निर्वाचनपछि सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरूलाई दिशा निर्देश गर्नुपर्छ «

निर्वाचनपछि सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरूलाई दिशा निर्देश गर्नुपर्छ

निर्वाचनपछि बन्ने सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरूलाई दिशा निर्देश गर्नु हुनेछ भन्दै नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले चुनावी तयारीसँगै कांग्रेसको आगामी पाँच वर्षको विकासको खाकासमेत कोरिसकेको बताए ।उनले निर्वाचन प्रचारको अन्तिम दिन सोमबार बुटवल, भैरहवा र दमौलीमा आयोजित भव्य चुनावी सभाहरूलाई सम्बोधन गर्दै मंसिर २१ गतेको निर्वाचनमा नेपाललाई आर्थिक एवं सामाजिक विकासको बाटोमा प्रवेश गराउने वा अर्को पाँच वर्ष यो एजेन्डालाई थाती राखेर देशमा राजनीतिक सौदावाजी मात्रै गरिरहने भन्ने फैसला गर्नुपर्ने भन्दै विकासका लागि कांग्रेसको विकल्प नरहेकोमा जोड दिए । अब पनि हामी आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेनौं भने त्योभन्दा ठूलो पश्चाताप केही हुने छैन । नेता चौधरीले प्रष्ट पार्दै भने, उदार अर्थव्यवस्थामा मात्रै आर्थिक विकासलाई अगाडि बढाउन सम्भव हुनेछ । त्यसका लागि नेपाली कांग्रेसको बहुमतको सरकार आवस्यक छ ।
कांग्रेस पार्टीभित्र आर्थिक विकासको एजेन्डाको तयारी एवं कार्यान्वयनको समेत जिम्मेवारी पाएका चौधरीले तत्काल दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न विकासका महत्वाकांक्षी परियोजनाहरू संचालनमा ल्याउने र हजारौंको संख्यामा रोजगारी सिर्जना गर्ने गरी सामाजिक एवं आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरिसकेका छन् ।
नेपाललाई हेडक्वार्टर बनाएर विश्वभर लगानी विस्तार गर्न सम्भव छ भन्ने मान्यतालाई सफल कार्यान्वयन गरिरहेका नेता चौधरीले आगामी पाँच बर्षभित्र आम नेपालीको जीवनमा सार्थक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास लिएका छन् । नेपालको लगानीको वातावरणमा आमूल सुधार गर्दै आन्तरिक र बह्य लगानीकर्ताका लागि नेपाललाई आकर्षक गन्तब्यमा रुपान्तरण गर्ने र लगानी अभिवृद्धि गर्दै विकसित मुलुकको हैसियतमा पुर्याउने सोंच चौधरीले लिएका छन् ।
आफ्नो व्यावसायिक सफलतापछि नेता चौधरीले आम नेपाली जनतालाई समृद्ध देशका नागरिक बनाउन सहज सम्भव छ भन्ने लक्ष्यका साथ राजनीतिमा होमिएका छन् । पछिल्लो एक महिनामा देशव्यापी चुनावी अभियानमा संलग्न भएका नेता चौधरीले देशका प्रत्येक क्षेत्रहरूमा आकर्षक अवसरहरू रहेको र ति अवसरको कार्यान्वयनबाट सहज रुपमा समृद्ध नेपाल निर्माण गर्न सम्भव रहेको भन्दै क्षेत्रगत रूपमा समेत विकासका खाकाहरू कोरिरहेका छन् ।
प्रत्येक दिन कम्तिमा तीनवटा ठूला चुनावी सभाहरूलाई सम्बोधन गरिरहेका चौधरीले पूर्वका पहाडी गाउँहरूदेखि सूदुर पश्चिम कैलालीका गाउँहरूसम्म पुगेर विकास सम्भव छ भन्ने कुरा मतदाताहरूलाई बुझाउने प्रयास गरे । विनोद चौधरीको व्यावसायिक सफलताबाट प्रभावित आम नागरिकले देशलाई समृद्ध बनाउन पनि उनको महत्वपूर्ण योगदान रहने विश्वास देखाएका छन् ।
चुनावी सभाहरूमा उनले कांग्रेसले बहुमत हासिल गरेपछि २०४८ सालपछि देशमा आर्थिक विकासमा आएको नीतिगत परिवर्तन र सोही परिवर्तनका लागि देश राजनीतिक संकटमा पर्दा समेत अर्थतन्त्र संकटग्रस्त बन्नबाट जोगिएको कुरा पनि बुझाउने कोसिस गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्