होन्डाले १५ मिनेटमै चार्ज हुने विद्युतीय कार ल्याउने

जापानी अटोमोबाइल कम्पनी होन्डाले विद्युतीय गाडीलाई प्राथमिकता दिने भएको छ । डिजेल–पेट्रोल इन्जिनका सवारी उत्पादनमा विश्वकै अग्रणीमध्येको एक होन्डाले विद्युतीय सवारी उत्पादनमा केन्द्रित गर्ने जनाएको छ । होन्डाले अत्याधुनिक विद्युतीय सवारी र त्यसमा प्रयोग हुने ब्याट्री निक्कै एडभान्स हुनेछन् । उसले १५ मिनेटमै चार्ज हुने ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्रीसहितका विद्युतीय कार बनाइरहेको छ ।सन् २०२० देखि बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको छ । यस्तो ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्री भएको विद्युतीय कार एकपटकको पूरा चार्जमा २ सय ४० किलोमिटरसम्म कुद्नेछ । कम्पनीले यसअघि नै हाइड्रोजन फ्यूल कार र दुई मोडलका विद्युतीय कार आगामी वर्ष बजारमा ल्याउने घोषणा गरिसकेको थियो । चाँडो चार्ज हुने ब्याट्री बनाउने होन्डा पहिलो कम्पनी भने होइन । अमेरिकी कम्पनी टेस्लाले २० देखि ४० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज हुने विद्युतीय कार ल्याइसकेको छ ।ब्याट्री चार्ज हुने समय कम गर्न अहिले विश्वका सबैजसो सवारी उत्पादक कम्पनीहरूको अनुसन्धान चलिरहेको छ । युरोपमै पनि अटोमोबाइल कम्पनी बिएमडब्लु, फोर्ड र फक्सवागनको साझेदारीमा ‘अल्ट्रा फास्टर’ विद्युतीय कार चार्जर विकास गरिँदैछ । यो अल्ट्रा फास्टरले एउटा कार चार्ज गर्न पाँच मिनेटमात्र लगाउनेछ । अटोमोबाइल कम्पनीहरू विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन् । जापानकै टोयोटा र निसान पनि पहिलेदेखि विद्युतीय सवारी उत्पादन गर्दै आएका छन् । फोर्ड, बिएमडब्लु, सेब्रोले, फियट, किया, मित्सुबिसी, रेनो, सुजुकी र फक्सवागनजस्ता संसारकै अग्रणी कम्पनी त झन् प्रतिस्पर्धामै उत्रिसकेका छन् ।