बाँकेका ७ हजार घरधुरी स्वच्छ खानेपानीबाट वञ्चित

बाँकेका करिब ७ हजार घरपरिवार अझै पनि स्वच्छ खानेपानीबाट वञ्चित छन् । जिल्लाका ९३ हजार ४ सय २ घरधुरीमध्ये ६ हजार ६७२ घरधुरीमा अझै पनि स्वच्छ खानेपानी पुग्न सकेको छैन ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जले बाँके जिल्लाका कुल ८६ हजार ७३० घरधुरीमा खानेपानीको पहुँच पुगेको जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजकुमार चौधरीले सरकारको सन् २०२० सम्म नेपालका सबै जनतासम्म आधारभूतस्तरको खानेपानी पुराउने लक्ष्यअनुसार बाँकेका ९३ हजार ४ सय २ घरधुरीमध्ये ८६ हजार ७३० घरधुरीमा खानेपानीको पहँुच पुराइएको बताए । उनले स्वच्छ पानी पुग्न नसकेका घरधुरीले अझै पनि कुवा इनार ह्याण्डपम्पजस्ता स्रोतबाट खानेपानी प्रयोग गर्ने गरेको जानकारी दिए । उनका अनुसार जिल्लाका ८० प्रतिशत घरधुरीले ह्याण्डपम्प प्रयोग गर्ने र धाराको स्वच्छ पानी प्रयोग गर्नेहरू जिल्लामा १५ प्रतिशतमात्र रहेका छन् ।
जिल्लाका ९२.८६ प्रतिशत घरधुरीमा आधारभूतस्तरको खानेपानी पुगेको उनले बताए । उनले जिल्लाका केही स्थानमा आर्सेनिकको मात्रा भेटिएकोले त्यस्ता स्थानमा नयाँ प्रविधि प्रयोग गरिने समेत जानकारी दिए ।
जिल्लाका राधापुर, होलिया र टिटिहिरियामा खानेपानीमा आर्सेनिकको मात्र भेटिएकोले सो स्थानमा उच्च प्रविधि प्रयोग गरेर स्वच्छ खानेपानीको व्यवस्था गरिने भएको छ । गत वर्षदेखि तराई मधेस खानेपानी कार्यक्रम र उच्च प्रविधि युक्त खानेपानी कार्यक्रम गरी करिब ६० वटा विभिन्न खालका योजना बाँकेमा सञ्चालनमा रहेको जानकारी पनि प्रमुख चौधरीले दिए ।
नेपालगन्ज, खजुरा, कोहलपुरलगायतका क्षेत्रभन्दा बाहिर पनि अहिले धाराको पानी उपभोक्तालाई वितरण गरिन थालिएको छ । जिल्लाका विभिन्न गाउँबाट समेत शुद्ध खानेपानी योजनाको निर्माणका लागि माग बढ्दै जान थालेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा स्वच्छ खानेपानीका लागि जिल्लाका विभिन्न स्थानमा करोडौंका लगानीमा खानेपानीका योजना निर्माण भइरहेका छन् । लाखौं लिटर अट्ने पानी ट्यांकी निर्माण हुने कार्य धमाधम भइरहेको छ ।
कार्यालय प्रमुख तथा डिभिजिनल इन्जिनियर चौधरीले जिल्लामा सञ्चालनमा रहेका ठूला योजनामध्ये १० वटा सम्पन्न भएर स्वच्छ पानी वितरणसमेत सुरु भइसकेको बताए ।