लाखमै भूकम्पप्रतिरोधी रंगिन घर

जिल्लामा स्थायी आवासले तीव्रता पाएसँगै भूकम्पपीडितहरूले सोचेभन्दा निकै सस्तोमा आफ्नो घर निर्माण गरेका छन् । स्थानीय सामग्रीको प्रयोगका साथै डकर्मी पेसालाई समुदाय मिलेर आलोपालो गरेपछि सरकारी अनुदान हाराहरीकै खर्चमा घर ठडिएको हो ।
स्थानीयवासी मिलेर अहिले जिल्लाका धेरै स्थानमा एकीकृतजस्तै झल्कने बस्तीहरूको निर्माण भइरहेको छ । जुगल गाउँपालिकाको बराम्ची, चौतारा साँगाचोकगढी नगरपालिकाको भीमटार, बलेफी गाउँपालिकाको जलवीर, भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीस्थित नारायणथानलगायतका गाउँमा समुदाय मिलेर निर्माण भइरहेका घर खर्चिलो नभएको हो ।
बलेफी गाउँपालिकास्थ्ति जलवीर कात्तिकै फाँटमा ठडिएको बस्तीले अहिले जिल्लामात्रै हैन अन्य स्थानमा पनि चर्चा पाएको छ । सबै जातजातिको समान एकै खाले घर भएकाले यो बस्ती देखेका सबैले सामाजिक संस्थाले निर्माण गरिदिएको एकीकृत बस्ती सोच्ने गर्छन् । तर, यो बस्ती गाउँवासीले आफ्नै बलबुताले ठड्याएका हुन् ।
“चिटिक्क परेका साना मझौला घर । रंगिन निलो जस्तापाता, अनि सुहाउ“दो रंगस“गै भित्रबाहिर लिपिएको माटोले घरको झनै शोभा बढाएको छ,” कात्तिकेका रुद्र खड्का भन्छन्, “कात्तिकेगाउ“ देख्दा जो कोही एकीकृत बस्ती भनेर झुक्किने गर्छन् ।” उनले गाउँभर एकै खाले आवास निर्माणसँगै बाहुन, क्षेत्री, दलित समुदाय सबैले एकै ‘डिजाइन’को बनाएकाले आपसमा सद्भाव पलाएकोसमेत दाबी गरे ।
“हामी सबै मिलेर घर निर्माण गरेका हौं, त्यसैले खर्चिलो पनि भएन,” उनले भने, “अधिकांश घर निर्माणका लागि सरकारले दिएको अनुदानबाट थोरै मात्र बढी पैसा खर्च भएको छ ।” ५७ परिवार रहेको यो बस्तीमा केहीले रातो र बा“की सबैले निलो रंगको जस्ता हालेर घर बनाएका छन् । सरकारी मापदण्डमा बसेर ढुंगा, माटो र काठ प्रयोगे माटोले लिपेको घर आकर्षक देखिएकाले सबैले यस्तै बनाउन सुरु गरेका हुन् । “घर जहाँ भत्केको थियो, त्यही बनाइयो, एउटा घर निर्माण भएर आकर्षक देखिएपछि त्यसको सिको बढ्दै गएपछि एकीकृत बस्तीजस्तै बन्यो,” स्थानीय अप्सरा पौडेलले भनिन् । अप्सराले नै पहिलोपटक यो बस्तीमा घर ठड्याएकी थिएन् । पछि उनकै घर नमुना बनेपछि अन्य गाउँवासीले उनको जस्तै घर बनाउन थालेका हुन् । “घर राम्रो बनेपछि गाउँवासी एकजुट भएर अन्य घर निर्माणमा लाग्यौं,” उनी भन्छिन्, “त्यसैले पनि निकै कम खर्चमा घर बनेको हो ।” उनले गाउँवासी एकजुट हुँदा ऋणको पिरलोसमेत नभएको सुनाइन् ।
पुरानो गाउ“को मौलिकता जोगाएकाले पनि यहाँको सुन्दरता बढेको हुनसक्ने हो । छरिएर रहेका छेउका केही घरस“गै अन्य बस्तीको हरियालीले कात्तिके गाउ“को दृश्य निकै आकर्षक देखिन्छ । भूकम्पपछि थलिएको गाउ“ पुनर्निर्माणले झनै मौलिक बनाएको अप्सरा बताउँछिन् । जलवीरको कात्तिकै गाउँमात्रै हैन । समुदाय मिलेर जिल्लैभर आकर्षक बस्ती निर्माण भइरहेका छन् । जसले सिंगो गाउँलाई एकीकृत बस्तीको झल्को दिन्छ । अनि, खर्च कम भएको छ ।
कात्तिकैवासीजस्तै चौतारा सा“गाचोकगढी नगरपालिका–११ स्थित एक्लेफा“टका दिलबहादुर माझीको आवास निर्माण पनि सकिएको छ । उनले पनि साढे तीन लाख रुपैयाँको लागतमा आवास निर्माण सम्पन्न गरे । भूकम्पले उनको घरको माथिल्लो तल्ला ढलेको थियो । पुरानै शैलीमा घर बनाउने योजना बुनेका माझीले प्रवलीकरण (रेक्ट्रोफिटिङ) बाट सोचेजस्तै भूकम्पप्रतिरोधी बनाए । ‘गर्मीमा शितल र जाडोमा न्यानो’ हुने पुरानो जमानाकै उनको ढुंगामाटोको घर ‘रेक्ट्रोफिटिङ’ द्वारा बलियो बनिसकेको छ, उनले भने, “सोचेजस्तै भयो, कम खर्चमा भूकम्पप्रतिरोधी रंगिन घर बन्यो ।” दिलबहादुरको अनुमानमा नयाँ घर बनाउन झण्डै १५ लाख लाग्ने थियो । रेक्ट्रोफिटिङ प्रयोग गरेर जिर्ण घर पक्की बन्दा अहिले उनी हर्षित छन् । घरको आंशिक क्षति पुगेको उनको घर प्रवलीकरण गर्नका लागि सामाजिक संस्थाले सहयोगसमेत गरेका थिए ।
उनको गाउँमा अहिले पुनर्निर्माण धमाधम भइरहेको छ । एकै साथ बस्ती ठड्याउने अभियानमा गाउँवासी छन् । यो गाउँमा पुरुषको तुलनामा महिला बढी सक्रिय छन् । महिलाहरुलाई सामाजिक संस्थाले प्रदान गरेको दक्ष डकर्मी तालिमले पुनर्निर्माणमा सहज भइरहेको गाउँवासी बताउँछन् । शतप्रतिशत सीमान्तकृत माझी समुदायको बसोबास रहेको यो गाउँमा आफ्नै समुदायको झझल्को दिने आवास निर्माणमा गाउँवासी जुटिरहेका छन् ।
‘रेक्ट्रोफिटिङ’ तालिम लिएपछि माझी समुदायको झझल्को दिलाउने पुरानै प्रकारको भूकम्पप्रतिरोधी घर बनाउन गाउँकी अन्जु माझी जुटिरहेकी छिन् । उनलाई सामाजिक संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र आर्साे नेपालको समन्वयमा तालिम दिइएको थियो । तालिमपछि आफ्नो गाउँ ठड्याउन आफै जुटिरहेको उनी बताउँछिन् ।
पर्खालको तरिका र झ्यालमा लगाउने ‘रेक्ट्रोफिटिङ लक’ बारे सबै कुरा जानेपछि गाउ“का डकर्मी मिलेर घर बनाइरहेको वल्र्डभिजनका इन्जिनियर निकेश महर्जन बताउ“छन् । “आशिंक क्षति पुगेका जीर्ण घर ‘रेक्ट्रोफिटिङ’ गरेर बनाउन सकिन्छ, यसले आवास निर्माणमा प्रोत्साहन गर्नेछ,” उनी भन्छन् । उनले सम्भावित जोखिममा बलियो संरचना ‘स्ट्रंग ब्याक’ राखेर जीर्ण आवासलाई प्रबलीकरण बताए ।
अन्जुका गाउँ रहेको एक्लेफा“टमा झण्डै २० माझी परिवारले ‘रेक्ट्रोफिटिङ’ बाट नयाँ घर पाइसकेका छन् । बाँकीकोे घर तीव्र रुपमा बन्ने क्रममा छन् । यहाँका माझी समुदाय एकले अर्काेलाई सहयोग गर्ने भएकाले आवास निर्माणमा डकर्मीको खर्च लागेको छैन । डकर्मीको खर्च नलागेकै कारण आवास निर्माण खर्चिलो नभएको अन्जुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्